सिमेन्टको भाउ नौं सय नाँघ्यो, रडको भाउ पनि बढ्दै

  २०७४ पुष २० गते १८:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सिमेन्ट र रडको भाउ बढेको छ ।

भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपिदिएको छ । सिमेन्ट उद्योगी तथा व्यवसायीहरुले भारतबाट भित्रिने सिमेन्टको कच्चा पदार्थकाे भाउ बढेकोले सिमेन्टको मूल्य बढेको बताएका छन् । उपभोक्तावादीहरुले भने, भुकम्प पीडितहरुको भवन पुनर्निर्माण कार्यलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा उद्योगी व्यवसायीहरुले अत्यावश्यक सिमेन्ट तथा रडको मूल्य बढाएको आरोप लगाएका छन् । अहिले पुनर्निर्माण कार्य चलिरहेको समयमा सिमेन्ट र रडको भाउ बढ्नाले मुख्यगरी भुकम्प पीडितहरुको ढाड सेकिएकोे छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २०/३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ ।

जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २०/३० रुपैयाँको दरले बढीरहेको छ,’ उनले भने ‘पछिल्लो समय बोरामा (५० किलो) ३० रुपैयाँ बढेको छ ।’ उद्योगमा अहिले ओपीसी सिमेन्टको मूल्य ८५० छ भने, पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । उनका अनुसार ८/९ वर्षको अबधिमा अहिले सिमेन्टको भाउ सबैभन्दा महङ्गो भएको छ । ‘अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशत बढेको छ’, उनले थपे ‘उद्योगहरुमा कच्चा पदार्थको अभाव छ । रक्सौलबाट आउन सकेको छैन । उद्योगहरुबीच कच्चापदार्थ तानातानको अबस्थामा छ ।’

त्यस्तै ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए ।

यद्यपी राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिनाले भुकम्प पीडितका घरहरुको पुनर्निर्माण गर्न पर्ने हालको अवस्थामा उद्योगीहरुले पीडितलाई लक्षित गरेर बढी नाफा कमाउने दाउमा जताभावी उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट तथा रडको भाउ बढाएको आरोप लगाए । ‘हप्ता दश दिनमा सिमेन्ट र रडको मूल्य २ देखि ३ सय रुपैयाँसम्म बढेको छ,’ उनले भने ‘कुनै पनि वहानामा उद्योगी व्यवसयीहरुले त्यसरी मूल्य बढाउन पाउदैनन् ।’ पछिल्लो समय बढेको सिमेन्ट र रडको भाउले सरकारको लाचारीपन प्रष्ट देखिएको उनको बुझाइ छ । आपूर्ति मन्त्रालयले ती निर्माण समाग्रीहरुको मूल्य नियमन् गर्न पर्ने माग उनको छ । सरकारले मूल्य बढ्नको बास्तविकता पत्ता लागाई भुकम्प पीडितहरुलाई राहत प्रदान गर्न पर्ने उपभोक्तावादीहरुको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.