एनआईसी एशिया बैंकमा झै स्वीफ्ट सर्भर ह्याक जुनसुकै बैंकमा हुनसक्छ-लक्ष्मण रिसाल

  २०७४ कार्तिक १९ गते १२:२७     विकासन्युज

लक्ष्मण रिसाल-प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक लिमिटेड

एनआईसी एशियाको स्वीफ्ट सर्भर ह्याक र पैसा चोरी भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पायो । तर बैंकले औपचारिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया जनाएन नि, किन ?

यो विषयमा हाल अनुसन्धान भईरहेको छ । विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ । अझै एक÷दुई हप्तापछि मात्र वास्तविक रिपोर्ट आउने विज्ञहरुले बताउनु भएको छ । कसरी र कहाँबाट भयो ? भन्ने विषय बस्तुपरक तथ्य विज्ञहरुको अनुसन्धान रिपोर्टमा आएपछि मात्र बैंकले बोल्न उपयुक्त हुन्छ । अनुसन्धान भईरहेको विषयमा बैंकले अहिले नै बोल्न उपयक्त हुन्न भन्ने हाम्रो धारणा हो ।

तर समयमा नै थाहा पाएर तत्काल एक्सन लियौं । त्यसैले भुक्तानीका अर्डरहरु मध्ये अधिकांशलाई रोक्न वा पैसा फिर्ता गराउन हामी सफल भएका छौं ।

ह्याकरले कति रकम निकाल्ने प्रयास गरेको रहेछ ? कति रकम चोरी भयो ?

त्यसमा ३१ वटा एटेम्ट (प्रयास) भएको देखिन्छ । ९ वटा प्रयासलाई हाम्रो आफ्नै सफ्टवेयरले रोकेको छ । २२ वटा भुक्तानी अर्डर नै भएको देखिन्छ । २२ वटामध्ये १२ वटा अर्डर रोक्न हामी सफल भएका छौं । दुई वटाको भुक्तानी भईसकेको पनि फिर्ता भयो । बाँकी अर्डरबाट भुक्तानी भएको करिव ६ करोड रुपैयाँ छ त्यो रकम पनि फिर्ता गराउने प्रयास जारी छ ।

ह्याकरले गरेको ३१ वटा प्रयास कहाँबाट भएको देखिन्छ ?

बैंकभन्दा बाहिरबाट भएको छ । कुन ठाउँबाट भयो भन्ने विषयमा विज्ञहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको छ ।

३१ वटा भुक्तानी अर्डरबाट कति रकम भुक्तानी चोरी गर्ने खोजिएको रहेछ ?

करिव ४६ करोड रुपैयाँको अर्डर भएको रहेछ । यो फिगर हामीले राष्ट्र बैंकलाई दिएका थियौं, राष्ट्र बैंक मार्फत पत्रपत्रिकामा प्रकाशित नै भएको छ । हाम्रो सफटवेयरले ९ वटा अर्डर रोक्दा १२ करोड रुपैयाँ रोकियो । ३४ करोड रुपैयाँ भुक्तानी अर्डर बाहिर गएकोमा करिव २८ करोड रुपैयाँ भुक्तानी रोक्न हामी सफल भयौं । मोटामोटी ६ करोड जति बाँकी छ । केही फिर्ता प्रक्रियामा छ ।

कति रकम गुम्ने नै भयो ?

यति नै भन्न सकिने अवस्था छैन । ६ करोड भुक्तानी भईसकेको देखिएको छ । त्यो रकम पनि फिर्ता गराउने प्रयास हुनेछ ।

ह्याकरले स्वीफ्ट सर्भर अक्रमण गरेको र पैसा चोरी भईरहेको जानकारी बैंकले कसरी जानकारी पायो ?

लक्ष्मी पूजाको दिनको कुरा हो । सार्वजनिक विदा भए पनि बैंकको केही अर्जेन्ट (जरुरी) भुक्तानी गर्नु पर्ने भएकोले साथीहरु बैंकमा आउनु भएको थियो ।

त्यतिबेला स्वीफ्ट सर्भर चलेन । हेर्दै गर्दा सर्भर क्र्यास गराइएको भेटियो । त्यसपछि स्वीफ्ट सर्भरको सर्पोट लियौं र अर्को सर्भरमा रिस्टोर गर्यौं । रिस्टोर भएपछि हेर्दा शंकास्पद कारोबार देखियो । हामीलाई नै शंकास्पद लागेपछि अनुसन्धान शुरु भएको हो ।

स्वीफ्ट सर्भर कसरी ह्याक गरियो ? प्रारम्भिक जानकारीहरु के छन् ?

