नेपाली बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने, एनएमबी र एनआईसी एसियालाई बाटो खुल्यो

  २०७४ चैत २० गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपाली बैंकलाई विदेशबाट ऋण लिन पाउने निर्णय गरेको हो ।

ऋण लिन पाउने नीति केही दिनभित्र सार्वजनिक हुनेछ । सञ्चालक समितिले पास गरेको तर माइन्युट साइन भएर बाहिर नआएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । माइन्युटमा सही भएर आएपछि यसको खाका बनाएर कार्यन्वयनमा ल्याउने उनले जानकारी दिए । एनएमबी बैंक र एनआईसी एसिया बैंकले ऋण लिन स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले जानकारी दिए ।

“बैंकले विदेशी वित्तीय संस्थाबाट ल्याउन पाउने ऋणको सीमा, ब्याजदर, हेजिङफण्ड, र लगानीको क्षेत्र र कर्जाको अवधि तोकिने गरी अर्को निर्णय आउने छ” पौडेलले भने । लगानीयोग्य पुँजी बढाउन विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ ।

एनएमबी बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ल्याउन लागेको १ अर्ब ५० करोड रुपैयाँ ऋण ल्याउन बाटो खुलेको छ ।अघिल्लो साता आइतबार एनएमबीले आईएफसीसंग ऋण लिने सम्झौता गरेको थियो । आईएफसीबाट ऋण लिनका लागि प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले ऋण लिन अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिने जानकारी गराए । यस्तै एनआईसी एसिया बैंकले पनि विदेशबाट ऋण लिने तयारी गरेको छ ।

गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन पाउने छन् । यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म ल्याउन सक्ने देखिएको पौडेल बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.