उद्योगी भन्छन : कच्चापदार्थ, इन्धन भाउ र ढुवानी भाडा बढ्दा सिमेन्ट महंगियो

  २०७४ पुष २५ गते ९:२३     विकासन्युज

काठमाडौं । कच्चा पदार्थ, बिजुली, इन्धन र ढुवानी भाडा बढेपछि उत्पादन लागत थप हुदा  सिमेन्टको भाउ बढेको उद्योगीले बताएका छन् ।

एक महिना अघिदेखि नै भारतबाट आयात हुदै आएको कच्चा पदार्थ क्लिंकर, फलाइ एस र जिप्सनको मूल्यमा भारी वृद्धि भएपछि नेपालमा सिमेन्टको भाउ बढेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

महिना दिनभित्र डिजेल प्रतिलिटर ५, बिजुली प्रतियुनिट ५ रुपैयाँ २० पैसाबाट बढाएर ८ रुपैयाँ ४० पैसा, भारतबाट कच्चा पदार्थ ढुवानी गर्दा ३ दिन लाग्दा डिटेन्सन चार्ज २ हजारबाट बढेर ५ हजार भारु पुगेको संघले दावी गरेको छ ।

यस्तै भारतमै कच्चा पदार्थ क्लिंकरको मूल्य २ हजार ३ सयबाट ३ हजार २ सय भारु, सिमेन्ट बनाउन आवश्यक पर्ने फलाइ एस प्रति टन १ हजार ६ सयबाट बढेर २ हजार ३ सय भारु पुगेको संघको भनाई छ । जिप्समा प्रतिटन १ हजार ५ सय भारु, ढुवानी भाडा १ हजार ८ सयबाट २ हजार ५ सय भारु, भारतका ठुला कारखानामा पेट्रो कोकमा वातावरण प्रदुषणका कारण रोक लगाइएकाले मिनरल कोइला प्रयोग गर्दा क्लिंकरको उत्पादन लागत बढेको संघको भनाई छ ।

यस्तै नेपालमा ढुवानी भाडा बढ्दा यसको असर उत्पादन लागतमा परेको संघले जानकारी दिएको छ । सिमेन्टको भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपेको छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २० देखि ३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ ।

जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताउछन् । मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २० देखि ३० रुपैयाँको दरले बढीरहेको उनको भनाई छ ।
अहिले ओपीसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ८५० र पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशतसम्म बढेदा यसको असर उद्योगमा परेको पाठकको भनाई छ ।

युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्के्टिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.