यूजर नेम र पासपोर्ट चोरी भएको देखिएको छ । त्यो पनि मालवेयरबाट चोरी भएको देखिन्छ । त्यो भनेको ह्याकरले कुनै इमेल पठाउँछ, त्यो इमेल खोल्ने बित्तिकै यताको सूचनाहरु अटोमेटिक उता जाने हुँदो रहेछ । त्यसमा शंका छ । बास्तविक कुरा त अनुसन्धान रिर्पोटमा आउला ।

पासपोर्ट चारी हुनुमा बैंकका कर्मचारीको संलग्नता देखिन्छ कि देखिन्न ?

यो विषयमा अहिलेसम्म कुनै रिपोर्ट आएको छैन ।

यो घट्नाबाट बैंकले के सिक्यो ?

सिक्ने कुरा धेरै छन् । एनआईसी एशियामा जुन घट्ना भयो त्यो नेपालका र संसारका कुनै पनि बैंकमा हुन सक्ने घट्ना हो । एनआईसी एशियामा भएको एक हप्तापछि ताईवानमा पनि यस्तै घट्ना भयो ।

सूचना प्रविधि अर्थात आईटीको प्रयोग हामी सबै गर्छौ तर यसको जोखिमबारे, डिजिटल डाटाको सुरक्षाको बारेमा हामी जति होसियार, चनाखो हुनु पर्नेमा त्यति भएका छैनौं ।

जस्तै हामी अपरिचित इमेल नखोल्न, डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन भनेका थियौं । तै पनि अपरिचित इमेल खोलिने, हेरिने हुँदो रहेछ । इमेल पनि एक दमै जेन्युअन खालका देखिन्छ तर त्यो मालवेयर हुनसक्छ । यसमा हामी थप चनालो हुनुपर्ने देखियो ।

आईटी सेक्यूरिटीलाई अपग्रेड गर्दै जानु पर्ने देखिन्छ । सिस्टमलाई बलियो बनाउँदै जाने हो । फूल प्रुफ सिस्टम त कही पनि हुँदैन ।

यस्तो जोखिमकाे बीमा भएको हुन्छ ?

नेपालमा यस्तो जोखिमको बीमा उपलब्ध छैन ।

स्वीफ्ट सर्भर ह्याकपछि बैकिङ क्षेत्र त्रसित र चिन्तित पनि देखियो । यो घट्नापछि सरोकार निकायबाट कस्तो सहयोग तथा प्रतिकिया पाउनु भयो ?

खासगरी नेपाल राष्ट्र बैंकबाट ठूलो सहयोग पायौं । विदाको दिन, राती पनि राष्ट्र बैंकको टिमबाट अत्यन्तै राम्रो सहयोग पायौं । भईसकेका अडरहरुको भुक्तानी रोक्न पनि राष्ट्र बैंकको महत्वपूर्ण सहयोग रह्यो ।

अहिले बैंकका सबै सेवा नियमित भएका छन् वा गडबढी बाँकी नै छ ?

सबै सेवा नियमित भएको छ । शुरुमा हामीलाई पनि ठूलो डर थियो । जोखिम पनि ठूलो देखियो । जब जोखिम एउटा साईजमा आयो तब हामी सहज रुपमा बैंक चलाउने अवस्थामा फर्कियौं ।

बैंकको असोज मसान्तमा रिपोर्ट कस्तो आयो ?

