नाडा अटो शो: कार बिक्रीमा तीब्र प्रतिस्पर्धा, दुई दिनमै एक अर्ब २६ करोड बढीको बुकिङ

  २०७४ भदौ १५ गते २०:१४     विकासन्युज

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा कार, जिप तथा ह्याचब्याक बिक्री भएका हुन् ।

मेलाका अवसरमा विभिन्न कम्पनीले कारमा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ, उपहार जस्ता आकर्षक योजना ल्याएका छन्। विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा चलिरहेको छ । आकर्षक अफरसँगै मेलामा नयाँ मोडल तथा मनपरेको कार किन्न आउनेको भीड लागेको छ ।

मेलामा भाग लिने १६ वटा कम्पनीमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली, गो अटोमोबाइल्स प्राली, एमएडब्लू प्राली र अरुण कन्टिनेन्टल ट्रेडर्सले भने बुकिङ बारे गोप्य राखेका छन् ।  साँग्रीला मोटर्स प्रालीले भने बुकिङ नखुलाएको जानकारी दिएको छ ।

महिन्द्रा

नाडा अटो शोमा महिन्द्राको जीप सेग्मेन्टका गाडीहरु बढी बिक्री भएका छन् । मेलामा करिब १५ वटा जिप सेग्मेन्टका गाडीहरु बिक्री भएका छन् ।

जिपमध्येमा आकर्षणको केन्द्रबिन्दुमा रहेको थार चारवटा बुक भएको म्यानेजर सुरज राजवंशीले जानकारी दिए । महिन्द्राले जिपलाई शोको पहिलो दिन सार्वजनिक गरेको थियो ।

हालसम्म पाँचवटा डबल क्याब र १५ वटा जिप सेग्मेन्टका गाडी बिक्री गरेको कम्पनीले तीनवटा एक्युभी मोडलको कार बुकिङ दर्ता गरेको छ । कम्पनीले करीब ९ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको बुकिङ गरेको छ ।
टाटा मोटर्स

टाटा मोटर्सको दुई दिनमा ५५ वटा गाडी बुकिङ भएको छ । जसबाट करिब १८ करोड दुई लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुनसक्ने कम्पनीको अनुमान छ ।

भर्खरै सार्वजनिक भएको टाटा टिगोर २० वटा बुकिङ भएका छन् भने टियागो १५ जनाले बुकिङका लागि दर्ता गराएका छन् । जेस्ट करिब दस वटा र बाकी सुमो र गोल्ड बुक भएको कम्पनीले जानकारी दिएको छ ।

होन्डा

मेलामा होन्डाले करिब तीन करोड नौ लाख रुपैयाँ बराबरको बुकिङ गरेको छ । दुई दिनमा होन्डाका सातवटा गाडी बुकिङ भएका हुन् । बुकिङ हुनेमा होन्डाका बिआरभी, सिटी, अमेज र ज्याज मोडलका कार रहेको कम्पनीले जानकारी दिएको छ ।

रिनाल्ट

मेलामा लञ्च भएको दुई दिन मै रिनाल्टको क्विड मोडलको कार सात जनाले बुकिङ गरेका छन् । रिनाल्टले दुई दिनमा करिब सात करोड २५ लाख रुपैयाँ बराबरको बुकिङ गरेको हो ।

रिनाल्टको जम्मा २० वटा बुकिङ मध्ये १३ वटा डस्टर रहेको कम्पनीले जानकारी दिएको छ ।

डाट्सन

सुरुवाती दुई दिनमा डाट्सनले तीन करोड ६६ लाख रुपैयाँ बराबरको सवारीसाधन बुकिङ दर्ता गराएको छ । दुई दिनमा भएको १८ वटा गाडी बुकिङ मध्ये १४ वटा रेडी गो १ लिटर , दुईवटा रेडि गो ८०० लिटर र गो दुई वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।

इसुजु

मेलामा इसुजुका १२ वटा गाडी बुकिङ भएका छन् । जसबाट करिब सात करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको अनुमान छ ।

शोमा भी क्रस ११ वटा बुकिङ भएका छन् भने एउटा एस क्याब बुक भएको कम्पनीले जानकारी दिएको छ ।

भोक्सवागेन

भोक्सवागेनले मेलाको दोस्रो दिनसम्ममा २८ वटा गाडी बुकिङ दर्ता गराएको छ। सो अवधिमा करिब २२ करोड ५३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार १४ वटा क्रस पोलो र १४ वटा न्यु टिगुवान बुकिङ भएका छन्।

निस्सान

पायोनियर ग्रुपको निस्सानका ३० वटा गाडीहरु बुक भएका छन् । जसको मूल्य करिब आठ करोड ३० लाख हुन्छ ।

कम्पनीका अनुसार अधिकांश ग्राहकले नयाँ मोडलको सनी कार रुचाएका छन् । जम्मा बुकिङ मध्ये २५ प्रतिशत बुकिङ सनीको रहेको छ । बाकी ७५ प्रतिशत माइक्रा एक्टिभले लिएको कम्पनीले दाबी गरेको छ ।

किया

कियाको विद्युतीय कार सोल इभीमा ग्राहकको विशेष आकर्षण पाइएको छ । ५६ लाख रुपैयाँ पर्ने उक्त कारमा डेढ लाख रुपैयाँ छुट दिइएको छ । दुई दिनमा उक्त कारमा २२ जनाले बुकिङ गरेका छन् ।

कम्पनीले करिब ३३ करोड ६० लाख रुपैयाँ बराबरको गाडी बुकिङ गराएको छ । विद्युतीय कारपछि सबैभन्दा बढी पिकान्टो कार बिक्री भएको कम्पनीको दाबी छ ।

सुबारु

सुबारुले चार १३ लाख रुपैयाँ बराबरको कार बुकिङ गराएको छ । बुकिङ हुने चार गाडी मध्ये एउटा फरेस्टर मोडल र तीन वटा एक्सओभी मोडलका रहेको कम्पनीले जानकारी दिएको छ ।

स्याङयाङ

आइएमएस मोटर्सको स्याङयाङ ब्राण्डका १५ वटा कारहरु बुकिङ भएका छन् । एक्सएलभी मोडका ६ वटा, टिवोलीका तीन वटा, एक्टन स्पोर्जका चार वटा पिकअप र कोर्यान्डोका दुई वटा गाडी बुकिङ भएका छन् । बुकिङ सँगै दुई दिनमा कारोबार ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.