काठमाडौं स्टीलले विकास गरेको प्रविधि विश्वभरका स्टील उद्योगका लागि धेरै उपयोगि छ

  २०७४ चैत ८ गते १३:५९     विकासन्युज

मेकानिकल इन्जिनियरीङ र मेटिरियल्स् साइन्समा अमेरिकाबाट मास्टर डिग्री गर्नु भएका केशव राज पोखरेल हाल मेटिरियल्स् साइन्समा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ विगत १७ वर्षदेखि स्टील उद्योगमा सक्रिय हुनुहुन्छ । अमेरिकी डिफेन्स इन्डस्ट्रिजमा डिजाईनरको रुपमा समेत काम गरीसक्नु भएका पोखरेल पञ्चकन्या, अम्बे र हामा स्टील हुँदै हाल काठमाडौं स्टीलको प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्छ । पोखरेल सहितको टिमले पञ्चकन्यामा काम गर्दा नेपालमा पहिलो पटक २००२ मा टीएमटी बार उत्पादन थालेको थियो । अहिले टीएमटी बारको उत्पादन र बजार ठूलो भएको छ । हाल काठमाडौं स्टीलले फेरी नयाँ प्रविधिको प्रयोग गरी ‘रिडवार विथ कपलर सिस्टम’ उत्पादन गर्दै आएको छ । प्रस्तुत छ काठमाडौं स्टीलले प्रयोग गरेको नयाँ प्रविधि, स्टील बजार र उपभोग्य शैलीमा आएको परिवर्तन बारे पोखरेलसँग गरिएको विकास वहस ।

केशवराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत-काठमाडौं स्टील प्रा.लि.


काठमाडौं स्टीलले ‘रिडवार विथ कपलर सिस्टम’ मा आधारित स्टील उत्पादन गर्दै आएको छ, यसको विशेषता के हुन् ?

२०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । अरु कम्पनीको उत्पादन भन्दा हाम्रो उत्पादन फरक छ । ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्ने साउथ एशियामा काठमाडौं स्टील एक मात्र कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो छ । यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुन्छ । अन्य भागको जतिकै बलियो हुन्छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ ।

कति फरक पर्न सक्छ ?

मानौं, एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । तर काठमाडौं स्टीलको उत्पादन प्रयोग गर्ने हो भने त्यहि पुल बनाउन ९० टन मात्र भए पुग्छ । त्यस्तै, कुनै पनि प्रोजेक्टमा काठमाडौं स्टील प्रयोग गर्ने हो भने एक टुक्रा पनि खेर जाँदैन । मानौ ४० फिटको रड छ, ३५ फिट मात्र रड लाग्ने हो भने ५ फिट रड खेर जाने भयो । तर काठमाडौं स्टील प्रयोग गर्ने हो भने त्यो ५ फिटको रड खेर फाल्नु पर्दैन, अर्को ठाउँमा जोडेर प्रयोग गर्न सकिन्छ ।

कपलर ज्वाइन्ट र ओभरल्याप ज्वाइन्टमा कुन बलियो हुन्छ ?

ओभरल्याप ज्वाइन्टमा दुई डण्डीलाई मसिनो तारले बाधेको हुन्छ । बँधाई खुकुलो भएको अवस्थामा, कङ्क्रिट राखेर भाईबेटरले चलाउँदाको अवस्थामा डण्डीको ज्वाइन्ट फाटेर जाने जोखिम हुन्छ । कपलर ज्वाइन्टमा त्यस्तो कुनै जोखिम हुँदैन ।

अर्को महत्वपूर्ण कुरा के छ भने ओभरल्याप ज्वाइन्टमा बढी स्टील प्रयोग हुन्छ, त्यसले घरलाई बढी बोझिलो बनाउँछ । अग्ला घर बनाउँदा ३२ एमएमको रड प्रयोग हुन्छ । एउटा रड ओभरल्याप गर्दा १२ किलोग्राम अतिरिक्त भार पर्छ । ४ वटा रड प्रयोग भएको एउटा विन्दुमा ओभरल्याप खर्च ४८ किलोग्राम हुन्छ । कपलर प्रयोग गर्यो भने त्यसको तौल १० किलो मात्र हुन्छ । एउटा रडको जोइन्टमा साढे नौ किलो कम हुन्छ भने एउटा विन्दुमा ३८ किलो कम तौल हुन जान्छ । माथिल्लो भागमा कम लोड भएको अग्ला घरहरुमा डाइनामिक लोड पनि कम हुन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो घर कम जोखिमपूर्ण हुन्छ ।

काठमाडौं स्टीलको बजारमा माग कस्तो छ ? आवास तथा परियोजना मध्ये कहाँ बढी प्रयोग हुन्छ ?

