तरलता संकटको बचाउ गर्दै अर्थमन्त्री खतिवडाले भनेः आन्तरिक निक्षेपले मात्र पुग्दैन, लगानी बढाउन विदेशबाट कर्जा ल्याउनुपर्छ

  २०७४ चैत २९ गते १९:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने भन्दै विदेशबाट ऋण ल्याउनु पर्ने बताएका छन् ।

निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ प्रणालीमा तरलताको संकट देखिएको भन्दै उनले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने उनले स्पष्टपारेका छन् । “तरलताको समस्या बढेपछि ब्याजदर माथि गएको हो” उनले भने आन्तरिक वचतले मात्र अब पुग्दैन । अब बाहिरबाट ऋण ल्याउनुपर्छ ।”

गत वर्षदेखि बाहिर आएको लगानीयोग्य पुँजीको समस्या यो वर्ष पनि दोहरिएपछि आन्तरिक वचतले मात्र बैंकलाई लगानी गर्न नपुग्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन् । राष्ट्र बैंकले व्यवस्थापन गर्न नसक्दा बजारमा तरलताको संकट देखिएको आरोप गभर्नर डा. चिरन्जीवि नेपालमाथि लाग्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन वाणिज्य बैंकले खुला गरिसकेको उनले जानकारी दिए । विदेशबाट लगानी ल्याउन अभैm १,२ वटा काम गर्न बाँकी रहेको उनले सुनाए । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ वार्षिक साधारणसभामा व्यवसायीको जिज्ञाशालाई मेट्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सुझाए ।

“तपाईहरु जति छिटो बैदेशिक लगानी ल्याउनु हुन्छ त्यति नै सरकारले सहजीकरण गरिदिने छ” उनले भने । सरकार आन्तरिक ऋणले मात्र नपुग्ने भएपछि वैदेशिक ऋण बढी ल्याउने तयारीमा रहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुले निक्षेप परिचालन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेकाले आन्तरिक बचतले नपुग्ने देखिएको हो । निक्षेप सुस्त गतिमा र कर्जाको माग अधिक बढेकाले अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको हो । बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

अधिकाँश बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत रहेपछि लगानी गर्न सकेका छैनन् । एनएमबी बैंक र एनआईसी एसिया बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् ।गत फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३ प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेबाट वित्तीय स्थिति कसिलो रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.