मंसिर २६ देखि चेमेलिया आयोजनाबाट बिजुली उत्पादन हुदै, बिहीबारदेखि प्रसारणलाइन चार्ज सुरु

  २०७४ मंसिर ४ गते ११:०२     विकासन्युज

काठमाडौं । चमेलिया जलविद्युत आयोजनाबाट मंसिर २६ गतेदेखि बिजुली उत्पादन सुरु हुने भएको छ । नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण भएको आयोजनाको काम सम्पन्न भएको छ ।

आयोजनाबाट आउदो मंसिर २६ गते मंगलबारदेखि ३० मेगावाट बिजुली उत्पादन हुने भएको हो । काम सम्पन्न भई हाल परीक्षणको काम भइरहेको आयोजना प्रमुख अजय दाहालले बताए ।उनले आउदो बिहीबारदेखि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया १३२ केभी प्रसारणलाइनबाट सवस्टेशनसम्म बिजुली चार्ज सुरु हुने जानकारी दिए । यो सफल भएपछि मंसिर २६ गतेदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने छ ।

चमेलिया अर्धजलासययुक्त (पिकिङ रन अफ दी रिभर) प्रकृतिको आयोजना हो । सुख्खायाममा पनि साँझ ६ घण्टा ३० मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सवस्टेशनमा बिजुली जोडिने छ । सुदुरपश्चिममा नेपाली आयोजनाबाट बिजुली आपूर्ति हुने छ ।

सुदुरपश्चिमका लागि विद्युत प्राधिकरणले भारतको टनकपुरबाट ३० मेगावाट बिजुली आयात गरिरहेको छ । चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ । निर्धारित समय भन्दा ६ वर्ष ढिला र काम सुरु गरेको १० वर्षपछि आयोजना सम्पन्न भएको छ । चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ ।

निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ । गत असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो ।

ठेकेदारसँगको समझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ । इलेक्ट्रोमेकानिकल उपकरणमा कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण सहयोग छ ।

चालु आर्थिक वर्षमा सार्वजनिक र निजी लगानीमा मात्रै साढे २ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । २ सय मेगावाट निजी क्षेत्र र बाँकी सार्वजनिक क्षेत्रबाट बिजुली थप हुने प्राधिकरणले जनाएको छ । असोजसम्म प्रणालीमा १० मेगावाट बिजुली थप भइसकेको छ ।
गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.