एनआईसी एसिया बैंककाे निक्षेप ४१ अर्ब र कर्जा ३५ अर्बले वृद्धि

  २०७४ माघ १५ गते १०:०४     विकासन्युज

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर छ ।

कर्जा लगानी पनि एक वर्षमा ३५ अर्बले वृद्धि गरी १ खर्ब २ अर्ब रूपैयाँ बनाएको छ । यो वृद्धिलाई बैंकले ‘नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि’ भनेको छ । धेरै बैंकहरूले निक्षेप र कर्जा लगानी विस्तार गर्न नसकिरहेको समयमा यस बैंकले उच्च दरको वृद्धि हासिल गरेको छ ।

बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ । जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमा भित्र रहेको छ ।

बैंकको खुद नाफामा भने गिरावट देखिएको छ । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जम्मा ५७ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७२ करोड १४ लाख रुपैंयाँ कमाएको थियो ।

गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट ३२ करोड ८३ लाख रुपैयाँ फिर्ता भएकोले खुद नाफामा बढी योगदान गरेको बैंकले जनाएको छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ ।

बैंकको सञ्चालन नाफामा भने २५ प्रतिशतले वृद्धि देखिएको छ । ‘चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–बैंकले गतवर्षको सोही अवधिको ८९ करोड सञ्चालन नाफा आर्जन गरेकोमा चालु वर्ष ११२ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।’

सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको नाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूतिप्रति बिम्बित गर्दछ ।

चालु आ.व. मा बैंकको सञ्चालन नाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोडको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ ।

बंैकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ ।

बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागिनिरन्तर प्रयासरत रहेको बैंक व्यवस्थापनले जनाएको छ ।

बैंकको प्रति सेयर आम्दानी १४.२४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३३.०७ रुपैंयाँ रहेको छ । बैंकको सिडी रेसियो भने ७८.१९ प्रतिशत पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.