बल्ल ताते बैंकर, गभर्नरसँग छलफल सकेर अर्थमन्त्रालय पुग्दै

  २०७४ पुष १३ गते १६:५८     नारायण पौडेल

काठमाडौं । बजारमा लगानी योग्य पुँजीको चरम अभाव सृजना भएपछि बैंकरहरुको दौडधुप सुरु भएको छ । बिहिबार नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगाना र र पुर्व अध्यक्ष राजनसिंह भण्डारी लगायतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग छलफल गरेका छन् उनीहरू भाेली शुक्रबार अर्थ मन्त्रालय जाँदैछन् । ‘लगानी योग्य पुँजीको अभाव देखिन थालेपछि सम्भावित जोखिमको समाधान कसरी गर्ने भन्नेबारे गभर्नर सापसँग छलफल गरेका हौं, शुक्रबार अर्थमा छलफल गर्दैछौं’, बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विकासन्युजसँग भने ।

हाल बजारमा ३४ अर्बको मात्रै  लगानी गर्नका लागि थप तरलता छ । बाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो)  ७६ पुगिसकेकाले ८० पुग्ने जोखिम बढेको छ । ‘सिसिडी रेसियो औषतमा ७६ पुगेको छ, अब ८० पुग्ने जोखिम बढेको छ, त्यसले पनि हामीलाई सचेत हुन दबाव दिएको छ ।’, ढुंगानाले भने । भेटमा गभर्नर डा. नेपालले कर्जा लगानी अनावश्यक रुपमा बढाएकाले लगानी योग्य पुँजीको अभाव देखिएको भन्दै बैंकरहरुलाई सचेत बन्न भनेका थिए ।

हाल बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर १२.२५ प्रतिशत पुर्याईसकेका छन् । यसले पनि बजारमा लगानी योग्य पुँजी अभाव रहेको स्पष्ट पारिसकेको छ । चालु आवको पहिलो चार महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढाएको देखिन्छ । कात्तिकसम्ममा निक्षेप जम्मा १४.५ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले कर्जा भने १७.५ प्रतिशतले वृद्धि गरेका थिए । सामान्यतया कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर केहि बढि हुनुपर्ने मान्यता रहिआएको छ ।

पुँजीगत खर्चको निकासा आरम्भ भएको र निर्वाचनमा खर्च गरिएको रकम वित्तिय प्रणालीमा आउने समय हुनै लागेकाले पनि लगानी योग्य पुँजीको अभाव चाँडै हट्ने विश्वासमा आफुहरु रहेको ढुंगानाले बताए ।

उता, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि बजारमा लगानी योग्य पुँजीको अभाव देखिएको बताउँदै त्यसको समाधानका लागि केन्द्रिय बैंकले उचित कदम चाल्ने बताए ।

‘बैंकहरुले निक्षेप भन्दा कर्जा धेरै प्रवाह गरेको देखियो, सिसिडी रेसियो नाघ्ने अवस्था आईसकेको देखेका छौं, केन्द्रिय बैंक सम्भावित जोखिम न्युनिकरणका लागि सचेत भैसकेको छ’, सहायक प्रवक्ता पण्डितले भने ।

पुसभित्र सरकारले अर्बौ रुपैयाँ कर संकलन गर्दै छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब रुपैयाँ वचतमा छ । पुसको राजश्व थप हुदा ढुकुटीमा अझै अर्बौ रुपैयाँ थपिने र बैंकिङ प्रणालीमा लगानी गर्न थप पुँजीको अभाव चर्किने संभावना देखिएको छ ।

केही वाणिज्य बैंकसंग लगानीयोग्य पुँजी नभएपछि नेपाल राष्ट्र बैंकले बैंकको ऋणपत्र खरिद गरेर बजारमा पैसा पठाउने भएको छ । राष्ट्र बैंकले आउदो आइतबार बैंकसंग भएका विकास ऋणपत्र खरिद गरेर ५अर्ब रुपैयाँ बजारमा पैसा पठाउन लागेको हो । ऋणपत्र धितो राखेर लिने विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.