प्रभु इन्स्योरेन्सले १९ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी एक अर्ब नाघ्ने

  २०७४ असोज ३० गते १२:५०     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले १९.२० प्रतिशत बोनस सेयर पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको पुँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । १९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ । बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ४६ प्रतिशत हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रद सेयर पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २१ गते हुने भएको छ । सो प्रयोजनको लागि आगामी कात्तिक ७ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.