वियर पिउनेहरु वाइनमा डाइभर्ट भए, धेरैले भन्छन् ‘भविष्यको राजा तैँ हो’- गणेश चापागाई

२०७५ वैशाख १९ गते १८:१० विकासन्युज

लोडसेडिङको अन्त्य, स्थीर सरकारको संकेत, लगानीमैत्री वातावरण निर्माणसँगै उत्पादन मुलक उद्योगलाई प्रोत्साहित गर्नुपर्ने माग सबैतिरबाट आएको छ । अर्थतन्त्रको सबैभन्दा ठूलो समस्याको रुपमा विकसित भएको बैदेशिक व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्नेमा सबैको मत मिलेको छ । आलोचना हुँदै गर्दा पनि नेपाली समाजमा मदिरा सेवनको अभ्यास मौलाएकै छ । मदिराको उत्पादन र व्यापार पनि फस्टाएकै छ । सरकारी राजश्वको लागि मदिरा उद्योग बलियो आधार पनि बनेको छ । तर, यस उद्योगप्रति सरकारको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । यसै सन्दर्भमा उद्योगीहरु के सोचिरहेको छन्, के चाहिरहेको छन् ? वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि.का प्रबन्ध निर्देशक गणेश चापागाईसँग गरिएको विकास वहस यस पटक ।

गणेश चापागाई, प्रबन्ध निर्देशक-रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि.

नेपाली वाइनको बजार कस्तो छ ?

पछिल्लो समय नेपालमा स्वदेशी वाइनको बजार ह्वात्तै बढेको छ । विगतमा वाइन निश्चित होटल, रेस्टोराहरुमा मात्रै पाइन्थ्यो । अहिले कुनै पनि मदिरा पसलबाट स्वदेशी वाइन सहजै खरिद गर्न सकिन्छ । सर्वसाधारण तहमा वाइनप्रति आकर्षण बढेको छ । आकर्षण बढेसँगै बजार र वाइन उद्योगहरु समेत बढेको छ ।

मदिरालाई समाजको नकारात्मक पेय पदार्थको रुपमा लिइन्छ । तपाईले वाइन उद्योग चलाउनुको उदेश्य के हो ?
वाइन मदिराजन्य पेय पदार्थ हो । वाइनप्रति सामाजिक दृष्टिकोण, सरकारी नीति सकारात्मक छैन । तर यस उद्योगले समाजलाई, राज्यलाई ठूलो योगदान गरेको छ । अल्कोहोलीक प्रोडक्ट भएपनि यो फलफूलमा आधारित उद्योग हो । किसान, कर्मचारी, उपभोक्ता, सरकार सबैलाई यस उद्योगले सहयोग नै गरेको छ । उद्योगमा करिव ४५ जना नियमित कर्मचारी छन्, त्यत्तिकै संख्यामा अन्य कामदारले काम पाएका छन् । यसको व्यापारबाट देशभरमा मदिरा बिक्रेतालाई लाभ पुगको छ । वाइनका उपभोक्ताले नेपालमै बनेको गुणस्तरीय वाइन उपभोग गर्न पाएका छन् । सरकारले राजश्व आम्दानी गरेको छ । किसानहरुलाई प्रोत्साहन गर्दै फलफूलबाट वाइन उत्पादन गर्न थालेको छौं । स्वदेशी फलफूललाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो ।

तपाईले कुन कुन फलफूल प्रयोग गरि वाईन उत्पादन गर्नुहुन्छ ?

