साना लगानीकर्ताले बैंकबाट सेयर कर्जा पाएनन्, ब्याज दर घटेर १० प्रतिशत

  २०७४ भदौ २५ गते १०:४५     बाबुराम खड्का

काठमाडौं । बैंकले धमाधम सेयर कर्जा खुला गरेपनि साना लगानीकर्ता भने ऋण पाउनबाट बञ्चित भएका छन् ।  बैंकहरुले १० लाख रुपैयाँ भन्दा कम सेयरमा लगानी नगर्ने भनेपछि साना लगानीकर्ता मारमा परेका हुन ।

धिकाँश बैंकले सेयर धितोमा कर्जा दिने भनेपनि १० लाख रुपैयाँ भन्दा कम कुनैले पनि लगानी नगरेको नेपाल स्टक ब्रोकर एसोसियसनका पुर्वअध्यक्ष नरेन्द्र सिजापति बताउछन् ।

उनकाअनुसार ग्लोबल आईएमई बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डुलगायत सेयर कर्जा खुला गरेका अन्य बैंकले साना ग्राहकसंग डिल गर्दा जनशक्ति र समयको खर्च बढी हुने भन्दै १० लाख रुपैयाँ घटी लगानी नगर्ने भनेको उनले जानकारी दिए । एनआईसी एसिया बैंकले २५ लाख रुपैयाँ भन्दा कम सेयरमा लगानी नगर्ने भनेको उनले बताए ।

बैंकले सेयर कर्जा दिने भनेर सूचना प्रकाशित गरेपछि बजार बढ्न सुरु भएको थियो । १० लाख रुपैयाँ भन्दा कम लगानी गर्ने भनेपछि सानाले पाएनन् यसको असर बजारमा परेको हुन सक्ने उनको अनुमान छ । गत बिहीबार बजार झण्डै १२ अकं घटेको थियो ।

नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेर सेयर कर्जा खुला गरेपछि बैंकहरुले १ दिनमै कर्जा दिने योजना ल्याएका छन् । अधिकाँश बैंकले २ दिनभित्र कर्जा लगानी गर्ने बताएका छन् ।

बैंकले सेयर कर्जा खुला गरेपछि बजारमा ब्याजदर पनि घटेको सिजापतिले बताए । अहिले नबिलले १० प्रतिशत ब्याजमा सेयर कर्जा दिन थालेको उनले जानकारी दिए । यस्तै अन्य बैंकले पनि ११ प्रतिशतमा सेयर कर्जा दिन थालेका छन् ।

यसअघि यस्तो कर्जा १५ प्रतिशत थियो । बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि बैंकले ब्याज दर घटाउन थालेका छन् । बजारमा ७० अर्ब रुपैयाँ बराबरको तरलता छ ।
हालसम्म एनआईसी एसिया, नबिल, ग्लोबल आर्ईएमई बैंक, कैलाश विकास बैंक, ज्योति विकास बैंक, सिद्धार्थ बैंक र ओम डेभलपमेन्ट बैंक, मुक्तिनाथ डेभलपमेन्ट बैंकले सेयर कर्जाको योजना सार्वजनिक गरेका छन् ।

पछिल्लो समयमा बजारमा प्राथमिक सेयर (आईपीओ), थप निष्कासन (एफपीओ), हकप्रद सेयर आपूर्ति बढेपछि बजार बढ्न नसकेको उनको तर्क छ । यस्तै ठुला कम्पनीले बल्कमा सेयर बिक्री गर्न थालेपछि बजारमा सेयर किन्नेको भन्दा बेच्नेको संख्या बढी रहेको उनको भनाई छ । गत वर्षको भन्दा सेयर आपूर्ति झण्डै दोब्बर बढेको छ उनको भनाई छ ।

गत वर्ष बजार बढेर १ हजार ८८१ अंकसम्म पुगेको थियो । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने समयमा यो वर्ष सेयर बजार खस्किएको छ । दशैसम्म सयेर बजार घटीमा १ हजार ५ सय र बढीमा १ हजार ६ सय अंकमा उनको अनुमान छ ।

धितोपत्र व्यवसायी नन्दकिशोर मुन्दडा पनि बजारमा बोनस र हकप्रदको सेयरको आपुर्ति ह्वातै बढेका कारण बजार बढ्न नसकेको बताउछन् । हकप्रद बिक्री नभएर धमाधम लिलामीमा आएको उनको भनाई छ ।

पुँजीवृद्धिको योजनाअन्र्तगत बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयर सकिएको र बीमाको मात्र बाँकी रहेकाले लगानीकर्ताको आकर्षण घटेको उनको भनाई छ । बजारमा १० देखि १५ प्रतिशत तलमाथि हुने संभावना रहेको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (करो क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बढेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.