दोस्रो पुस्ताको राडार आजदेखि सञ्चालनमा, हवाई सेवा सुरक्षित बनाउन एडिएसबी प्रविधि भित्र्याइँदै

  २०७४ माघ १८ गते १६:४२     रमेश लम्साल/सिबी अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार(आज)देखि दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार आज बिहान ६ः३० बजेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्राधिकरण, जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले यही माघ १० गते बुधबार प्राविधिक पक्षको स्थलगत अनुगमन गरी राडार सञ्चालनबारे जानकारी लिएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ ।

भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तरराष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको प्रवक्ता ठाकुरको भनाइ छ ।

विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने आजदेखि सञ्चालनमा आएको राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ । नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत रु एक अर्ब छ ।

आजदेखि सञ्चालनमा आएको राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिनेछ । “राडारको कामको सूक्ष्म अनुगमन पछि त्यसको प्रभावकारिता के कति रहेको छ भन्ने जानकारी दिइन्छ । पहिलो दिनमा नै हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भने।

नयाँ राडारबाट काठमाडौँदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने छ ।

राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ ।

नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभाग समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको स्पष्ट पारेका छन् । “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने ।

नेपालको पूर्वका सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाउन सकिने प्राधिकरणले बताएको छ । पुरानो राडारले करिब ११० किलोमिटर (६० एरोनटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटर (२५० एरोनटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी थाहापाउन सकिन्छ ।

निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ ।

एडिएसबी प्रविधि भित्र्याइँदै

नेपालको हवाई यातायातलाई भरपर्दो र सुरक्षित बनाउन प्राधिकरणले राडार प्रणालीलाई थप परिष्कृत गर्दै लैजाने सोचका साथ ‘स्वचालित निगरानी संयन्त्र’ (एडिएसबी) जडान गर्ने तयारी गरेको छ ।

सो प्रणाली काठमाडौं, ललितपुर, नेपालगञ्ज, भैरहवा र पोखरामा जडान गरिने प्राधिकरणका प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेपालको हवाई मार्ग निगरानीलाई थप परिष्कृत र भरपर्दो बनाउँदै लैजाने ध्येयका साथ पाँच स्थानमा नयाँ प्रविधि जडान गर्न लागिएको हो ।

विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाई एयरको जहाज रसुवाको घोप्टेभिरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.