५० जिल्लामा रेडक्रसको परियोजनागत स्वास्थ्य गतिविधि सञ्चालन, ४ लाख ६५ हजार लाभान्वित

  २०७४ माघ १७ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५० जिल्लामा नियमित तथा परियोजनागत स्वास्थ्य गतिविधिहरु सञ्चालन भएका छन् । उक्त गतिविधिबाट गएको एकबर्षमा ४ लाख ६५ हजार ८ सय ९४ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

मंगलबार चितवनमा सम्पन्न भएको नेरेसोमार्फत् सञ्चालन भएका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा गतिविधिहरुको २ दिने वार्षिक समीक्षा बैठकको क्रममा यो जानकारी दिइएको हो ।

समीक्षाको क्रममा नेरेसोबाट विभिन्न विपद् व्यवस्थापनको क्षेत्रमा सञ्चालित गतिविधिको बारेमा निर्देशक धर्मराज पाण्डेयले समग्र प्रस्तुती गर्दै देशका ३३ जिल्लाका ४४ वटा गाँउपालिका र ५१ वटा नगरपालिकामा विपद पूर्वतयारीका परियोजनाहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । त्यस्तै, एम्बुलेन्स, रक्तसञ्चार, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा देशका अधिकाँश क्षेत्रमा स्वास्थ्य गतिविधिहरु रेडक्रसले सञ्चालन भइरहेको स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले बताए ।

समीक्षा र योजनाको सिलसिलामा बिपद् तथा स्वास्थ्यक्षेत्रमा सञ्चालित विभिन्न परियोजनाहरुको छुट्टाछुट्टै सेसन र छलफल तथा ग्यालरी वाक मार्फत् जानकारी गराइ समुहगत छलफल गरिएको थियो ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले नेपालको प्रायजसो सवै खालका विपद् तथा स्वास्थ्य समस्यामा तत्काल सेवाको लागि रेडक्रसका स्वयँसेवकहरु अग्रपंतिमा रहीआएको बताए । उनले भने “विपद् व्यवस्थापनमा नेपाल सरकार लगायत सवै सरोकारवाला सँग सँगसँगै छ । अहिले मुलुकभर विशेष तालिमप्राप्त १४ हजार सातसय स्वयँसेवकहरु अग्रपँक्तिमा रही प्रथम रेस्पोन्डरको रुपमा कार्य गरिरहेका छन् र यसमा अझ क्षमता वढाइने छ ।”

समीक्षा कार्यक्रममा सरकारी निकाय, यूएन, विभिन्न देशका रेडक्रसका प्रतिनिधिहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति-आइसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ, नेरेसोको केन्द्रीय नेतृत्व, विभिन्न जिल्लाहरुका रेडक्रस शाखाहरुका प्रतिनिधि तथा कर्मचारीहरु गरी १४० जनाको सहभागिता रहेको थियो ।

नेरेसो स्वास्थ्य सम्बन्धी केन्द्रीय समितिका सभापति उत्तम जोशीले नेरेसोका महामन्त्री देवरत्न धाख्वाले जीवन रक्षा र स्वास्थ्य सुरक्षाको अवधारणाबाट नेरेसोका गतिविधिहरु सञ्चालन भइरहेको जानकारी दिएका छन् । नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले विपद व्यवस्थापन र स्वास्थ्य सेवा एक अर्काका परिपुरक हुन् र नेपाल सरकारले अघिल्लो महिना विपद व्यवस्थापनको लागि नयाँ ऐन ल्याएको र सो ऐनले रेडक्रस, मानवीय सँस्था लगायत निजी क्षेत्रको सहभागिता अपेक्षा गरेको बताएका छन् ।

उत्कृष्ट स्वयंसेवकलाई सम्मान

प्राथमिक उपचारलाई घरदैलोमा पुर्याउन सन् २०१७ मा सक्रिय रहेका स्वयंसेवक मध्ये चितवनका नीता ढकालले उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवक पुरस्कार प्राप्त गरेका छन् ।

सन् २०१८ को लागि प्राथमिकताः

बिपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवामा समुदायको क्षमता अभिबृद्धि हुने गतिविधिमा नै आगामी दिनको लागि पहिलो प्राथमिकता रहने बताइएको छ । बढ्दो शहरीकरण, बसाईँसराई र तापमान बृद्धिले ल्याएका र ल्याउन सक्ने विपद् र संकटलाई गतिविधिमार्फत् सम्बोधन गर्दै जाने, सरकार लगायत अन्य एजेन्सीहरुसँगको सहकार्य बढाउने, नगद सहयोगको क्षमता अभिबृद्धि गर्ने, समुदायमा अग्रपंतिमा काम गर्ने दक्ष जनशक्तिलाई क्षमतावान बनाउने र लाभान्वित वर्गको मर्यादा, पहुँच, सहभागिता र सुरक्षा अभिबृद्धि गर्ने आगामी वर्षको प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले सामुदायिक एकिकृत स्वास्थ्य कार्यक्रम, आपत्कालीन तथा सामान्य अवस्थामा स्वास्थ्य पूर्वाधार विकास तथा नेरेसोको स्वास्थ्य सेवा सञ्चालनमा क्षमता अभिबृद्धितर्फ सन् २०१८ का स्वास्थ्य क्षेत्रका गतिविधि लक्षित हुने बताएको छ । साथै, सडक शुरक्षा, स्वास्थ्य चेतना जस्ता विषय आगामी दिनमा रेडक्रसका मूल गतिविधिकै रुपमा अगाडि बढाइने सहमति गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.