‘बैकिङ् जब’ सपनाको संसार, मिहिनेतीका लागि धेरै अवसर

  २०७५ वैशाख १६ गते १८:३६     गणेशराज पोखरेल

गणेशराज पोखरेल, डेपुटी सिइओ, सिटिजन्स बैंक इन्टरनेशनल

वित्तीय क्षेत्रमा अबको प्रतिष्पर्धा सेवाको गुणस्तरमा हुनेछ । प्रतिस्पर्धा अब अभिवादन, हाँसो र क्वालिटी सर्भिस डेलिभरीको हुनेछ । जति हार्दिकता पूर्वक सेवा पस्किन सकिन्छ त्यतिनै संस्थाको इमेज बन्दै जानेछ अब । खाली व्यवसायिक छौं भनेर मात्रै पुग्दैन् । जो जनताको घर दैलोमा पुगेर नागरिकलाई राम्रो सेवा दिन सक्छ उसले नै आफ्नो व्यवसाय विस्तार गर्ने हो ।

कर्मचारीको व्यवस्थापन र उत्पादकत्व

नेपालमा वित्तीय क्षेत्र भनेको एउटा ठूलो समूहको सपनाको संसार हो । आजको दिनमा पनि ठूलो समूहका लागि वित्तीय क्षेत्रमा जागिर खानु भनेको सपनाकै रुपमा स्थापित छ । यो पारदर्शी र सामाजिक रुपमा उच्च सम्मानका रुपमा हेरिने क्षेत्र हो । आज पनि बैंकमा जागिर खाएको व्यक्ति भनियो भने समाजमा छुट्टै सम्मानका साथ हेरिन्छ । त्यसकारण पनि यो क्षेत्र रोजगारीका लागि सपनाकै क्षेत्र हो ।

सिटिजन्स बैंककै कुरा गर्ने हो भने आजको दिनमा आठ सय भन्दा बढी कर्मचारी परीक्षा दिएर, प्रतिस्पर्धाबाट छानिएर जागिर खाईरहेका छन् । म्यासेञ्जर र गार्ड जोड्ने हो भने १२ सय जना जतिले रोजगारी पाएका छन् । काठमाडौं उपत्यकामा हाम्रा २५ वटा शाखा छन् । प्रथम श्रेणीमा स्नातक (बीबीए वा बीबीएस तथा अन्यमा) ले सहायक पदमा, एमबीए गरेकाले व्यवस्थापन प्रशिक्षार्थी पदमा प्रतिष्पर्धा गर्न पाउनुहुन्छ । फ्रेसरका रुपमा जागिरका लागि लिँदा नै हामीले प्रथम श्रेणीको शर्त राखेर उच्च गुणस्तरका कर्मचारीहरु मात्रै छानिरहेका हुन्छौं ।

हामीले हुम्लामा शाखा खोल्ने हो भने त्यहाँका स्थानीयले मात्रै अवसर पाउँछन् । हामी जहाँ शाखा खोल्छौं, त्यहीँका स्थानीय क्षेत्रका योग्य व्यक्तिहरुलार्ई प्राथमिकतामा राखेर रोजगारी दिईरहेका छौं । अधिकांश ठाउँमा मास्टर्स डिग्री पास गरेकाहरुले मात्रै जागिर खाईरहेका छन् ।

केही बैंक तथा वित्तीय संस्थाहरुले पनि आ-आफ्नो शैलीमा जनशक्ति व्यवस्थापन गरिहेका छन् । तर पनि सबै सक्षम मानिसहरु नै लिईरहेका छन् । कतिपय बैंकले उपत्यकाभित्र बीबीए अध्यापन गराउने शैक्षिक संस्थाहरुबाट टपरहरुलाई जागिर दिने गरि सम्झौता गरेका हुन्छन् । त्यसले कलेजको प्रचार पनि हुन्छ । यहाँ पढ्नेहरुले जागिर पाउँछन् भन्ने सन्देश जान्छ ।

व्यापार गर्ने संस्थाले जनशक्ति व्यवस्थापनका लागि धेरै समय खर्च गरेर हुन्न । ठिक समयमा जनशक्ति व्यवस्था गराउनु पर्छ भन्नका लागि त्यसो गरिएको हुन्छ । कलेजका टपरहरुलाई रोजगारी सुनिश्चित गरियो भने बाँकी विवाद र झण्झट हुँदैन । यसले एबिसी अर्थात आफ्नो मान्छे, भनसुन र चाप्लुसीबाट जोगाउन पनि सहयोग नै पुग्छ । अधिकांश सरकारी संस्थानहरु एबिसीकै कारण धरापमा परेका हुन् । हामीले संस्थालाई एबिसीको भाइरसबाट जोगाउन सक्नुपर्छ । हामीले पढे लेखेका सक्षम छन् भने गरिबका छोराछोरीले पनि प्रतिष्पर्धामा सहभागी हुन पाउने ग्यारेण्टी गरेका छौं ।

