हिमालयन बैंकको ‘इ कमर्स पेमेन्ट गेटवे सेवा’ सुरु, विद्युतीय प्रणाली मार्फत खरीद र बिक्री

  २०७४ भदौ २६ गते १९:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । बैंकले ग्राहकका लागि अनलाईनमार्फत वस्तु तथा सेवा प्रदान गर्न डेबिट तथा क्रेडिट कार्डको व्यवस्था गरेको छ ।

बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक टु सि टु पि थाइल्यान्ड सँगको सहकार्यमा शुरु गरेको हो । यो संस्करणमा अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको बैंकले जानकारी दिएको छ ।

नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो जसले व्यवसाय गर्ने प्रविधमै क्रान्ति ल्याएको बैंकको दाबी छ । यसमा ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ ।

बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स आदि ले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हुँदा यस प्रणालीमा रही डेबिट तथा क्रेडिट कार्ड मार्फत गरिने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुने बैंकले बताएको छ । इ कमर्स गेट वे तथा कार्ड प्रविधिमा बैंकद्वारा प्रयुक्त यस प्रकारको उच्चतम सुरक्षा प्रविधिले गर्दा व्यापारी तथा ग्राहक दुवैलाई उच्च सुरक्षाको अनुभूति गराउनेछ ।

बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यवसायीमाझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा नेपाल सरकारलाई सन् २०१५ को भूकम्पपछि प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशहरुवाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवा मार्फत संकलन भएको थियो । उक्त समय करीव ९३ हजार पाँच सय अमेरिकी डलर एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.