अधिकांश बैंकले राष्ट्र बैंकको पैसा लिएनन्, २० अर्ब दिदा ७ बैंकले लिए ८ अर्ब ४० करोड

  २०७४ माघ १५ गते १२:१२     विकासन्युज

काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएर बजारमा हस्तक्षेप गरेको थियो ।

आइतबारसम्म बैंकिङ प्रणालीमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आइतबार राष्ट्र बैंकबाट सिटिजन्स बैंक, मेगा बैंक, कैलाश विकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत ब्याजमा १४ दिनका लागि पैसा उठाएका छन् ।

रिपोको पैसा निक्षेपमा गणना गरेर थप लगानी गर्न नपाउने भएपछि अधिकाँश बैंकले लिएन । तरलताको अवस्था कसिलो भएका कही बैंकले मात्र रिपो खरिद गरेका हुन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ ।

अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाएको हो । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।

चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ ।

वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने  बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.