अहिले निजी क्षेत्रमा सोर्सफोर्सबाट जागिर खान पाइन्छ भन्ने सोँच हावी भएको छ । निजी कम्पनीमा जागिर खान पनि कहीँ परिक्षा दिनुपर्छ र ? भनसुन गरे भैहाल्छ नि भन्ने मान्यता अझै स्थापित छ । त्यसलाई तोडेर निजी क्षेत्रमा पनि राम्रा मान्छेहरुले मात्रै रोजगारीका अवसर पाउँछन् र राम्रो काम गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउनु पर्छ । बैंकहरुमा कर्मचारीको उत्पादकत्व नाप्ने आधार भनेको ऋण, निक्षेप, नाफा नै हो । यी सबै इण्डिकेटरका आधारमा हेर्दा पनि बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुको उत्पादकत्व साह्रै राम्रो छ । सिटिजन्स बैंकका कर्मचारीको परफरमेन्स निकै राम्रो छ ।

शाखा विस्तार र रोजगारीको अवसर

सबै स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा असार भित्रै पुर्याउन केन्द्रिय बैंकको निर्देशन छन् । त्यस आधारमा अब असार भित्रै ७५३ वटै स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा विस्तार हुँदैछ । बैंकको एउटा शाखामा कोर स्टाफसहित ८ जनाले रोजगारी पाउँछन् । त्यसरी हेर्ने हो भने थप शाखाहरुका लागि करिब २ देखि ३ हजारसम्मको नयाँ रोजगारी सिर्जना हुँदैछ । त्यो पनि मुलुकको ग्रामिण भेगमा । एकै पटक यति ठूलो मात्रामा रोजगारी सृजना गर्ने कुरा आफैंमा साह्रै ठूलो अवसर पनि हो । वित्तीय क्षेत्रमा रोजगारीमा प्रवेश गर्ने यो सुनौलो अवसर हो ।

बैंक तथा वित्तीय संस्थाहरु ग्रामिण क्षेत्रमा पुग्नु भनेको प्रत्यक्ष रोजगारीसँगै स्वरोजगार बन्ने अनेकौं ढोकाहरु पनि खुल्नु हो । अब स्थानीय तहमा नागरिकहरुले ऋण पाउँछन्, त्यसले आफ्नो सीप र हैसियत अनुसारको पेशा व्यवसाय अंगाल्न पाउँछन् । सिरानीमा राखिएको पैसा पनि अब वित्तीय प्रणाली भित्र आउँछ । यसले राष्ट्रिय अर्थतन्त्रमै साह्रै ठूलो महत्व राख्छ ।

कर्मचारी तानातानको सकस

अहिले २८ वटा बाणिज्य बैंक छन् । विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त गरेर १५३ वटा बैंक तथा वित्तीय संस्था कायम छन् । तीनको ५ हजार ८ सय ४८ वटा शाखा सञ्जाल छन् । यसको अर्थ कर्मचारीको लागि अवसरका विकल्पहरु पनि थुप्रै छन् ।

मान्छे आफ्नो वृद्धि विकासका लागि सधै सचेत रहन्छ । ठूलो ओहदा र बढी तलबका आशमा मानिसहरु अर्काे संस्थामा जाने हुन् । त्यसमा पनि राम्रा बैंकहरुबाट खासै कर्मचारी अर्काे संस्थामा जाँदैनन् । त्यसमा पनि तल्लो तहका कर्मचारीहरुमा संस्था बदल्ने चलन छ ।

बैंकिङ क्षेत्रमा पनि कर्मचारीहरुको पोजिसन स्पष्ट पारिनु पर्छ । असिसटेन्ट, सुपरभाइजर, जुनियर लेभलहरु नियामक निकायले नै तोकिदिनु पर्छ । सिइओ, डेपुटी सिइओ, विभागीय प्रमुखहरु हुँदै तल्लो तहसम्म कतिवटा तह रहने भन्ने कुरा केन्द्रिय बैंकले नै तोकिदिनु राम्रो हुन्छ । आफ्नो सुबिधा अनुसार कर्मचारीको तह निर्धारण गर्ने सुबिधा हटाउनु पर्छ । एउटा तहमा कति वर्ष काम गरेपछि पदोन्नति हुने हो ? पदोन्नतिका लागि योग्यता के के हुन् भन्ने पनि तोकिनुपर्छ । त्यसो गरियो भने अहिले देखिएको कर्मचारी तानातान पनि रोकिन्छ ।