गएको त्रैमासमा बैंकको निक्षेप र कर्जाको वृद्धिदर राम्रो छ । निक्षेप १ खर्ब ४ अर्ब र कर्जा लगानी साढे ८८ अर्ब रुपैयाँ भएको छ । पछिल्लो तीन महिनामा निक्षेप १६ अर्ब रुपैयाँ वृद्धि भएको छ । कर्जा करिव १५ अर्ब रुपैयाँ बढेको छ । खुद नाफा पौनै २८ करोड रुपैयाँ भएको छ । नाफा गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा करिव १ करोड मात्र बढी देखिन्छ । यसका कारण के हो भने गत आर्थिक वर्षको अन्तिम तीन महिनामा र चालु आर्थिक वर्षमा हामीले धेरै स्थानमा नयाँ शाखाहरु विस्तार गर्यौ । त्यसमा खर्च धेरै भएको छ । नयाँ शाखाहरुले नाफा दिन करिब ६ महिना लाग्ने भएकोले नयाँ शाखा विस्तारले हाम्रो निक्षेप र कर्जा विस्तार उल्लेख्य भएको छ तर नाफामा वृद्धि कम देखिएको छ । एनआईसीको शाखा संख्या १३४ पुगेको छ । यस वर्ष पनि शाखा विस्तार गर्दै छौं । खराब कर्जा अनुपात (एनपीए) पनि घट्दै गएको छ । समग्रमा बैंकले उत्साहपूर्वक प्रगति गरिरहेको छ ।

एनआईसी एशिया बैंक निकै आक्रामक देखिएको छ, तपाईको रणनीति के हो ?

हामी नयाँ तरिकाबाट अघि बढिरहेका छौं । संस्थागत निक्षेप प्रतिको निभरर्ता घटाउने र साना निक्षेपको कम्पोनेन्ट बढाउने रणनीतिमा छौं । त्यस्तै कर्जामा पनि साना तथा मझ्यौला कर्जाको हिस्सा बढाउने र कर्पोरेट कर्जाको हिस्सा घटाउने हाम्रो रणनीति हो । सोही रणनीतिअनुसार शाखा विस्तारलाई जोड दिएको छौं । सन् २०२० सम्म ३०० शाखाहरु खोल्ने भन्ने हाम्रो पाँच वर्षे योजना हो । हामी सोही अनुसार काम गरिरहेका छौं ।

शाखा विस्तार सँगै ती शाखाहरुको काम मनिटर तथा कन्ट्रोल गर्नको लागि क्षेत्रीय कार्यालयहरु खोलेका छौं । लोकल लेबलको कन्ट्रोल र सपोर्ट रिजनल अफिसले गर्छ । शाखाहरुको साईट भिजिट, अडिट, कन्ट्रोल, सपोर्ट सबै काम क्षेत्रीय कार्यालयबाट हुन्छ । धेरै शाखा भए, सिईओले ती सबै शाखाहरु कसरी हेर्छ भनेर मानिसहरुले प्रश्न गर्छन । छिमेकी देशमा एउटै बैंकको ६/८ हजार शाखाहरु छन् । त्यहाँ कसरी काम भएको छ ? हामीले हेर्नु र सिक्नुपर्छ । आलोचना गरेर मात्र हुँदैन । हामीले सेवा विस्तारसँगै जोखिम न्यूनकरण गर्नको लागि आवश्यक संरचनाहरु बनाएको छौं । त्यसतर्फ हामीले धेरै लगानी गरेको छौं । आन्तरिक लेखा प्रणालीलाई निकै बलियो बनाएका छौं । हरेक शाखा खोलेको ३ महिनामा लेखापरीक्षण हुन्छ । फेरी ६ महिनामा लेखापरिक्षण हुन्छ । दुई पटकको लेखापरिक्षण रिपोर्टका आधारमा ६/६ महिनामा वा हरेक वर्ष लेखापरीक्षण हुन्छ ।

सीईओको तहबाट मैले ३/४ जनासँग रिपोटिङ लिईरहेको हुन्छु । जो–जोसँग मैले रिपोर्टिङ लिन्छु, ती साथीहरुले ८/९ जनासँग रिपोटिङ लिनुहुन्छ । त्यस्तै ती ८/९ जनाले फेरी १५/१६ जनासँग रिपोट लिनुहुन्छ । त्यो हिसावले संरचना बनाएको छौं ।

एनआईसी एशियाले पटक पटक रोजगारी खुलाउदै आएको देखिन्छ । अरु बैंकबाट पनि धेरै कर्मचारी यस बैंकमा आएको भन्ने सुनिएको पछि छ, बैंकमा कर्मचारीको टर्नओभर बढी भएकाे हो ?

