मेची-महाकाली जोड्ने चौथो विकल्प: १२ सय किलोमिटरको चुरे राजमार्ग

  २०७४ फागुन १३ गते १२:०७     नारायण पौडेल

काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग बन्ने भएको छ । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ ।

सरकारले मेची-महाकली जोड्ने चौथो विकल्पका  चुरे राजमार्ग निर्माण गर्न लागेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरे राजमार्गबाट मेची महाकालीलाई जोडेर नयाँ लाइफलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागेका छौं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान चतरा गाइघाट सिन्धुली हेटौँडा सडकलाई नै चुरे राजमार्गका रुपमा विकास गर्न लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ ।

त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने ।

उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । मेची महाकाली जोड्ने १२ सय किलोमिटरको चुरे राजमार्गको काम अघि बढेको छ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.