काठमाडौं स्टीलको मूल्य अन्य स्टीलको भन्दा केही महँगो छ । गुणस्तर र मूल्य तुलना गरेर किन्ने ग्राहक कम हुन्छन् । धेरै जसो ग्राहक जुन ब्राण्डको प्रतिकिलो मूल्य सस्तो छ, त्यहि किन्छन् । तर कुल लागतको हिसावले काठमाडौं स्टिल महँगो पर्दैन । किनकी पराम्परागत स्टीलको तुलनामा जोर्तीको ओभरल्यापमा बढी स्टीलको खपत हुँदैन । बजारमा हाल काठमाण्डौ स्टिलको माग तिव्र रुपले बढ्दै गएको अवस्था छ । प्रोफेसनल डिजाइनरहरुले तयार गरेका डिजाइनहरुमा तथा रास्ट्रिय गौरवका आयोजनाहरुको पहिलो रोजाईमा प्रयोग भएको पाईन्छ । विस्तारै सर्वसाधारणका संरचनामा पनि प्रयोग हुने क्रम बडिरहेको छ । ग्राहकले गुणस्तर तथा त्यसबाट हुने बचतका बारेमा राम्रो सँग बुझिनसकेको अवश्थाका कारण पनि सर्वसाधारणको रोजाईमा रिडबारले स्थान बनाउन नसकेको हो ।

बजारमा प्रतिस्पर्धी बनाउन मूल्य घटाउने प्रयास भएको होला नि ?

मूल्य घटाउनको लागि हामीले रिसर्च तथा डेभलपमेन्टको काम गरिरहेका छौं । र, यो अन्तिम चरणमा पुगेको छ । यसले जोर्तीको ओभरल्यापमा हुने खपतमा ७८ प्रतिशत कम गराउने देखिएको छ भने लागत मूल्यमा २० प्रतिशत बचत हुने देखिएको छ ।
हामीले ज्वाइन्ट कपलर न्यूजिल्याण्डबाट ल्याउनु पर्दा यो महँगो भएको हो । अब यस्तो सकेट हामी आफैले बनाउने तयारीमा छौं । यस्तो सकेट बनाउने उद्योगको लागि नेपाली बजार सानो हुन्छ । त्यसैले हामीले नेपाल, भारत र चीनको बजारलाई लक्षित गरी नयाँ उद्योग खोल्ने तयारीमा छौं । हामीले बनाउने वित्तिकै यस्तो सकेटको मूल्य कम हुन जान्छ । त्यसपछि यसले बजारमा यति व्यापकता पाउँछ कि जुनसुकै कन्स्ट्रक्सन साईटमा यसको प्रयोग हुनेछ ।

काठमाडौं स्टीलको उत्पादन गर्ने प्रविधि पनि फरक छ । उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि हामीले पहिलो पटक नेपालमा विकास गरेको छौं र त्यसको पेटेन्ट राईट लिने प्रक्रिया अगाडि सारेका छौं । नेपाल र भारतमा पेटेन्ट राईट दर्ता भईसकेको छ ।

ह्याण्डलिङ एण्ड डिस्प्याच मेसिनको विकास भनेको कस्तो हो ? त्यसले उत्पादनमा कसरी सहयोग गर्छ ?

५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं ।
नयाँ मेसिनको प्रयोगसँगै दैनिक १३० जनाले गर्ने काम ४ जनाले गर्न सक्छन् । हाम्रो कम्पनीमा पुरै अटोमेशन भईसक्यो । फ्याक्ट्रीबाट उत्पादन हुँदा हुँदै गाडीमा लोड भईसक्छ । म्यानुअली हुने उद्योगमा आज उत्पादन भएको डण्डी डिस्प्याच र ह्याण्डलिङको काम ४÷५ दिन पछि मात्र हुन्छ ।

यो मेसिनको प्रयोगले रोजगारी कटौतिमा कस्तो असर पर्छ ?

हामीले बनाएको मेसिन नेपालका सबै उद्योगले प्रयोग गरे भने ५ हजार भन्दा बढी रोजगारी कटौति हुन्छ । हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन । प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो पुरै कट हुन्छ । हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ ।
मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त छ । डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो ।

‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’

यो समस्या नेपालमा मात्र होइन, भारतमा झन् ठूलो समस्याको रुपमा रहेको छ । विश्वका अरु देशहरुमा पनि यो समस्या छ । हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए । उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’

यो मेसिन राख्न कति लगानी गर्नु पर्छ र कस्ता स्टील उद्योगहरुले प्रयोग गर्न सक्छन् ?

यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ ।

हामीले यो मेसिन अरु देशलाई बनाउन अधिकार दिने छैनौ । नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने काम गर्ने छौं । कुनै पनि देशले एलसी खोलेर अर्डर गरी लैजान सक्छन् । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइना लगायत धेरै देशमा यो मेसिन निर्यात गर्ने हामीले योजना बनाएका छौं ।

स्टील उद्योगमा नविन कार्यशैलीहरु कस्तो आएको छ ?

पहिला धेरै काम मान्छेले म्यानुअली गरिन्थ्यो भने अहिले प्रविधिको प्रयोग हुन्छ, मेसिन औजारहरुको प्रयोग हुन्छ । जतिबेलामा म स्टील इन्डस्ट्रीमा प्रवेश गरे त्यतिबेला यो उद्योगमा नेपालीले काम गर्न सक्दैन भनिन्थ्यो । त्यतिबेला हेल्परदेखि सुपरभाइजरसम्मका मान्छेहरु भारतबाट ल्याउनु पर्दथ्यो । अहिले धेरै प्रकारका जनशक्ति नेपालमा नै पाइन्छ । मैले काम गरेका पञ्चकन्या, अम्बे, हामा, र काठमाडौं स्टीलमा अधिकांश नेपालीले काम गर्छन । मैले काम सिकाएका १५० जना भन्दा बढी दक्ष जनशक्ति अहिले नेपालको स्टील उद्योगमा क्रियाशिल छन । कडा परिश्रम गर्नु पर्ने काम भएकाले पनि मानिसहरु अझै पनि भारतबाट आउने क्रम रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.