सबै फलबाट वाइन बन्छ । तर बढी मात्रामा अंगुरको वाइन खापत हुने गरेको छ । विश्वमा जति वाइन बिक्री हुन्छ, त्यसको ८५ प्रतिशत हिस्सा अंगुरकै छ । त्यसैले हामीले पनि अंगुरको वाइन उत्पादनलाई प्राथमिकतामा राखेका छौं । वाइनको परिभाषा मै वाइन अंगुरबाट बनेको मदिराजन्य पेय पदार्थ भनिएको हुन्छ । नेपालमा अंगुर व्यवसायिक रुपमा फलाइएको छैन । यसप्रति मैले अध्ययन गरिरहेको छु । अंगुर उत्पादन गर्ने मेरो लक्ष्य छ ।

वाइन स्याउ, भुइँ स्याउबाट पनि बन्ने गरेको छ । हामीले भुइँ स्याउबाट पनि ३ वर्षदेखि वाइन बनाइ रहेका छौं । यद्यपि बिक्री भने गरेका छैनाैँ । म्याचोर गरेर राखेका छौं । यसलाई निर्यात गर्ने लक्ष्य छ ।

वाइन उत्पादन गर्न आवश्यक अंगुर कहाँबाट ल्याउनु हुन्छ ?

स्वदेशमा पर्याप्त अंगुर उत्पादन नहुने भएकाले भारतको नासिक एरियाको अंगुरहरु आयात गर्ने गरेका छौं । त्यहाँबाट एक सिजनमा २०औं टनका २५ औं गाडी अंगुर ल्याउनु परेको छ । जनवरीतिर दुई/अढाइ महिनामा त्यतिका परिमाणमा अंगुर नेपालमा भित्रिन्छ । यस वर्षपनि हामीले ल्याएर पनि क्रसिङ गरिसक्यौं । यसलाई प्रशोधन र भण्डारणमा करिव २ वर्ष राखिन्छ । त्यसपछि मात्रै वाइन बिक्रीको लागि बजार लैजान्छौं ।

नेपालमा अंगुर उत्पादन हुन सक्दैन ?

भारतदेखि आयात गर्ने अंगुर नेपालमै फलाउन पाए बाहिरने रकम नेपालमै रहन्थ्यो । त्यसैले नेपालमा अंगुर उत्पादन गर्ने सम्बन्धमा मैले अध्ययन गरिरहेको छु । सम्बन्धित विज्ञहरुसँग छलफल भइरहेको छ । उनीहरुले अंगुर उत्पादनको लागि भारतको नासीक र अष्ट्रेलियाभन्दा नेपालमा राम्रो माटो र हावापानी राम्रो भएको बताएका छन् । माटो परिक्षण गरेर हामीले जग्गाको लागि काभ्रेलाई छनौट गरेका छौं । जहाँ गर्मी हुन्छ । पारिलो घाम लाग्छ त्यस्तो जग्गा छ ।
५०/१०० रोपनीमा खेती गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ । ५० रोपनीमा लटरम्म फले काट्ने, चोर्ने सम्भावना हुन्छ । अधिकतम् किसानलाई उत्पादनको लागि प्रोत्साहन गर्नुछ । सबैले अंगुर खेती गर्न किसानहरु उत्साहित गर्न सके र सबैले लगाए सहज रुपमा अंगुर पाउन सकिन्छ । भारतको नासीकमा झै नेपालमा पनि अंगुरै अंगुुरको खेती गर्नु आवश्यक छ । नासिकमा ४/५ सय किलोमिटरमा अंगुर खेती गरेका छन् । अंगुर विभिन्न भेराइटीको हुन्छ । त्यसअनुसार अंगुरको स्वाद पनि फरक-फरक हुन्छ । भारतमा भारु २० देखि १५० प्रतिकिलोसम्म अंगुर पाइन्छ ।

नेपाली वाइन उद्योगहरुको अवस्था कस्तो छ ?

