सरकारी कम्पनीको सिटामोल बजारमा, पहिलो दिन बिरअस्पतालले किन्यो ३० हजार ट्याब्लेट

  २०७४ चैत २३ गते १३:२०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी नेपाल औषधी लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल शुक्रबारबाट बजारमा ल्याएको छ । करिब डेढ महिनाअघिदेखि कम्पनीले सिटामोलको उत्पादन सुरु गरेको थियो ।

कम्पनीले ५ लाख ट्याब्लेट तयार गरेपश्चात मात्रै बजारमा बिक्रीको लागि सार्वजनिक गरेको कम्पनीका महाप्रबन्धक डा.रोभस कुसम सुवेदीले बताए । ‘बजारमा सरकारी सिटामोलको माग अत्यधिक रहेको कारणले ५ लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्र बिक्री शुरु गरेका छौं,’ उनले भने ‘अर्को ५ लाख ट्याब्लेट तयारी हुने अबस्थामा छ ।’ शुक्रबार बिर अस्पताललाई औषधी बिक्री गरेता पनि मुलकभर आइतबारदेखि मात्रै बिक्रीको लागि लैजाने उनको भनाइ छ ।

उनले मुलकभर रहेका औषधी स्टकीसहरुसँग बिक्री सम्बन्धमा कुरा भइरहेको जानकारी दिए । प्रतिट्याब्लेट सिटामोलको बजार मुल्य कम्पनीले तोके अनुरुपको १ रुपैयाँमा रहेको छ ।

पहिलो चरणमा सिटामोल उत्पादन गरेको कम्पनीले आगामी दिनहरुमा आइरन चक्की, भिटामिन, कोडिन, खोकी, पिसाब लगायतका ८ भन्दाबढी थरी औषधी ट्याब्लेट उत्पदान गर्ने कम्पनीको योजना छ ।

पछिल्लो समय कम्पनीले दैनिक ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्न सक्ने क्षमताको उपकरण जडान गरेको छ । उक्त उपकरण जडान गरेसँगै सिटामोल उत्पादन शुरु गरेको हो ।

२०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.