शाखा विस्तार गर्दा नयाँ कर्मचारी चाहिन्छ । एउटा शाखा खोल्दा ५/६ जना कर्मचारी चाहिन्छ । १० वटा शाखा खोल्दा ५० जना चाहियो । त्यसलाई मोनिटरिङ गर्न केन्द्रमा वा क्षेत्रमा ५/६ जना चाहियो । त्यो हिसावले मान्छे चाहिन्छ, अझ धेरै शाखा विस्तार गर्दै छौं, थप मान्छे चाहिन्छ ।

स्टाफ टर्नओभर त सबै बैंकमा बढी नै छ । दुई/चार वटा पुराना बैंकमा मात्र टर्नओभर कम देखिन्छ । अर्को ख्याल गर्नु पर्ने पक्ष के हो भने १२/१५ प्रतिशत कर्मचारी टर्नअभोर हुनु संस्थाको लागि पनि राम्रो मानिन्छ । त्यसले नयाँ सोच र जाँगर भएका मान्छेलाई कम्पनी भित्र्याउने अवसर दिन्छ । हाम्रो बैंकमा करिव १७०० कर्मचारी छन् । यो संस्थामा वर्षमा १०० जना कर्मचारीले छोडे वा त्यसको सट्टामा बैंकले अरु संस्थाबाट नयाँ सोच र जाँगर भएका कर्मचारी आए भने त्यसले संस्थालाई फाइदा नै पुग्छ ।

बैंकमा कर्मचारी मात्र अस्थिर छैनन् । बैंकले ग्राहकलाई दिने सेवा पनि धेरै अस्थीर छ । निक्षेप वा कर्जाको ब्याज पनि निकै अस्थिर छ । बैंकहरु अल्पाकालिन सोचमा हिडेको, त्रैमासिक रिपोर्ट कसरी राम्रो बनाउने भन्ने होडमा हिडेकोले यस्तो समस्या आएको हो ?

हामीकहाँ प्रक्षेपण,अनुमान र ट्रेन एनलाईसिस गरेर काम गर्ने संस्कृतिको कमी छ । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् र चर्को प्रतिस्पर्धा हुँदा तत्कालिन फाइदा हुने निर्णय हुने गरेका छन् । त्यसको असर कर्मचारीमा पनि परेको छ, ग्राहकको सेवामा पनि परेको छ ।

जीडीपीको करिव २२ प्रतिशत राजश्व सरकारले संकलन गर्छ । सानो अर्थतन्त्र भएको देशमा जीडीपीको २२ प्रतिशत सरकारी राजश्व संकलन हुनु भनेको अर्थतन्त्रमा सरकारी खर्चको प्रभाव पनि ठूलो हुनु हो । सरकारीले राजश्व संकलन जसरी नियमित रुपमा गरेको देखिन्छ, खर्च त्यसरी नै नियमित भएको छैन । त्यसको असर बैकिङ तरलता र व्याजदरमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । ऐतिहासिक तथ्याङ्कहरुको आधारमा भविष्यबारे प्रक्षेपण गरिन्छ । तर सरकारी खर्चमा भएको अस्थिरताले र अर्थतन्त्रले लिने फरक ट्रेनले पनि हाम्रो प्रक्षेपणहरु फेल खाईरहेका छन् । एनआईसी एशिया अल्पकालिन सोचमा चलेको छैन, हामी पाँच वर्षे रणनीतिका साथ काम गरिरहेका छौं ।

पाँच वर्षे रणनीति र योजनाअनुसार काम भएको छन् भन्नु भयो, दीर्घकालिन सोचकोे रिफ्लेक्सन कहाँ देखिएको छ ?

दीर्घकालिन सोच, योजना, रणनीतिको रिफ्लेक्सन हाम्रो शाखा विस्तारमा देखिएको छ, बैंकको वासलातमा देखिएको छ, वासलातको कम्पोनेन्टमा देखिएको छ । डिजिटल बैकिङ सेवामा रिप्लेक्सन देखिएको छ । पाँच वर्षे रणनीतिक योजनाका आधारमा हाम्रा वार्षिक कार्यक्रमहरु बनेका छन् । वाह्य कारणका कारण समय सापेक्ष नीति पनि लिनु परेको छ ।

निक्षेप र कर्जाको ब्याजदर घट्न थालेको हो ?