अहिले २/३ करोड रुपैयाँ लगानी वाइन उद्योगहरु सञ्चालनमा छन् । तर सानो लगानीले यो हुँदैन रहेछ । हरेक कुराहरुको विकास गर्दै जाँदा मेसिनरी सामान, भवन लगायत जुटाउन १०० करोडको प्रोजेक्ट आवश्यक छ ।
नेपालको बजार सानो छ र व्यवस्थित छैन । प्रतिस्पर्धी प्रशस्तै छन् । वाइन उद्योगहरुको संख्या १ बाट २, २ बाट ४, ४ बाट ८ हुँदै गुणात्मक रुपमा वृद्धि भईरहेको छ । अहिले वाइनको उद्योग ५० ओटा भइसकेको छ तर बजारमा प्रतिस्पर्धा गर्ने उद्योगहरु थोरै मात्र छन् । तर बजारमा वाइन उद्योग खुलेअनुसार वाइन खपत बढेको छैन ।

त्यसैले, प्रतिस्पर्धा बढ्दा उत्पादनको मूल्य घटिरहेको छ । कम्पनीहरुले विभिन्न अफरहरु ल्याइएका छन् । केहि वर्षअघि चाउचाउको अवस्था जस्तो थियो अहिल वाइन उद्योगको अवस्था त्यस्तै छ, सबै संघर्ष गरिरहेका छन् । जो संघर्षमा टिक्न सक्छ, ८/१० वर्षपछि भविष्य उसैको राम्रो हुन्छ ।

वाइन उपभोक्ताको ट्रेन कस्तो छ ?

४ वर्षअघिसम्म नेपालमा वाइन धेरै चिनिएको पनि थिएन । लेडिजहरुले पिउने मदिराको रुपमा चिनिन्थ्यो । विगतमा मदिरा पसलहरुमा वाइन देखिँदैन थियो भने अहिले हरेक पसलमा वाइन अनिवार्य हुन्छ । ब्राण्डको बारेमा पनि थाहा भइसकेको छ । बजार बढ्दो क्रममा छ । हरेक पसलले वाइनलाई कभरेज गरेको छ । सबैले वाइन चिन्न थालिसकेका छन् ।

मदिराको बजारमा वाइनको हिस्सा कति छ ?

१५ प्रतिशतभन्दा कमै होला । सबैभन्दा बढी खपत हुने भनेको वियर हो । वियर पिउनेहरु अहिले वाइनमा डाइभर्ट भइरहेका छन् । ह्वीस्की, रम, जीनको आफ्नै बजार छ ।

मदिरा पिउने वर्ल्डवाइज कल्चर बनेको छ । सफ्ट ड्रिङ्कस्लाई हार्ड ड्रिङ्कस्भन्दा राम्रो मानिन्छ । फलफूलको रस हो । त्यसमा निश्चित मात्रामा अल्कोहल मिसाएको मात्रै हो । यो पिउनुलाई नराम्रो मानिन्दैन । रेड वाइन गर्भवती भएको महिलाले पिउदा राम्रो हुन्छ भन्ने छ । विशेषगरी नेपाली संस्कृति विभिन्न जाती-जनजाती भएकोले पिउने पिलाउने ट्रेन कै रुपमा विकास भइरहेको छ ।

नेपालमा व्यापारको तुलनामा उद्योगमा आकर्षक देखिन्छ । आयातीत वस्तुहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । तपाईहरुले यसलाई कसरी लिनु भएको छ ?

नेपाली वाइनले बजार राम्रो लिएको छ । हाम्रो विग मास्टरले राम्रो बजार लिएको छ । अरु ब्राण्डहरु पनि बजारमा छ्यापछ्याप्ति अएको छ । यसले एक किसिमको फिल्ड तयार हुँदै गइरहेको छ । सकारात्मक ट्रेन छ ।

अहिलेको अवस्था संघर्षपूर्ण र जटिल अवस्था हो । गर्दै गए नहुने छैन भन्ने किसिमले हामी आशावादी छौं । म सुरक्षित छु भनेर भन्दिन । कतिले विग मास्टर स्टब्लिस्ट भयो, सुरक्षित छ भनेर भन्छन् । ‘फ्यूचरको किङ तैँ हो’ भन्छन् धेरैले । हामीले विश्वमा वाइनको बजार बुझ्न धेरैभन्दा धेरै मिहेनत गरेका छौं । राम्रो गुणस्तरीय अंगुर ल्याउने, फलफूल ल्याउने, राम्रो म्याचुरेसन दिनेमा होसियार छौं ।

