वैशाखमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

  २०७४ पुष १८ गते १३:४१     विकासन्युज

काठमाडौं । आगामी वैशाख तेस्रो साता ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सव आयोजना गर्न लागेको हो ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा रहेको महोत्सव वैशाख १४ देखि १८ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ ।

आयोजकले मेलाको माध्यमबाट लघु, घेरेलु तथा साना उद्योग सम्बन्धमा ज्ञान, सीप आदान प्रदान हुने बताएको छ । महासंघले विगतदेखि नै राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । यसअघि १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिसकेको छ । गत वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरेको हो ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता हुने जनाइएको छ ।

२५० वटा स्टल रहने भनिएको सो महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको प्रत्यक्ष कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

त्यस्तै, महोत्सवमा लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.