मौरीपालक गणेशको वार्षिक आम्दानी छ लाख

  २०७४ पुष १४ गते १६:५०     विनोदसिंह विष्ट 

लेकम, दार्चुला । पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक  छ लाख रूपैयाँ भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

कक्षा ३ सम्म मात्रै अध्ययन गरेका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बनेका छन् ।

स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खोज्नेहरुले गणेशबाट सिक्नुपर्छ । पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा मौरीपालन शुरु गर्नुभएका उहाँले यसै व्यवसायबाट ८ जनाको परिवार सजिलैसँगै पालिरहेका छन् ।

रिड्स नेपाल नामक संस्थाले शुरुमा २ घार मौरीे उपलब्ध गराएको थियो । त्यही २ घार मौरीबाट गणेशले ३०० घार मौरी बनाए। अहिले भने उनीसँग ५० घार मात्रै छ ।

उनले भने– “३०० घार बनाएको भए पनि अरु घार बिक्री गरें । अब ५० घार बाँकी हुन ।” सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले यहाँ मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उनकाे भनाइ छ ।

कक्षा ३ सम्म मात्रै पढेका गणेशले स्वदेशमै श्रम बेचेर आफ्नो घरधन्दा चलाइरहेका छन् । “छोराछोरीको पढाइ गर्न कुनै समस्या छैन,” उनले भने– “घरधन्दा चलाउन कसैसँग मुख जोड्नुपरेको छैन ।”

वार्षिक ५० घार जति बिक्री गर्ने गरेको र चार क्विन्टल मह बिक्री गर्ने गरेको उनले बताए । स्थानीय बजारमा मह प्रतिकिलो  ८०० रूपैयाँका दरले बिक्री हुने गरेको छ । उहाँले भने– “मौरीसहितको घार बिक्री गर्दा प्रति घार ८ हजार रूपैयाँ प्राप्त हुन्छ ।” मौरीपालन व्यवसायबाट उनकाे वार्षिक ६ लाख रूपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ ।

मौरीपालन गर्दा शुरुमा केही अप्ठेरो आएको भए पनि अहिले आएर कुनै समस्या नभएको अनुभव सुनाउछन । हाल रहेका ५० घार मौरीबाट अबको केही दिनभित्रै २०० घार बनाउने उनकाे लक्ष्य छ । आउँदो वर्षमा पाँच क्विन्टल मह बिक्री गर्ने सोच बनाएका ४४ वर्षीय गणेशले मौरी पाल्ने मोह नै आफूमा रहेको बताउछन। उनले भने – “व्यवसाय गर्न उमेर र पढाइ नभएर रोकिँदैन । काम गर्ने इच्छा हुनुपर्छ जाँगर आफैँ आउँछ ।”

मह बिक्री गर्न कुनै समस्या छैन । घरमै मह किन्न ग्राहक आउछन। “दार्चुला, बैतडी, डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतबाट समेत मह किन्न ग्राहक आउने गरेका छन् । मौरी एक उपयोगी किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुयाएको हुन्छ ।

थोरै लगानीमा वर्षभरि आम्दानी हुने भएपछि यहाँका अरु कृषक पनि मौरीमा लगानी गर्न हौसिएको उहाँले बताउनुभयो । मौरी पाल्न खासै अध्ययन आवश्यक नपर्ने उनकाे अनुभव छ । एकान्त ठाउँ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरीको बारी आवश्यक हुन्छ । । मौरीले बिरुवाको परागसेचनमा सहयोग पुयाउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ ।

मौरीपालनसँगै गणेशले तरकारी खेती र बाख्रापालन समेत गरेका छन। बाख्रापालन र तरकारी खेतीबाट समेत उनले थप आम्दानी गरिरहेका छन । तरकारी खेतीबाट पनि मात्रै उहाँले वार्षिक  ३ लाख कमाउछन भने बाख्रापालनबाट वार्षिक २ लाख रूपैयाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.