कतिपयले फलफूल ल्याएर एकै महिनामा फम्र्युटेशन गरेर डेढ/दुई महिनामै वाइन बनाइन्छ । त्यसलाई क्रसिङ गर्ने, बोटलिङ गरेर योङ वाइनको रुपमा बजारमा ल्याइन्छ । त्यसको न फ्लेबर हुन्छ । न विभिन्न प्रकारको विशेषता नै हुन्छ । त्यस्तो वाइन सजिलै वाइन पारखीहरुले बुझ्छन् । व्यवसायीहरु त्यसरी बिक्री गर्न बाध्य पनि छन् । किनभने उनीहरुसँग स्टोर गर्ने तथा म्याच्योर गर्ने स्रोत साधन हुँदैन । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीले क्वालीटी दिनुपर्छ । त्यसको लागि हरसम्भव प्रयत्न गरिरहेका छौं । अहिले हाम्रो उद्योगका सबै उत्पादन राम्रो बन्दै गइरहेको छ ।

अर्को राम्रो पक्ष के हो भने पहिले ७० प्रतिशत वाइन आयात गरिन्थ्यो । ३० प्रतिशतमात्र स्वदेशी प्रोडक्ट हुन्थ्यो । अहिले त्यसमा फेरवदल आएको छ । अहिले करिब ६० प्रतिशत वाइनको बजार स्वदेशी उत्पादनको छ भने बाँकी ४० प्रतिशत मात्रै विदेशी छन् । नेपाली प्रोडक्टले बजार वृद्धि गरिरहेको छ । बजारमा आफ्नो शेयर बढाइरहेका छन् । यसरी नै अघि बढे चाडै वाइन इन्डस्ट्रीज मुलुकमा स्थापित हुन्छ ।

गुणस्तरीय वाइन उत्पादन गर्न मुख्य गरी के कुरामा ध्यान दिनु पर्छ ?

वाइन अंगुरबाट बन्नु पर्ने भन्ने मान्यता विश्वभरी छ । विश्व बजारले त्यस्ता वाइनलाई रुचाउँछन् । अंगुरमा पनि कस्तो भेराइटिज प्रयोग गरेको छ भन्ने हुन्छ । जति राम्रो क्वालीटीको अंगुर प्रयोग गर्यो वाइन त्यतिनै राम्रो हुन्छ ।

अर्को कति अबधिको म्याचुरेसन भन्ने हुन्छ । क्रसिङ गरेर मेच्युर गर्नुपर्ने हुन्छ । महिनादिन गर्ने हो कि वर्षदिन गर्ने हो । त्यस्तै स्टोरेजको भूमिका पनि महत्वपूर्ण रहन्छ । प्लास्टीकको ट्याङ्क, स्टीलनेश लगायतका ट्यांकहरूमा गरिन्छ । ट्यांकको क्वालीटी कस्तो छ ? सामान्य हो कि एड्भान्स प्रविधिको हो ? कुन ठाँउमा स्टोरेज गर्ने ? पहाड, तराई कहाँ स्टोर गरिएको छ भन्ने हुन्छ । सामान्यतय १८ डीग्री भन्दा कम तापक्रममा गरिएको स्टोरेजलाई उत्तम मानिन्छ । यसरी सबै कुरामा ध्यान पुर्याउन सके वाइन गुणस्तरीय हुन्छ ।

बोटललाई स्याहार गर्यो, ध्यान पुर्यायो भने वाइनको क्वालीटी पनि राम्रो हुन्छ । पहिले वाइनको बोटल कर्ब सिस्टमको हुन्थ्यो । अहिले सहजताको लागि बिर्कोमा आइसकेको छ । बिर्को भए जहाँ जता पनि सजिलै खोल्न सकिन्छ । विश्वभर नै यो ट्रेन शुरु भइसकेको छ ।

तपाईको साथीहरुले भने झै विग मास्टर ब्रान्डलाई भविश्यमा वाइन क्षेत्रको किङ बनाउन सक्नुहुन्छ ?

