गुणस्तर, मूल्य र बजार नेटवर्क महिन्द्रा कमर्सियल भेइकलका अस्त्र हुन्- सञ्जय जादव

  २०७४ चैत ४ गते १४:३३     विकासन्युज

महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका उपाध्यक्ष तथा दक्षिण एसिया अपरेशन प्रमुख सञ्जय जादव पेशाले इञ्जिनियर हुन् । २० वर्षदेखि महिन्द्रा ग्रुपसँग आवद्ध रहेका जादवले ६० वटा भन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । हाल महिन्द्रा एण्ड महिन्द्रा ग्रपका १० वटा उत्पादनहरुको बजारीकरण हेरिरहेका जादव हाल नेपाल भ्रमणमा छन् । प्रस्तुत छ महिन्द्राका कमर्सियल भेहिकलकाबारेमा सञ्जय जादवसँग विकासन्यूजले गरेको कुराकानी ।

सञ्जय जादव, भाईस प्रेसिडेन्ट, अन्तराष्ट्रिय अपरेशन प्रमुख (दक्षिण एसिया), महिन्द्रा एण्ड महिन्द्रा

नेपालमा महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल(भेहिकल) गाडी बिक्रीको इतिहास कस्तो छ ?

नेपालमा महिन्द्रा एण्ड महिन्द्राको यात्रा २६ वर्षअघि नै सुरु भएको हो । महिन्द्रा ग्रुपले नेपालमा कमर्सियल, हेभि, प्यासेञ्जर सेगमेन्टका सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ । हामीले कमर्सियल सवारी भने १९९२ मा नेपालमा शुरु गरेका हौं ।

कमर्सियल सवारीको नेपाली यात्रामा हामी साह्रै सुखद सफलता पाईरहेका छौं । उपभोक्ताहरुले राम्रो प्रतिक्रिया दिईरहेका छन् । हामीले पनि राम्रो प्रडक्ट र राम्रो सर्भिस दिईरहेका छौं । पछिल्लो २६ वर्षदेखि हामी नेपाली बजारका लिडर नै हौं । दुगड ग्रुपसँगको सहकार्यले हामीलाई ठूलो सफलता दिईरहेको छ । लोडकिङ सेगमेन्टमा पनि हामी बजारको लिडर नै हौं । साना कमर्सियसल सवारीको सेगमेन्टमा पनि हामी सफल छौं । ३ वर्षअघि हामीले हेभि कमर्सियसल सवारीमा नेपालमा ल्याएका छौं । त्यसमा पनि हामीले बजारमा राम्रो पहुँच विस्तार गरेका छौं ।

एमभी दुगड ग्रुपसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ?

महिन्द्रा ग्रुपको सिद्धान्त भनेकै दीर्घकालिन आत्मिय सहकार्य नै हो । हामीले यहि सिद्धान्तका आधारमा पछिल्लो २६ वर्षदेखि मोतिलाल जी र विवेकसँग सहकार्य गरिरहेका छौं । यो सहकार्य राम्रो गतिमा अघि बढिरहेको छ । हामीसँगै अघि बढिरहेका छौं र दुगडसँगको सहकार्यलाई हामीलाई नेपाली बजारमा पुरस्कृत गरिहेको अनुभव गरिहेका छौं । यो सम्बन्धले हामीलाई अझै लामो यात्राका लागि प्रेरित गरिरहेको छ ।

कमर्सियल सवारीका सवालमा नेपाली बजारको कुनै अध्ययन गर्नु भएको छ ?

हामी नेपाली बजारका बारेमा राम्रो जानकार छौं । दुगड ग्रुप आफैंले पनि नेपाली बजारको अध्ययन गरिरहेको छ । यहि इफोर्टले नै हामी नेपाली बजारमा लिडर ब्राण्डका रुपमा दुई दशकदेखि सशक्त रुपमा उपस्थित हुन सफल भएका छौं । व्यवसायिक कम्पनीका लागि बजारको अध्ययन अनिवार्य सर्त नै हुन् । दुगडको देशभर शाखाहरु छन् । सब डिलर र डिलरहरु छन् । हामी त्यतिकै बजारको लिडर ब्राण्ड भएका होइनौं । हामी सिधै उपभोक्तासँग जोडिएका छौं । हामी आफ्ना उत्पादनहरु नै बजारको अनुसन्धानका आधारमा तयार पार्छाै ।

नेपालले अख्तियारले गरेको विकासको गतिमा तपाईको बजार बढाउने योजना के छन् ? आगामी दिनमा महिन्द्राको कमर्सियल सवारीको बजार कस्तो होला ?

