बर्सेनी १०/१२ प्रकारका नयाँ औषधीको उत्पादन थाल्छौं-डा. रोभसकुसम सुवेदी

  २०७४ फागुन १८ गते ११:२८     विकासन्युज

डा. रोभसकुसम सुवेदीले दक्षिण कोरियाको चोसन युनिभर्सीटीबाट पीएचडी र पोष्ट डक्टरेट फेलेशिपसम्मको अध्ययन पुरा गरेका छन् । यसअघि उनले काठमाडौं विश्वविद्यालयबाट एम फार्म सम्मको अध्ययन पुरा गरेका थिए । उनी नेपाल औषधी लिमिटेडको महाप्रबन्धक हुनुअघि निजी औषधी उद्योगमा कार्यरत थिए । खुल्ला प्रतिस्पर्धाद्वारा सरकारले उनलाई उद्योगको महाप्रबन्धक बनाएको हो । उनीसँग औषधी क्षेत्रमा एक दशक काम गरेको अनुभव छ । नेपाल औषधीले जीवनजलका अतिरिक्त सिटामोल पनि उत्पादन थालेको छ । प्रस्तुत छ उद्योगको हालको अवस्था चुनौति र भावी योजनाको बारेमा डा. सुवेदीसंग विकासन्युजका लागि पृथराज थेगिमले गरेको कुराकानी :

डा. रोभसकुसम सुवेदी, महाप्रबन्धक, नेपाल औषधी लिमिटेड

नेपाल औषधी उद्योगले अहिले के  के उत्पादन गरिरहेको छ ?

उद्योगले आफुलाई रिभाइभ गरिरहेको छ । विगतमा प्राविधिक तथा व्यवस्थापन लगायतका कारणले उद्योग कमजोर भएको जगजाहेर छ । यसलाई तङ्ग्रीन केही समय लाग्छ । अहिले उद्योग सकरात्मक रुपमा अघि बढिरहेको छ । हालसम्म सबै कुरा सिस्टमेटीक भइसकेको छैन । सबै युनिटहरु फुलफेजमा सञ्चलानमा आएका छैनन् । उद्योगले सबैभन्दा पहिला जीवनजलको उत्पादन सुरु गर्याे । त्यसलगत्तै विभिन्न औषधी बिक्रेताहरुले जीवनजलको माग गरे । उत्पादनको तुलनामा कैँयौं गुणा बढी औषधीको माग भएको छ । हामीले माग अनुसार पुर्याउन सकेका छैनौ । कम्तीमा ९ लाख ट्याबलेट सिटामोलको उत्पादन नगरी बजारमा जादैँनौ । दुई हप्ताभित्र सिटामोल बजारमा बिक्रीको लागि लैजाने तयारी गरेका छौं ।

उद्योगले अहिले दैनिक एक ब्याच अर्थात ३ लाख २० हजार संख्यामा सिटामोल ट्याबलेट उत्पादन गरिरहेको छ । त्यस्तै विगतदेखि नै उत्पादन गरिरहेको जीवनजल दैनिक ५ हजार प्याकेट उत्पादन भइरहेको छ । अहिले हाम्रो स्टकमा करिब ५०/६० हजार प्याकेट जीवनजल छन् । फागुन ९ गतेदेखि सिटामोलको परीक्षण उत्पादन सुरु भएको छ ।

उत्पादन मापदण्ड पुरा गर्न नसकेर उद्योग बन्द भएको थियो । अहिले यसका लागि के कस्ता काम भइरहेका छन् ?

अहिले औषधीको मापदण्डलाई हेर्ने गुणस्तर शाखा खडा गरेका छौं । यसअघि यस्तो मापदण्ड हेर्ने विभाग थिएन । विभागले उद्योगमा भैइरहेको औषधीको गुणस्तर सही छ कि छैन अध्ययन गर्दछ । उत्पादनमा भएको विभिन्न क्रियाकलापले औषधीको गुणस्तरमा नकरात्मक असर गरेको छ, छैन जाँच गर्दछ । न्युनतम जोखिमको उत्पादन बजारमा लैजाने जिम्मेवारी सो विभागको रहेको छ ।

हाम्रो सिद्धान्त नै जीएमपी (कुशल उत्पादन प्रणाली)को मापदण्ड जाने हो । जसकारण बजारमा लैजाने हाम्रा औषधीहरु कमभन्दा कम जोखिमका हुन्छन् । जीएमपीलाई दुई लाईनमा भन्ने हो भने ‘इन्वील्ड क्वालीटी र रिक्स मिनिमाइजेशन’ सिद्वान्तमा आधारित हुन्छ ।

जीवनजलको उत्पादन सुरु भइरहँदा लगत्तै सिटामोलकोे उत्पादन पनि थाल्ने भनिएको थियो, एक वर्ष किन ढिलो भयो ?

