पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज खरिद अर्डर, एयरबस बोइङ भन्दा अगाडि

  २०७४ मंसिर ४ गते ८:४७     विकासन्युज

दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन ।

प्रत्येक दुई/दुई वर्षमा आयोजना हुँदै आएको दुबई एयर सो आयोजकका अनुसार सन् २०१५ को दाँजोमा यसपालि कारोबारसँगै दर्शक पनि २० प्रतिशतले बढेर ७९ हजार तीन सय ८० जना पुगेका छन्।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पाँच दिनसम्ममा ६२ अर्ब ५० करोड डलरमा पाँच सय ३५ थान जहाज जहाज बेच्न विभिन्न वायुसेवासँग सम्झौता गरेको छ । यसमा एयरबसको प्रतिस्पर्धी अमेरिकी जहाज निर्माता कम्पनी बोइङ थोरै परिमाणले पछाडि परेको छ । बोइङले भने पाँच दिनभित्र विभिन्न कम्पनीलाई ५० अर्ब डलरमा दुई सय ९६ थान जहाज बेच्ने सम्झौता गरेको छ।

एयरबसले भारतको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स इन्डिगोसँग ४९ अर्ब ५० करोड डलरबराबरको जहाज खरिद अर्डर सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एयरबसले इन्डिगोलाई ‘ए३२० निओ’ सिरिजका चार सय ३० थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्।

त्यसैगरी बोइङले पनि एयर सोको अन्तिम दिनसम्ममा दुबईको बजेट एयरलाइन्स फ्लाई दुबईसँग २७ अर्ब डलरबराबरको जहाज खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बोइङले फ्लाई दुबईलाई ‘बि७३७ म्याक्स’ सिरिजका दुई सय २५ थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्।

‘दुबई एयर सोको १६औं संस्करण सन् २०१९ मा हुने छ । युएईको इमिरेट्स एयरलाइनले १६ अर्ब डलरमा ‘बि७८७–१०’ सिरिजका ४० थान जहाज खरिद सम्झौता गरेको छ । यो सम्झौताअनुसार पहिलो जहाज सन् २०२२ मा आपूर्ति हुने छ । इमिरेट्स एयरबसको सबैभन्दा धेरै यात्रु बोक्ने ‘ए३८०’ र बोइङको सबैभन्दा धेरै यात्रु बोक्ने ‘बि७७७’ सिरिजका जहाज धेरै सञ्चालन गर्ने संसारकै एकमात्र वायुसेवा कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.