आपूर्तिमन्त्री यादवले सम्हाले पदभार, अनुशासन तोड्नेको लागि आफु खतरा भएको सुरुमै चेतावनी

  २०७४ फागुन १४ गते २३:१७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए ।

‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,’मन्त्री यादबले भने ‘अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौं।’

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे । संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने उनको भनाइ छ ।

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराएका थिए । एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उनीहरुको भनाइ छ ।

उनीहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताएका छन् ।

को हुन् मातृका यादव

विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनबाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विसं २०३६/०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बनेका थिए ।

विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बनेका उनी त्यसपछि भूमिगत जीवन बिताएका थिए । चौम चौथो महाधिवेशनका पोलिटब्यूरो सदस्य ‘पिबिएम’ समेत भएका थिए ।

जेल जीवन र लामो संघर्ष भोगेका उनी २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय भएका हुन् । २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बनेका थिए ।
पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भएका हुन् । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बनेका थिए ।

अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बन्नुभएका उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिनछन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.