मुद्दती निक्षेप ब्याज घट्न थालेको छ । तर बचत खाताको ब्याज घटेको छैन । बैंकहरुको आधार दर अझै उच्च रहेकोले कर्जाको ब्याज घट्न सकेको छैन । गत वर्ष बैंकहरुले पुस र माघमा उच्च ब्याजदरमा धेरै निक्षेप मुद्दतीमा लिएका छन् । त्यो निक्षेप परिपक्व हुन अझै ३/४ महिना लाग्छ । चैत मसान्तपछि मात्र बैंकहरुको बेसरेट घट्ने र त्यसपछि कर्जाको ब्याजदर घट्ने सम्भावना हुन्छ ।

केन्द्र र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचित भईसकेकोले स्थानीय तहमा गएको बजेट समयमा नै खर्च हुने आशा गरिएको छ । निर्वाचनमा राम्रै खर्च भयो र स्थानीय बजेट खर्च भयो भने निक्षेपमा पनि वृद्धि हुन्छ, कर्जा लगानी पनि विस्तार हुन सक्छ ।

तर राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क उत्साह जनक छैन । आयात बढेको छ । निर्यात वृद्धि हुन सकेको छैन । रेमिट्यान्स आम्दानी पनि घट्न थालेको छ । प्रत्यक्ष विदेशी लगानी तथा दातृ निकायले दिने अनुदानमा पनि उत्साहजनक वृद्धि छैन । शोधानान्तर ऋणात्मक भएको छ । निक्षेप वृद्धिको लागि आवश्यक स्रोतहरु सुक्दै गएका छन् ।

गत वर्ष निक्षेपमा ब्याजदर वृद्धि हुँदा धेरै बचतकर्ताले लाभ पाए । तर बैंकका ऋणिलाई कर्जाको ब्याजदरले धेरै गाह्रो पनि बनायो । केही बैंकले आफ्ना ऋणिलाई ब्याज ७ बाट बढाएर ८ प्रतिशत बनाए भने केहीले ऋणीको ब्याज ७ बाट बढाएर १४÷१५ बनाए । यस्तो किन भयो ?
७ को ८ मात्र बनाएको भन्ने कुरा नहोला । सबै बैंकहरुको पुँजिगत लागत बढेकै देखिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च नै सबैको बढेको देखिन्छ । यसको अर्थ बैंकहरुले निक्षेप ब्याजमा बढेको भार सबै ऋणिलाई पासअन गरेका छैनन्, बैंकमा पनि राखेका छन् भन्ने देखिन्छ । समग्रमा बैंकहरुले ऋणिलाई सहुलियत नदिएका होइनन् र ?

एनआईसी एशियाले नयाँ ग्राहकलाई होम लोन १०.८ प्रतिशतमा दिइरहेको छ, बेसरेट १०.७ प्रतिशत छ । यसमा बैंकलाई कति फाइदा छ ?
बेसरेट भनेको लागतमा करिव ३ प्रतिशत स्प्रेड जोडिएर आएको हुन्छ । अर्थात हामीले अहिले ल्याएको होम स्कीममा करिव ३ प्रतिशत स्प्रेडदर छ । होम लोन भनेको निकै सुरक्षीत कर्जा हो । हामीले रिटेल बैंकिङको हिस्सा बढाउने र कर्जाको जोखिम कम गर्ने रणनीतिमा यो प्रडक्ट तयार गरेका हौं । जहाँ जोखिम कम छ त्यहाँ कम मार्जिनमा काम गर्ने बैंकको नीति पनि हो ।

नयाँ ग्राहकलाई १०.८ प्रतिशत ब्याजमा कर्जा दिँदा पुराना ग्राहकको व्याजदर कति छ ?

अहिले कर्जाको व्याजदर बेसरेटमा लिङ गरिएको छ । बेसरेट घट्दै जाँदा पुराना ग्राहकको पनि ब्याजदर घट्दै जानेछ । जोखिम बढी भएको प्रडक्टमा ब्याज बढी हुन्छ । जुनसुकै बैंकले पनि क्रेडिट कार्डमा बढी ब्याज लिन्छ ।

बैंकले आगामी दिन सेयरधनीलाई कति सम्म लाभांश दिन सक्छ ?

पहिला जस्तो उच्च दरमा लाभांश पाउने सम्भावना त सकियो नै भन्छु म । विगतमा बैंकहरुले दिएको बोनस सेयर र हकप्रद सेयरले सेयरधनीलाई लगानी विस्तारको अवसर दियो । अब त्यो अबसर छैन । बैंकहरुको सेयर मूल्यले पनि त्यो संकेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.