इस्फ्रास्ट्रक्चर बैंक खोल्न राष्ट्र बैंकमा निवेदन दर्ता, १२ अर्ब संस्थापक र ८ अर्ब सर्वसाधारणकाे सेयर लगानी रहने

  २०७४ भदौ १४ गते १९:४२     रामकृष्ण पौडेल

काठमाडौं । इस्फ्रास्ट्रक्चर बैंक खोल्न नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा.विमल कोइरालाले बुधबार निवेदन दर्ता गरेका हुन् ।

राष्ट्रको पूर्वाधार विकास गर्नका लागि नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप यस आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार नै उक्त बैंक खोल्न लागिएको हो ।

प्रस्तावित बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत शेयर रहने प्रस्ताव गरिएको छ । यस बैंकका संस्थापक समूहको १२ अर्ब र सर्वसाधारण समूहको ८ अर्ब रुपैयाँ सेयर पुँजी हुने प्रस्ताव गरिएको छ ।

हाल संस्थापक समूहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु, आईएमई समूह, विशास ग्रुप, लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । आवेदन दर्ता गर्न आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, विशाल समूहको अशोक अग्रवाल, इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेय लगायतकाे टाेली राष्ट्र बैंक पुगेका थिए ।

विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको डा विमलप्रसाद कोइरालाले बताए । प्रस्तावित बैंकको सञ्चालक समितिमा सरकार समेतको प्रतिनिधि रहने गरी ७ जना सञ्चालक रहने व्यवस्था गरिएको छ ।

प्रस्तावित नेपाल इस्फ्रास्टक्«चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।

कसको लगानी कति ?

यस बैंकको संस्थापकमा ३९ जना व्यक्ति र २२ वटा कम्पनी रहेको इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा यस बैंक स्थापन कार्यको संयोजन गर्दै डा विनोद आत्रेयले बताए ।

यस बैंकमा सरकारको २ अर्ब रुपैयाँ ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकको १÷१ अर्ब, नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब रुपैयाँ लगानी रहने छ ।

सिद्धार्थ बैंकले १० करोड लगानी गर्ने भएको छ । इन्फ्रास्ष्टक्चर बैंकमा चार वटा बैंकको लगानी रहेको उनले जानकारी दिए ।

बीमा कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एशियान लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनबी इ्न्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको छ । त्यसबाहेक इमर्जिङ नेपाल, हाथवे लगायत इन्भेष्टमेन्ट कम्पनी तथा प्राइभेट कम्पनीहरुले पनि लगानी गरेका छन् ।

व्यक्तिगत तर्फ चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, आकाश गोल्छा, हेमन्त गोल्छा, शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दरा, सुशील गुप्ता लगायत ३९ जनाले संस्थापक सेयर लिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.