सन् २०१८ मै नरेन्द्र मोदी र सि जिनपिङ दुबै नेपालमा

  २०७४ चैत ३ गते १३:२९     विकासन्युज

 

काठमाडौं, ३ चैत्र । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्र्तराष्ट्रिय भ्रमणहरु हुने बताएका छन् । उनले भने,‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चीनीयाँ राष्ट्रपति सि जिनपिङपनि आउनुहुन्छ, त्यसैगरि नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने स्पष्ट पारे । उनले भने,‘सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसावले पनि सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’

उनले सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने विश्वास दिलाए । उनले भने,‘हामी अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं, गृहकार्यहरु भैरहेका छन्, दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ ।’ हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाई थियो । त्यसैगरि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं ।’

‘पहिला कुन देश जाने भन्नेबारे अहिले एकिन भैसकेको छैन, भारतबाट पनि हुनसक्छ, यसबारेमा हामीले छलफल सुरु गरेका छौं, चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित भएको छैन्।’ उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए ।

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिईसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो । उनले भने,‘त्यही कुरामा टेकेर हामी पनि सम्बन्ध नयाँ उचाईमा पुर्याउँछौं, यो बीचमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, हामी गृहकार्यमा जुटिसकेका छौं।’ ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुनसक्ने संकेत गरेका छन् ।

त्यस्तै उनले चीनबाट पनि उच्चस्तरीय भ्रमण हुनेमा आफू पूर्ण आशावादी रहेको र सोही अनुसार अब गृहकार्य अघि बढाउने स्पष्ट पारे । उनले भने,‘चीनको राष्ट्रपतिसँग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.