काठमाडौं महानगरभित्र घर बहाल कर १२ प्रतिशत कायम, १५ करोड राजस्वबाट ५ अर्ब पुग्ने

  २०७४ चैत १४ गते १६:२९     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको घर बहाल कर १२ प्रतिशत तोकेको छ । २०७४ चैत ११ गतेको मन्त्रिपरिषद निर्णयबाट बहाल कर स्थानीय तहमानै निहित हुने निर्णय गरेपछि महानगरले घर बहाल कर तोकेको हो ।


अब काठमाडौंवासीले दोहोरो घरभाडा घर तिर्नुपर्ने झन्झटबाट मुक्त भएको महानगरको सूचना अधिकृत बसन्त आचर्यले बताए । यसअघि महानगरले २ प्रतिशत र सरकारले १० प्रतिशत लिदैं आएको बहाल कर अब सबै महानगरको खातामा जम्मा हुनेछ ।

२ प्रतिशतले वार्षिक १५ करोड उठ्दै आएको महानगरमा १२ प्रतिशत कायम गर्दा ४ देखि ५ अर्ब सम्म राजस्व उठ्ने महानगरले लक्ष्य लिएको निर्देशक नवराज ढकालले बताए । ‘यो संघीयताको महत्पुर्ण खुड्किलो हो, महानगरले उठाएको यस मुद्दाले ७५३ वटै स्थानीय तहले राहत महसुुस गरेका छन्, सरकारले तहलाई दिएको २२ एकल अधिकारमध्ये यो अधिकार प्राप्त भएको छ, अन्य अधिकार प्राप्त हुन बाँकी नै छन्’ ढकालले विकासन्युजसँग भने ।

अब तहले कति घर बहाल कर उठाउने भन्ने विषयमा स्व निर्णय गर्न सक्नेछन । महानगरभित्र प्रत्येक वडामा घर बहाल कर तिर्न सकिनेछ । दुई वा दुई भन्दा बढी वडामा घर हुने व्यक्तिले एकै वडाबाट सबै कर तिर्न सक्नेछन् । निर्देशक ढकालका अनुसार घरधनीले किस्तामा बहाल कर तिर्न सक्नेछन् । प्रत्येक महिनाको बहाल महिना सकिने बित्तिकै तिर्न सकिनेछ । त्यसैगरी वर्षभरीको बहाल शुल्क एकै पटकमै तिर्न पनि सकिनेछ ।

यसअघि स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार नगरपालिका क्षेत्रमा २ प्रतिशत बहाल कर लगाउँदै आएको र संविधान जारी भएसँगै संविधानको अनुसूचीमा नै घर बहाल कर स्थानीय तहको अधिकारको क्षेत्रमा समावेश गरेकाले उक्त अधिकार स्थानीय तहलाई दिएको हो ।

महानगरले २०७४ असोज ३० गते सरकारले उठाउँदै आएको १० प्रतिशत कर र महानगरले उठाउँदै आएको दुई प्रतिशत गरेर कूल १२ प्रतिशत कर एकद्वार नीतिअन्तर्गत काठमाडौँ महानगरले असुल उपर गर्ने निर्णय गरेको थियो ।

महानगर सबै स्थानीय तहको अग्रज निकाय भएकोले जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन शुल्क, मनोरञ्जन कर र विज्ञापन कर स्थानीय तह र प्रदेशको साझा सूचीमा रहे पनि घरबहालसहित सम्पत्ति कर, भूमि कर र व्यवसाय करमा स्थानीय तहको मात्र अधिकार रहने निर्देशक ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.