मैले सिटामोल उत्पादनको लागि असोज १ गतेको डेटलाईन राखेको थिए । एकदमै टाइट क्याल्कुलेशन गरेर मैले उक्त डेटलाईनमा सिटामोलको उत्पादन गर्ने समय निर्धारण गरेको थिए । तर बीचमा भारतले जीएसटी लागु गर्याे। उक्त नयाँ प्रणालीको कारण त्यहाँका सप्लायर्सहरुले पनि बुझ्न सकेनन् । त्यस्तै अर्को मोदी सरकारले भारतमा नोटबन्दी गरिदियो । त्यसको प्रत्यक्ष असर उद्योगलाई पनि प¥यो जसले गर्दा डेटलाईनमा सिटामोलको उत्पादन गर्न नसकिएको हो । त्यतिखेर भारतबाट कच्चा पदार्थ मगाउन त सकिएन मूल्य पनि उनीहरुले पठाउन सकेनन् । निर्माण सामाग्रीहरु पनि भित्रिन सकेन । त्यो हाम्रो वसको कुरा थिएन ।

कति प्रतिशत कच्चा पदार्थ भारतबाट नेपाल आउछ ?

नेपालमा भारत, चीन, जापान, युरोप,जर्मनीबाट औषधीको कच्चा पदार्थ भित्रिने गरेको छ । जसमा भारतको मात्रै ९० प्रतिशत हिस्सा छ ।

उद्योगमा लगानी अवस्था कस्तो छ ?

१४ करोड ६५ लाख रुपैयाँ मध्ये पहिलो किस्ता ६ करोड ४८ लाख रुपैयाँ पाइसकेका छौं । दोस्रो किस्ताको लागि उद्योग मन्त्रालयमार्फत अर्थमन्त्रालयमा चिठ्ठी पठाइ सकिएको छ । त्यो प्रक्रियामा छ । निश्चित लगानी छ । उक्त लगानीले नै उद्योग कसरी अघि बढ्ने निर्धारण हुन्छ ।

उद्योगले आगामी दिनमा कस्ता औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ ?

अहिलेको हाम्रो क्षमता जीवनजल प्रतिवर्ष ४० लाख प्याकेट(स्याचेट) उत्पादन गर्ने हो । यस्तै सिटामोल ८ करोड ट्याबलेट उत्पादन गर्ने भएका छौ । सिटामोलको उत्पादान दोब्बर बढाएर १५ करोड ट्यावलेट पुर्याउन उपकरण थप्नुपर्छ । बजारमा माग बढ्यो भन्दैमा उत्पादन तुरुन्तै गरिहाल्न सक्ने अवस्थामा हामी छैनौं । एउटा मेसिन आज झिकायोे भने आइपुग्न ६ महिना लाग्छ । कच्चा पदार्थ डेढ महिना लाग्छ । थप बजेट आयो भने मेसिन मगाएर अर्को महिनादेखि ती औषधीहरु बनाउने तयारी गरेका छौं । त्यसको लागि कच्चापदार्थ र प्याकेजीङ मेसिनहरु ल्याउन पर्ने हुन्छ ।

अर्को जीवनजल र सिटामोलको माग यति बढी छ । त्यसलाई मात्र पूर्ति गर्न लाग्ने हो भने अन्य औषधीहरु उत्पादन गर्न भ्याउने अवस्था छैन । विगतमा हामीले हरेक महिना नयाँ औषधी बनाउने सोच गरेका थियौं । यसबीचमा स्वास्थ्य मन्त्रालयसँग कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको छ । आवश्यक सिटामोल र जीवनजललाई बढी परिमाणमा उत्पादन गर्ने हो कि नयाँ/नयाँ औषधी बनाउदै जाने हो छलफल भइरहेको छ । उद्योगले अहिले सरकारले निःशुल्क बाँड्ने भनेको ७० किसिमको औषधीलाई उत्पादनको प्राथमिकतामा राखेको छ । एकै पटकमै त्यतिका उत्पादन नहोला तर वर्षमा १०/१२ किसिमको औषधीहरु उत्पादन गर्न सकिन्छ ।

यही रफ्तारमा जाने हो भने अबको ५ वर्षमा उद्योग कहाँ पुग्छ ?