एनबीआई जस्ता संस्थाहरुलाई कर्मचारी व्यवस्थापन र तालिमका लागि उपयुक्त माध्यमका रुपमा विकास गर्न सकिन्छ । त्यसमा केन्द्रिय बैंकले पनि सहयोग गर्न सकोस् । टियुमा बीबीए पढ्न सिम्याट र केयुमा कुम्याट पास गर्नुपर्छ । त्यसैले एनबीआईले बैंकहरुमा रोजगारी खानका लागि तालिम दिएर रोष्टर बनाएर राखिदिन सक्छ । अन्तरवार्ता भने सम्बन्धित कम्पनीले नै लिन सक्छ ।

संस्थागत लक्ष्य र कर्मचारीको व्यवस्थापन

संस्था र कर्मचारी भनेका परिवार र त्यसका सदस्य हुन् । कम्पनीको उदेश्य र कर्मचारीको आवश्यकतालाई मिलाउन सक्नुपर्छ । त्यसका लागि कर्मचारीका न्युनतम आवश्यकताहरु पुरा गरिनुपर्छ । प्रत्येक कर्मचारीले आफू कार्यरत संस्थालाई आफ्नै ठान्ने अवस्था निर्माण गरिनुपर्छ । राम्रा संस्थाहरुमा कर्मचारी युनियनको गठन भएका छैनन् । अर्थात कर्मचारीका आवश्यकता पूरा गराउने कम्पनीले मात्रै दिगोरुपमा प्रगति गर्न सक्छ । कर्मचारीलाई तिमीले राम्रो काम गर, तिम्रा आवश्यकता हामी पुरा गरिदिन्छौं भन्ने सन्देश कम्पनीले कर्मचारीसम्म राम्रोसँग पुर्याउनु पर्छ । त्यसले कर्मचारीलाई पनि विश्वासका साथ काम गर्न प्रेरित गर्छ ।

कर्मचारीहरुको मूल्यांकनको प्रणाली पनि विकास गरिनुपर्छ । प्रत्येक वर्ष राम्रा कर्मचारीलाई छनौट गर्ने व्यवस्था गरिनुपर्छ । राम्रालाई पुरस्कृत गर्ने अनि अरुलाई राम्रो काम गर्नका लागि सुधार गर्ने वातावरण सृजना गराउनु पर्छ । कुन कर्मचारीले किन राम्रो काम गर्न सकिरहेको छैन भनेर अध्ययन गरिनुपर्छ । मानिसले तीन वटा कारणले राम्रो काम गर्न सक्छ । मानिस कस्तो वातावरणमा हुर्किएको हो, कस्तो संगत छ भन्ने कुराले भूमिका खेल्छ । त्यस्तै कर्मचारीको स्किल चाहियो । त्यसका लागि एनबिआई जस्ता संस्थाले क्षमता विकासमा सहयोग गर्न सक्छन् । त्यसपछि सम्बन्धित विषयमा ज्ञान चाहिन्छ जुन शैक्षिक संस्थाहरुबाट प्राप्त हुन्छ ।

हामीले बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीको भर्ना र क्षमता अभिवृद्धिका लागि लोकसेवा आयोग जस्तै कुनै स्वतन्त्र र सबैले स्वीकार गर्ने खालको संस्था निर्माण गरिनुपर्छ । अहिले पनि एनबीआईले केहि काम गरिरहेको छ । त्यसलाई थप विकास र नयाँ संस्थाको निर्माण आवश्यक छ । भारतमा एउटा बैंकले मात्रै पनि यस्ता संस्थाहरु खोलेका छन् । हाम्रो बजार सानो भएकाले हामीले संयुक्त रुपले त्यस्ता संस्थाहरु खोल्नु पर्छ । कम्तिमा पनि एउटा तहमा यति वर्ष काम गरेपछि अर्काे तहमा जान पाइने वा एउटा कम्पनीबाट अर्काे बैंकमा जाँदा केहि मापदण्ड बनाइनु आवश्यक छ ।

(कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.