त्यसो त अरुले भने भन्दैमा उताउलो हुने अवस्था छैन । अहिले पनि केही वाइन बजारमा हाम्रोभन्दा बढी बिक्री भइरहेको छ । कसैले हाम्रो कम्पनीले कुनै एङ्गलले हेरे होला र हाम्रो ब्राण्ड भविश्यमा राम्रो प्रगति गर्ला भनेका होलान् । यसलाई हामीले स्वागत गरेका छौं । यसलाई उत्प्रेरणाको रुपमा लिनुपर्छ । तर हामी नै किङ भनेर मात्तिएका छैनौं । कमिकमजोरीहरुलाई सुधार्दै गए पक्कै पनि भोलिको दिनमा राम्रो प्रतिफल मिल्न सक्छ ।

एउटा वाइन पारखीले कुन वाइन योङ, कुन म्याचोर, कुनमा अक्सिजन पसेको छ वा बिग्रेको छ कसरी थाहा पाउने ?

जसरी नेपालीहरुले दहिको भेराइटीज चाखेर थाहा पाउछन् त्यसरी नै वाइनलाई पनि टेस्ट गरिसके पछि राम्रो/नराम्रो थाहा पाउन सकिन्छ । वाइन पारखीहरुले वाइनलाई मुखमा लगाउन साथै थाहा पाउछन् राम्रो हो कि नराम्रो ! कस्तो छ । अक्सीटेशन भएको छ वा योङ हो, कस्तो फ्लेबर छ ? चिन्छन् ।

हामीले हरेक बोतलमा वाइन बनेको समय, कुन लटको र प्रयोग गरिने समयावधि राखेका हुन्छौं । तर योङ वा म्याच्योर हो भनेर लेख्ने गरिन्दैन । चाखेर मात्र थाहा पाउन सकिन्छ ।

नयाँ उपभोक्ता वाइन पिउन चाहन्छ भने उसले होटल, रेस्टोरा अथवा पसलमा गएर कसरी वाइनको छनौट गर्न सक्छ ?

सामान्यतया बजारमा रेड र ह्वाईट दुई प्रकारका वाइनहरु उपलब्ध छन् । ती दुवै भेराइटीजमा स्वीट, सेमी स्वीट र ड्राई वाइन हुन्छन् । स्वीट वाइनमा सुगर राखिएको हुन्छ, ड्राईमा हुँदैन । बजारमा बढी मात्रामा स्वीट वाइनको माग छ । १० हजार काटुन स्वीट वाइन बिक्री हुँदा १/२ सय काटुन मात्रै ड्राई वाइन बिक्री भइरहेको हुन्छ । रेड वाइन कालो अंगुरबाट मात्रै बन्छ भने ह्वाइट वाइन अन्य अंगुर, स्याउ, फलफुलहरुबाट बन्छ ।

योङ वाइन र म्याचोर वाइन भनेको के हो ?

समान्यतया एक सिजनमा वाइन बनायो अर्को वर्षभित्रमा बोटलीङ तथा बिक्री गर्ने गरिन्छ । त्यसलाई योङ वाइन भनिन्छ । जो संसारमा सबैभन्दा सस्तो वाइनमा पर्छ । तर करिब ४ वर्ष स्टोर गरेर बजारमा पठाएको वाइनलाई राम्रो मानिन्छ । स्टोरेज राम्रोसँग गरिएको छ भने मदिराजन्य वस्तुहरु जति पुरानो भयो, त्यति नै राम्रो हुन्छ ।

विग मास्टरको बजार कस्तो छ ?

