नेपालमा बन्यो विश्वभरका स्टील उद्योगका लागि उपयोगी ‘ह्याण्डलिङ एण्ड डिस्प्याच’ मेसिन, तत्काल नेपाललार्इ ४५ कराेड बचत

  २०७४ फागुन २७ गते १३:४१     विकासन्युज

काठमाडौं । काठमाडौं स्टील प्राइभेट लिमिटेडले रड उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि विकास गरेको छ । यस्तो प्रविधि पहिलो पटक नेपालमा विकास भएकोले यस प्रविधिमा आधारित मेसिन बनाएर विश्व बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले विकसित नयाँ प्रविधिको पेटेन्ट राईट नेपाल र भारतमा दर्ता गराई सकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेलले बताए ।

यस प्रविधिमा आधारित मेसिनको प्रयोगसँगै दैनिक १३० जना मानिसले गर्ने काम ४ जनाले गर्न सक्ने उनले बताए । नेपालको १६ वटा स्टील उद्योगले यो मेसिन प्रयोग गर्दा ५ हजार मजदुर कटौति हुने उनले जानकारी दिए ।

‘हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन’ उनले भने–‘प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो रकम अब नेपालमा बचत हुन्छ ।’

‘हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ’ उनले भने ।

यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ ।

‘५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं’ उनले भने ।

मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त पोखरेलको भनाई छ । ‘डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो । यो समस्या अव हुँदैन’ उनले भने ।

स्टील उद्योगमा कामदार नपाउने समस्या नेपालमा जस्तै भारत र अन्य देशमा पनि रहेको बताईएको छ । ‘हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए ।’ उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’

यो मेसिन अरु देशलाई बनाउन अधिकार नदिने, नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने कम्पनीको योजना छ ।
तत्काल नेपाल बनेको मेसिन भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइनामा निर्यात गर्ने योजना बनाएको उनले बताए ।

२०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । यस कम्पनीले ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्दै आएको छ । यस कम्पनीले उत्पादन गरेको रड जहाँ काटेर पनि त्यसमा जोड्न सकिने र जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो भएको कम्पनीको सीईओ पोखरेल बताउँछन् । कप्लर प्रयोग गरि सजिलै जोडिने भएकोले यस आवश्यक अनुसार काट्न सकिने र कुनै पनि टुक्रा खेरा नजाने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.