नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ वैशाख १५ गते १७:२९     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडका अनुसार यस साता कूल १८२ कम्पनीको १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा १४.८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१.२७ अंकले घटेर अन्तिम दिन १३५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले घटेर २८७ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा राम्रो नाफा गरेपछि प्रतिफल पाइने आशामा लगानीकर्ताले नेपाल बैंकको सेयर किनेका हुन् ।

९ महिनामा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । यस्तै बैंकको सेयर सस्तो भएको र जोखिम पनि न्यन देखिएपछि नेपाल बैंकको सेयर बढी कारोबार भएको ब्रोकरको भनाई छ । बैंकले सर्वसाधारणलाइ लक्षित गरी थप निष्कासन (एफपीओ) ल्याउदै छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ७ लाख २४ हजार कित्ता सेयर कारोबार भएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.