विग मास्टर उत्पादन थालेको ६ वर्ष भयो । यो वाइन मुलुकभर उपलब्ध छ । यसको बजार तीब्र रुपमा अघि बढेको छ । गएको वर्ष ६० हजार काटुन बिक्री गरेका थियौं । यो वर्ष २०/२५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेका छौं । अार्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४मा ३९.८ प्रतिशत व्यापार वृद्धि भएको थियो । त्योभन्दा अघिल्लो वर्षमा पनि २५ प्रतिशतभन्दा बढी बजार बृद्धि भएको थियो । त्यस्तै, आगामी अार्थिक वर्ष २०७५/७६ मा व्यापार ५० प्रतिशतभन्दा बढी व्यापार विस्तार गर्ने लक्ष्य राखेका छौं । अहिलेसम्ममा यस उद्योगमा ३० करोडभन्दा बढी लगानी भएको छ ।

वाइन उद्योगप्रति सरकारी नीति कस्तो छ ?

सरकारले आफ्नो बजेट निकासीको सहजताको लागि ४५ दिन अघि बजेट घोषणा गर्छ । यो अपरिपक्व निर्णय जस्तो लाग्छ । त्यसो गर्ने हो भने आर्थिक वर्षको अन्त्य नै जेठ पन्ध्रमा गर्दा के हुन्छ ? बजेट चाँही जेठ १५ मा घोषणा हुने, आर्थिक वर्ष चाहीँ असार मसान्तसम्म रहने । अनि ४५ दिन अघि नै अन्तशुल्क, भन्सार लगायतका करका दर वृद्धि गर्ने कार्यले उद्योगी व्यापारीलाई ठूलो असर परेको छ ।

तीन वर्षअघिदेखि आएको यो समस्याले मदिरा व्यवसायमा अरबौंको क्षति भएको छ । बजेट आएको ४५ दिनसम्म पुरानो रेटमा मदिरा बिक्री गर्नुपर्ने बाध्यता छ । जेठ १२ देखिपछि बजारमा आएको प्रोडक्टको अन्तशुल्क बेग्लै हुन्छ । बजारमा भने असार मसान्तलाई नै आर्थिक वर्षको अन्त्यको रुपमा लिइन्छ । जसबाट मदिरा उद्योगले ठूलो नोक्सान बेहोर्दै आएका छन् । गएको दुई वर्षदेखि त्यो समस्या उद्योगहरुले भोग्नु परेको छ ।

बेला-बेला सरकारका उच्च पदाधिकारीहरुले मदिरा उद्योग बन्द गर्नु पर्ने कुरा बाहिर ल्याउँछन् । मदिरा व्यवसायी अपमानित ढंगले हेरिन्छ । त्यसैले पनि यस्तो समस्या ठूला उद्योगीहरुले बाहिर नल्याएको हुनसक्छ । ठिकै छ, सरकारले बन्द नै गर्ने घोषणा गरे अरु जुस लगायतका उद्योग खोलौँला, विकल्प धेरै छन् । कृषि उत्पादन गरौंला । निर्यात बढाउँला अथवा व्यापार गरौंला ।

मलाई फार्मिङमा रुची बढेको छ । अहिले ५०/५२ रोपनी जमिनमा भुइ स्याउ रोपेको छु । यसलाई बढाएर सय, दुई सय रोपनी जमिनमा लगाउने इच्छा छ । किसानहरुसँग समूह बनाएर काम गर्ने इच्छा छ । सम्बन्धित नगरपालिकासँग छलफल भइरहेको छ । अब किसानसँग मिलेर हजारौं टनमा उत्पादन गरेर त्यसबाट वाइन बनाउन परे वाइन बनाउने नभए स्लाईस लगायत तयारी खानेकुरा उत्पादन गर्ने योजना छ ।