वार्षिक २८ प्रतिशत खुदनाफा बढाउने लुम्बिनी विकास बैैंकको योजना, ३ वर्षमा ८६ करोड ६८ लाख पुग्ने

  २०७४ पुष २५ गते १२:०५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैैंकले वार्षिक २८ प्रतिशतले खुदनाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा खुदनाफा बढाएर लगानीकर्तालाई बढी प्रतिफल दिने योजना बनाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा खुदनाफा हालको भन्दा ८४ प्रतिशत बढाएर ८६ करोड ६८ लाख रुपैयाँ पुर्याउने बैंकको योजना छ ।

बैंकले गत आवमा १६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले चालु आवमा खुदनाफा बढाएर ५२ करोड ५० लाख, आगामी आवमा ६३ करोड ५४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । लुम्बिनीले हकप्रद सेयर निष्कासनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले ३ वर्षका वित्तीय विवरण यस्तो प्रक्षेपण गरेको हो ।

 

नाफामा भएको वृद्धिसंगै बैंकले आउदो ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ३४ रुपैयाँ पुर्याउने लक्ष्य तय गरेको छ । गत आवमा २३ रुपैयाँ रहेको ईपीएसलाई आगामी ०७६/०७७ मा बढाएर ३४ रुपैयाँ पुर्याउने भएको हो । सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको वर्षेनी ईपीएस बढ्दै जाने देखाएको छ । चालु आवमा बैंकको इीपीए २०, ०७५/०७६ मा २५ रुपैयाँ पुर्याउने लक्ष्य छ ।

आउदो ३ वर्षमा बैंकले निक्षेप दोब्बर बढाएर ३५ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप परिचालन १७ अर्ब ९२ करोड रुपैयाँ थियो । चालु आवमा निक्षेप बढेर २२ अर्ब ७६ करोड ८१ लाख र आगामी आवमा २८ अर्ब ८६ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ ।

३ वर्षमा चुक्तापुँजी २ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ । जगेडा कोषको आकार बढेर ९५ करोड ६७ लाख रुपैयाँ पुग्ने बैंकको अनुमान छ । भिवोर विकास बैंक र लुम्बिनी लिजिङ एन्ड फाइनान्स लिमिटेड एकआपसमा गाभिएर लुम्बिनीका नाममका हालै मात्र कारोबार भएको हो ।

बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको छ । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ ।

हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.