अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकासः पूर्व प्रधानमन्त्री ओली

  २०७४ पुष २ गते १६:०१     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने भन्दै उनले स्वदेशमै धेरै रोजगारीको सिर्जना गरेर युवाहरूको विदेश पलायनलाई रोक्न प्राथमिकताका साथ लैजाने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारी एवं कार्यसमितिको टोलीसँग ओली निवास बालकोटमा आइतबार कुरा गर्दै ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न नै केन्द्रित रहँदै, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिएर अगाडि बढ्ने बताएका छन् ।

सियो धागोदेखि चामल र तरकारी/फलफुलमा समेत विदेशीको भर पर्नुपर्ने अवस्थाबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिंदै उनले देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए ।

देशभित्रै उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री ओलीले एकआध वस्तुबाहेक धेरै कुरामा आत्मनिर्भर हुनसक्ने प्राकृतिक स्रोत साधन हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

प्राकृतिक रूपमा धनी नेपालीले आफुसँग भएको प्राकृतिक धनको सदुपयोग गर्दै कुनै बेला हरेक वस्तुमा आत्मनिर्भर रहेकोमा अहिले परनिर्भर बनेको टिप्पणी गर्दै उनले भने –‘कुनै समय हाम्रो अर्थतन्त्र पुरै आत्मनिर्भर थियो । कुनै पनि वस्तु आयात गर्नुपर्दैनथ्यो । तर त्यो स्वाट्टै आयातमुखी सजिलो बाटोतर्फ जाँदा अहिलेको चरम परनिर्भरताको अवस्था सिर्जना भयो ।’ केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको बताए ।

मुलुकमा सबैखाले उद्योग, कृषि, व्यापार, तथा सबैखाले सेवा क्षेत्रलाई आजको विज्ञान प्रविधि र उन्नत चेतनाबाट तीब्र विकास गर्न प्रतिबद्ध रहने बताउँदै ओलीले सानो उद्योगले मुलुकलाई अग्रगामी दिशातर्फ लैजान सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने भनाइ राखेका छन् ।

सरकार सडक बनाउने, उद्योगधन्दाको विकास गर्ने, रोजगारी बढाउने, अन्य पूर्वाधारको विकास गर्ने र देशलाई उन्नत बनाउने अभियानमा आफु लाग्ने भन्दै उनले देशको विकास उन्नत र प्रगतिका लागि स्वदेशी उद्योग र उत्पादनलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न साना तथा घरेलु उद्यमी व्यवसायीलाई उनको सुझाव थियो । आफ्नै कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिन भन्दै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको दोहोर्याउँदै पूर्व प्रधानमन्त्री ओलीले साना तथा घरेलु उद्योगी÷व्यवसायीले आर्थिक लाभसँगै मुलुकको आत्मनिर्भरतातिर लाग्न आग्रह गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताएका छन् ।

लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उनले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने बताएका छन् ।

विगतमा सम्पन्न स्थानीय तहको निर्वाचन र हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पश्चात संविधानले परिकल्पना गरेको तीन तहको सरकारको व्यवस्थापन अब पूर्णतः कार्यान्वयनमा आउने विश्वास रहेको महासंघका अध्यक्ष गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.