नेपाल यतिबेला पूर्वाधार विकासको गतिमा तिब्र रुपले अघि बढिरहेको छ । ठूला पूर्वाधारहरुको निर्माणले गति लिएसँगै हाम्रा उत्पादनहरुको बजार पनि बढ्ने हो र त्यो बढिरहेकै छ । हाम्रा कमर्सियल सवारीहरुको बजार अझै बढ्दै जाने अपेक्षा छ ।

कुनै पनि उत्पादनको बजार भनेको उपभोक्तासम्म पुग्ने नेटवर्क नै हो । बजार विस्तारको नेटवर्क बिना कुनै पनि उत्पादनले उपभोक्ताको मन जित्न सक्दैन् । हामी बिक्रीपछिको सेवाका बारेमा पनि साह्रै सचेत छौं । दुगडले आफ्ना शाखा, सब डिलर र डिलर मार्फत कमिर्सयसल सवारीहरुको बिक्री गर्छ र बिक्रीपछिको सर्भिस पनि दिन्छौं । स्पेयर पार्टस्हरुको सहज उपलब्धता र बिग्रिएका सवारीहरुको निर्माण पनि हाम्रो उच्च प्राथमिकतामा रहने गरेको छ । हामीले बजार नेटवर्क विस्तारलाई सधै उच्च प्राथमिकतामा राख्दै आएका छौं । दुगडलाई देशभर उपयुक्त डिलर छान्न सहयोग गर्दै आएका छौं ।

उपकरण खरिद गरिसकेपछि स्पेयर पार्टस् र मर्मत सर्भिसमा पनि उपभोक्तालाई सहजता प्रदान गरेका छौं । अहिले देशभर १६ वटा डिलर्स छन् । जहाँबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् उपलब्ध गराउँछौं । त्यसबाहेक थप २५ वटा स्पेयर्स पार्ट्सका बिक्रेता छन् ।

उपभोक्ताहरुले महिन्द्रा कम्पनीका कमर्सियल सवारी नै किन रोज्ने ?

पक्कै पनि, अहिले संसारभरका राम्रा भनिएका कम्पनीहरुका कमर्सियल सवारी नेपालमा उपलब्ध छन् । त्यस अर्थमा नेपालीहरु साह्रै भाग्यमानी पनि छन् ।

अमेरिका, युरोप, जापान र कोरियाका उत्पादनहरु नेपालमा सर्वत्र उपलब्ध छन् । नेपालीहरुका माझ कमर्सियल सवारी साधनमा छनौटको राम्रो सुबिधा छ । तर पनि उनीहरुले महिन्द्रालाई नै पहिलो रोजाई बनाउँदै आएका छन् ।

बजारमा उपलब्ध अन्य कमर्सियल सवारी भन्दा महिन्द्राका सवारी दिगो हुन्छन् । लामो समयसम्म सेवा दिन सक्छन् । किनकी हामी सवारी बेच्ने काम मात्रै गर्दनौं । त्यसको मूल्य अभिवृद्धि( भ्याल्यु एडिसन) पनि गराउँछौं । उपयोगिता पनि बढाउँछौं । अर्थात महिन्द्राका कमर्सियल सवारी साधन अरु कम्पनीका भन्दा बढि उपयोगी र लामो समय टिक्छन् । त्यसका अलवा हामीले बिक्रीपछिको सर्भिस र स्पेयर पार्टस्मा पनि राम्रो ख्याल गर्दै आएका छौं । हाम्रा सवारी खरिद गरेपछि पार्टपुर्जा नपाउने, मर्मतमा कठिनाई हुने समस्या आउँदैनन् । हामीले उपभोक्तासँग क्रेता र बिक्रेताको रुपमा होइन, दुई वटा कम्पनीबीचको व्यवसायिक सम्झौताका रुपमा व्यवहार गरिरहेका छौं । हाम्रा कमर्सियल सवारी साधन खरिद गर्नेहरु आफैं व्यवसायी हुन र हामी उनीहरुसँग व्यवसायिक सम्बन्धका आधारमा व्यवहार गर्छाै । हाम्रा उत्पादनहरुमा न्युन इन्धन खपत हुन्छन् । हामीसँग आधुनिक तालिम प्राप्त मर्मतकर्ताहरु छन् । त्यसकारण, गुणस्तर, मूल्य, बजार नेटवर्क, उपयोगिता, मर्मत सम्भारको सुबिधा लगायतका कारणहरुले महिन्द्राका कमर्सियल सवारी साधन नै उपयुक्त हुनेछन् भन्ने हाम्रो मान्यता हो ।

नेपालमा बजारीकरणका लागि उत्पादक कम्पनीका रुपमा कुनै योजना बनाउनु भएको छ ?

