डव्लुटियोको ११ औ मन्त्रीस्तरीय सम्मेलन अर्जेन्टिनामा

  २०७४ मंसिर १२ गते १७:४९     विकासन्युज

काठमाडौं । विश्व व्यापार संगठन(डव्लुटियो)को ११ औ मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा हुने भएको छ । डव्लुटियोको सदस्य भएका देशहरुको सहभागितामा प्रत्येक दुई/दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलन तीन दिनसम्म अर्जेन्टिनामा हुन लागेको हो । सदस्य राष्ट्र नेपालले विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेण्डाबारे छलफल गर्न मंगलबार राजधानीमा पुर्व तयारी गोष्ठीको आयोजना गरेको छ ।

बाणिज्य मन्त्रालयको आयोजना र  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको छलफलमा नेपाल जस्ता भुपरिवेष्ठित अति कम विकसित राष्ट्र (एलडीसी) का आयात, निर्यातका अवस्था, सम्भावना, चुनौतीबारे छलफल भएको थियो । छलफलका अधिकांश वक्ताले अति कम विकसित राष्ट्रहरुसँग समन्वय र लविङ गरेर साझा एजेण्डा कार्यान्वयन गर्न र निर्यातमूखी अर्थतन्त्रमा केन्द्रित भई अघि बढ्न सुझाव दिएका थिए ।

व्यापार सहजीकरण सम्झौता, इ–कमर्श लगायतमा नेपालले आफ्नो अडान राख्दै उत्पादनलाई वृद्धि गर्नका लागि आवाज उठाउन तथा विगतमा भएका सम्झौताका आधारमा नेपालले पाएको सुविधाको उपयोगका लागि कार्यान्वयन योग्य स्वदेशी योजना र कार्यक्रम गर्न वाणिज्य मन्त्रालयलाई सुुझाव दिएका थिए ।

विशेष गरी सम्मेलनमा ई कर्मश, व्यापार सहजीकरण कार्यान्वय, लगानी, डिउटी फ्रि, भन्सार अवरोध जस्ता कुरालाई एजेन्डाका रुपमा राखिएको छ । व्यापार विज्ञ एंव पुर्व सचिव पुरुषोतम ओझाले डव्लुटियोको सदस्यपछि नेपालले गरेको प्रतिवद्धता  कार्यान्वयनमा ल्याउन नसकेको बताए । डव्लुटियो विश्व व्यापारको नियमन बनाउने संस्था भएकाले त्यसबाट नेपालले कसरी सुविधा लिन सकिने कुरामा छलफल गर्न अति आवश्यक रहेको उनको भनाई थियो ।

विश्व बजारमा व्यापार विस्तार गर्नका लागि उत्पादन र उत्पादक्त्वमा जोड दिइनुपर्ने बताउँदै उनले स्वदेशी सामान निर्यात गर्दा भन्सारमा देखिएका अवरोध हटाउदै जानुपर्ने बताए । “डव्लुटियोबाट भूपरिवेष्टित मुलुक नेपालले पाउने सुविधा लिन सकेको छैन, व्यापार विज्ञ ओझाले भने“विगतमा गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा जानुपर्छ ।” नेपाललाई सामान निर्यात गर्नका लागि डिउटी फ्रि र कोटा फ्रि सुविधा भएपनि भन्सार अवरोधले गर्दा सामान निर्यात गर्न धेरै समस्या हुने गरेको उनले बताए । पछिल्लो दुई दशकमा नेपालको व्यापार घाटा भयावह अवस्थामा पुगेकाले निर्यात बढाएर व्यापार घाटा कम गर्न अति आवश्यक रहेको उनको भनाई छ ।

अर्थविज्ञ विज्ञ डा पोषराज पाण्डेले डव्लुटियोको आगामी डिसेम्बरमा हुन लागेको ११ औ मन्त्रीस्तरीय सम्मेलनमा नेपालको व्यापारलाई कसरी विस्तार गर्ने विषयमा जोड दिइनुपर्ने बताए । यस अघिको सम्मेलनमा व्यापार प्रवद्र्धनका लागि नेपालले पाएका सुविधा कार्यान्वयनमा लैजानपर्नेमा उनले जोड दिए । निर्यात बढाउने काम बाणिज्य मन्त्रालयको मात्र नभएर यसको लागि सम्बन्धित निकायको सहभागिता अपरिहार्य रहेको भन्दै पाण्डेले गुणस्तरीय उत्पादनको निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने बताए । नेपालले अमेरिकामा सामान निर्यातको लागि पाएको भन्सार छुट सुविधा पुर्णरुपमा उपभोग गर्न नसकेको भन्दै उनले निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

यस अघि भएको दोहा राउन्डले कृषिजन्य वस्तु निर्यातमा  अनुदान, घरेलु उत्पादनमा अनुदान दिने, भन्सार अवरोध हटाउने भनेपनि अझै सहमतिमा पुग्ने नसकेको उनको भनाई छ ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले डव्लुटियोको सदस्य बनेपछि नेपाललाई के फाइदा र के बेफाइदा भयो भनेर सरोकारवाल निकायबीच छलफल गर्न अति जरुरी रहेको बताए । चरम राजनीति, बन्द हडतात, ऊर्जा अभाव लगायतका कारणले विश्वमा प्रतिष्पर्धा गर्ने सामानको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसक्दा मुुलुकको व्यापार घाटा बढ्दै गएको उनको भनाई छ । “डूव्लुटियोको सदस्य भएपनि विश्वबजारको जुनसुकै ठाउँमा पनि व्यापार गर्न पाइने भनिएपनि मुलुकमा भएको राजनीति अस्थिरताले निर्यात बढाउन सकिएन,”उनले भने“ छिमेकी मुलुकमा उद्योग क्षेत्रमा सवै किसिमका सुविधा भएपनि नेपालमा नहुँदा निर्यात बढाउन सकिएको छैन ।” व्यापार घटाउनका लागि उद्योगको पुर्वाधार विकास गर्नका लागि डव्लुटियोले  कसरी सहयोग गर्न सक्छ भनेर सम्झौता गर्न जरुरी रहेको उनको भनाई छ ।

बाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले डव्लुटियोको सदस्य भएकाले नेपालले किन सुविधा लिन सक्यो सकेन भनेर छलफल गर्न जरुरी रहेको बताए । मुलुकको व्यापार घाटा कम गर्नका लागि नेपालले भएका भन्सार छुट सुविधा प्रयोग गरेर जतिसक्दो निर्यात बढाउन अति आवश्यक रहेको उनले बताए । एक दशक अघि देखि मुलुकको व्यापार घाटा ओरालो लागिरहेकाले पनि यसलाई कसरी कम गर्ने भन्ने विषयमा विशेष जोडदिनुपर्ने उनको भनाई छ । आगामी डिसेम्बरमा हुन लागेको सम्मेलन तिन दिन सम्म हुने छ ।

नेपाल सन् २००४मा डव्लुटियोको सदस्य भएको थियो । विभिन्न १६४ देश डव्लुटियोको सदस्य बनेका छन । डव्लुटियोको सदस्य भएका देशले विश्वबजारमा व्यापार गर्न खुल्ला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.