युनाईटेड इन्स्योरेन्सका सेयरधनीले २२ प्रतिशत लगानी गुमाए, नेप्से ८ अंकले बढ्दा युनाईटेडले २५ रुपैयाँले गुमायाे

  २०७४ असोज ९ गते १७:४८     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले तीन महिनाको अन्तरालमा प्रतिसेयर करिब चार सय रुपैयाँ गुमाएका छन् । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको थियो । सोमबार यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा कारोबार भयो ।

यस कम्पनीका लगानीकर्ताले ३ महिनामा २२ प्रतिशतभन्दा बढी गुमाई सकेका छन् । यस कम्पनीको सेयर मूल्य अझै घट्ने संकेत देखिएको छ । सोमबार नेप्से परिसूचक ८.५२ अंकले वृद्धि हुँदा युनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेको छ ।

यस कम्पनीको प्रवद्र्धक चौधरी ग्रुपमा अन्तरगत रहेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि उक्त कम्पनीले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको छ । तर रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिँदा कम्पनीको वित्तीय अवस्था नराम्ररी विग्रिएको छ ।

यस कम्पनीले २०७३ असार मसान्तमा अपरिकृत प्रतिवेदन प्रकाशित गर्दा सो आर्थिक वर्षमा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा भएको र जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ रहेको देखाएको थियो ।

तर पुर्नबीमाबाट भुक्तानी नआएपछि बीमा समितिको निर्देशन अनुसार ४४ करोड ९६ लाख ५८ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।  कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पठाएको आर्थिक प्रतिवेदनमा कम्पनी २५ करोड रुपैयाँ नोक्सानमा गएको उल्लेख छ ।
२०७३ असार मसान्तसम्ममा यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हो । कम्पनीको नोक्सानी चुक्ता पुँजीभन्दा बढी देखिएकोले यस कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७२/७३ नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर सेयर मूल्य १६६६ रुपैयाँ पुर्याउन मद्दत गरेको थियो । तर बीमा समितिले सो कम्पनीको आर्थिक प्रतिवेदन अस्वीकृत गर्दै करिव ४५ करोड रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनीले प्रस्ताव गरेको बोनस सेयर पनि रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.