अहिले हामीले उद्योग सञ्चालनका लागि ५ वर्षे गुरुयोजना बनाएका छौं । जसमा शुन्यदेखि ६ महिनाको अबधिमा जीवनजल उत्पादन गर्ने थियो, यो एक वर्षदेखि सुरु भइसक्यो । २ वर्षको अबधिमा ट्याब्लेट भनेका थियौं त्यसको पनि उत्पादन सुरु भएको छ । ५ वर्षको अबधिमा लिक्वीड, क्याप्सुल, सलाईन लगायत उत्पादन गर्ने योजना छ ।

त्यसरी अघि बढे आगामी ३/४ वर्षमा फुलफेजमा उद्योगले उत्पादन गर्छ । अबको ५ वर्षमा ५०/६० प्रकारका औषधीहरुको उत्पादन गर्नेछ । यसअवधिमा उद्योगमा सम्पूर्ण कर्मचारीहरु व्यस्त रहनेछन् र सरकारले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधी उत्पादनमा उद्योगको महत्वपूर्ण सहयोग हुनेछ ।

निजी औषधी उद्योग पनि आक्रामक रुपमा आइरहेका बेला ती कम्पनीसंग उद्योगले कसरी प्रतिस्पर्धा गर्नेछ ?

अहिले नेपालमा ४०/४५ प्रतिशत औषधीको आयात हुने गरेको छ । वार्षिक अर्बौ रुपैयाँ बराबरको आयात गरिने औषधीलाई प्रतिस्थापन गर्न निजी क्षेत्र र सरकारी औषधी उद्योगहरु मिलेर अघि बढ्नु पर्छ । पछिल्लो समय आयातित औषधीमा केही समस्या पनि देखिएको छ ।

त्यस्तै सरकारले पनि केही सकरात्मक निर्णयहरु पास गरेका छन् । जसमा स्वदेशमै उत्पादन हुने औषधीको धेरै ब्राण्ड आयात गर्न नपाउने, विश्व व्यापार संगठन (डब्ल्युटीओ) को प्रमाणपत्र प्राप्त कम्पनीको मात्र औषधी आयात गर्नु पर्ने लगायत छन् । यसैलाई निरन्तरता दिएर अन्ततः मुलुकले आयातित औषधीहरुको प्रतिस्थापन गर्न आजको आवश्यकता हो । यद्यपि कतिपय स्वदेशमा बन्न नसक्ने औषधीहरु तथा ठूलो परिमाणमा उत्पादन गर्न नसकिने औषधीहरुलाई भने आयात गर्न सकिन्छ । अबको ५/१० वर्ष हामीले निर्यातलाई भन्दा पनि आयात घटाउनेतर्फ बल लगाउनु पर्ने देख्छु ।

उद्योग कहिलेदेखि नाफामा जान्छ ?

अहिले हामी मात्रै सस्टेन मात्र भएका छौं । आगामी ६/७ महिनाभित्र सेल्फ सफिसेन्ट हुन्छौ भन्ने लागेको छ । अहिले हामीले अर्थ मन्त्रालयसँग तलबको लागि पैसा मागिरहेका छौं । केही महिनापछि कर्मचारीलाई तलव खुवाउन आफै सक्षम हुन्छौं । ठूला औषधी उत्पादनका युनिट थप्न तथा ठूला मेसिनहरु किन्न परे यहाँका नाफाबाट नसकिएला तर, तलबै खानका लागि अबको ५/७ महिनादेखि अर्थको मुख ताक्न पर्दैन भन्ने मलाई लागेको छ । विकासको लागि ठूला खर्चहरु सरकारबाटै प्राप्त भए । यसरी नै उद्योग अघि बढे अबको एक वर्षपछि हामी नाफामा जान्छौं । नाफामा गएपछि ऋण तिर्न नसकिए पनि त्यसको ब्याजबाट ऋण घटाउने हाम्रो योजना छ ।

सरकारी उद्योगहरुमा राजनैतिक दवाव आउछ भन्छन् । तपाईलाई कतिको आएको छ ?

हाम्रो उद्योगमा पहिलोपटक मनोनित नगरी खुल्ला प्रतिस्पर्धाद्वारा मलाई नियुक्त गरिएको हो । मेरो नियुक्ती आउटपुटवेसमा भएको हो । उद्योग मन्त्रालयले मूल्याङकन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.