हामी आफैंले नेपालका लागि व्यवसायिक योजना बनाउनु पर्छ भन्ने मान्यता राख्दैनौं । हामी उत्पादन गर्छाै । गुणस्तर कायम गराउँछौं । नेपालमा व्यवसाय विस्तार गर्ने, उपभोक्तामा जानकारी पुर्याउने काम दुगड ग्रुपको हो । जुन काम उहाँहरुले लामो समयदेखि सफल ढंगले गर्दै आउनु भएको छ । हामीले भारतसहित संसारका अन्य मुलुकहरुमा व्यवसाय विस्तारका क्रममा प्राप्त गरेको अनुभवलाई साट्ने गरेका छौं । त्यसका आधारमा दुगड ग्रुपले नेपालमा व्यवसाय विस्तारको लागि काम गर्दै आएको छ ।

कमर्सियल सवारी साधनको सेगमेन्टमा अब चाँडै नेपालमा कस्तो प्रडक्ट आउँदैछ ?

नेपाल तिब्र गतिमा विकासको चरणमा हिडिरहेको छ । यो हाम्रा लागि राम्रो बजार पनि हो । अहिलेसम्म हामीले ठूला कमर्सियल सवारी र साना कमर्सियल सवारी मात्रै नेपालमा उपलब्ध गराउँदै आएका थियौं । अब भने हामी मध्यम खाल(इन्टरमेडियट) कमर्सियल सवारी पनि नेपालमा भित्र्याउने सोँच बनाएका छौं ।

आइसीबी सेगमेन्टमा पनि हामीले आफ्ना उत्पादन नेपाली बजारमा चाँडै पठाएर सबै खाले कमर्सियल सावरी उपलब्ध गराउने योजना बनाएका छौं । आइसीबीको उपलब्धता हाम्रा लागि र नेपाली बजारका लागि पनि नयाँ अध्याय हुनेछ ।

कति मूल्य देखि कतिसम्मका कमर्सियल सवारी नेपाली बजारमा उपलब्ध छन् ?

हामीले करिब ८ लाख मूल्यका कमर्सियल उत्पादन देखि ६३ लाख मूल्यसम्मका कमर्सियल उत्पादन नेपाली बजारमा उपलब्ध गराएका छौँ । जितो, टिपर, ट्याक्टर टेलर्स, माक्सीमो, लोडकिङ, बस लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

नेपाली उपभोक्ताका लागि कुनै बिशेष योजना छन् कि ?

उपभोक्ताका लागि कस्तो योजना ल्याउँदा फाइदा हुन्छ भनेर दुगड ग्रुपले हेरिरहेको हुन्छ । मूल्यमा छुट दिने, स्पयेर्स पार्टस्, मर्मत सम्भारका सुबिधाहरुलाई आवश्यकता अनुसार ल्याउने गरेका छौं । मुलतः हाम्रा उत्पादनहरुले उपभोक्तालाई अधिकतम लाभ दिनुपर्छ भन्ने मान्यता छ ।

महिन्द्राको विश्व व्यापार सञ्जाल र हिस्सा कस्तो छ ?

महिन्द्रा ग्रुप १९४५ मा स्थापना भएको हो । यो विविधिकरण भएको औद्योगिक समूह हो । ११५ भन्दा बढि देशमा हाम्रो व्यवसाय विस्तार भएको छ ।

महिन्द्रा ग्रुपको मुल व्यवसाय भनेको अटोमोबाइल्स नै हो । ट्रक, बस, टिपर, ट्याक्टर, टु ह्विलर, थ्री ह्विलर, कमर्सियल सवारी, एसयुभी लगायतका सबै खाले सवारी साधन उत्पादन गर्छाै । हामी ट्याक्टरमा विश्वकै एक नम्बर कम्पनी हौं । हामीसँग टेक महिन्द्रा नामको आइटी कम्पनी पनि छ । सोलार, जलविद्युत उत्पादक कम्पनी पनि छन् । पूर्वाधार निर्माण कम्पनी लगायतका कम्पनी पनि छन् ।

हामी अटोबोमाइल मात्रै ६० वटा देशमा निर्यात गर्छाै । युरोप, अमेरिकामा अटोमोबाइल निर्यात गरिरहेका छौं । अमेरिकामा भर्खरै मात्रै एसेम्बल प्लान्ट राखेका छौं ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्षको नाताले नेपाली उपभोक्तालाई सन्देश के छ ?

नेपालका उपभोक्ताहरु ग्लोबल ब्राण्ड छान्ने सुबिधामा छन् । तर उनीहरुले महिन्द्रा एण्ड महिन्द्रालाई आफ्नो रोजाईमा पारेका छन् । यो हाम्रो ब्राण्डप्रति नेपालीहरुको विश्वास हो । हामी यो विश्वासलाई अझै मजबुत बनाउन चाहान्छौं । महिन्द्राका उत्पादनहरु प्रयोग गरेर नेपालीहरुले आफ्नो व्यवसायलाई बढाउन सक्छन् । महिन्द्रालाई नेपालीहरुले गरेको मायाले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । हामी गुणस्तर, मूल्य, उपयोगीता जस्ता कुरामा थप जिम्मेवार भएर अघि बढ्नेछौं । नेपालीहरुको यो माया अझै निरन्तर रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.