आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता, भारतबाट पैसा पठाउन सहज

  २०७४ मंसिर २६ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् ।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताएका छन्’ । प्रवन्ध निर्देशक हेमराज ढकालले यस सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने बताएका छन् ।

त्यस्तै, मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले यस सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.