एसइई परीक्षाको तयारी पुरा, अनिवार्यमा गणित बाहेक सबैमा प्रयोगात्मक

  २०७४ चैत ६ गते १९:४५     राजाराम न्याैपाने

काठमाडौँ । आउदो बिहीबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ८५ हजार ५८६ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ४५० जना सहायक केन्द्राध्यक्ष, २० हजार ३४० जना निरीक्षक, १० हजार ६७६ जना सहयोगी र २९ हजार ३४० जना सुरक्षाकर्मी गरी ६४ हजार ७ ६२ जना जनशक्ति परिचालित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

साधारणतर्फको १७ गतेसम्म र प्राविधिकतर्फको २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं ३ बाट र कम कर्णाली प्रदेशबाट हुने भएका छन् ।

बोर्डका अनुसार प्रदेश नं ३ बाट १ लाख ८३ हजार २२, कर्णालीबाट ३८ हजार ५९२, प्रदेश नं १ बाट ८४ हजार २९०, प्रदेश नं २ बाट ७० हजार ४०२, प्रदेश नं ४ बाट ४८ हजार ९५४, प्रदेश नं ५ बाट ७९ हजार २५१ र प्रदेश नं ७ बाट ५५ हजार ७७५जना परीक्षार्थी यस वर्ष एसइईमा सहभागी हुदैछन् ।
जसमध्ये परीक्षामा नियमिततर्फ छात्रमा २ लाख २७ हजार २०४ जना र छात्रामा १ लाख २३ हजार ३११ जना एक्जाम्टेड तर्फ छात्रमा ९ हजार २४७ जना र छात्रामा १४ हजार ८२४ जना रहेको बोर्डले जानकारी दिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था छ । यस्तो प्रयोगात्मक परीक्षाको व्यवस्थापन सम्बन्धित विद्यालय र विषय शिक्षकबाटै नै हुनेछ ।

परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोली गठन गरिएको छ ।

ती टोलीले परीक्षा सञ्चालन अवधिमा परीक्षालाई मर्या्दित, अनुशासित र व्यवस्थित गर्ने र अमर्या्दित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने गरी अनुगमन निरीक्षणको व्यवस्था मिलाइएको छ ।

२०७३ सालको एसइईमा २ जना केन्द्रध्यक्ष, १ जना सहायक केन्द्राध्यक्ष र ३८ जना निरीक्षकलाई कार्वाही र ३०५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको समेत रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.