चितवन जिल्लामा दूध उत्पादनमा वृद्धि

  २०७४ भदौ १४ गते १४:४०     विकासन्युज

चितवन । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए ।

दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९÷७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३÷७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए ।

आव २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१/७२ मा ८४ हजार ७७ तथा आव २०७२/७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ ।

“चितवनमा उत्पादित अधिकांश दूध काठमाडाँैलगायत मुख्य शहरमा पठाउने गरिएको छ,” डा सेढार्इंले भने । उत्पादन वृद्धिदर वार्षिक ४ दशमलब ८९ प्रतिशत रहेको छ ।

तर दुग्ध उत्पादक किसान उक्त तथ्यांक सहि नभएको दाबी गर्छन् । उनीहरुकाअनुसार किसान दुग्ध पेशा छाड्ने क्रममा छन् । दुग्ध उत्पादक किसान आनन्द निउरे पछिल्लो समयमा किसान विभिन्न समस्यामा परेका कारण तथा राज्यले उचित संरक्षण नदिँदा पलायन हुने क्रम बढेको बताउँछन् ।

पशुसेवा कार्यालयले पुराना किसानले व्यवसाय छाड्दै गए पनि नयाँ किसान थपिँदै गएकाले दूध उत्पादनमा वृद्धि हुँदै गएको जनाएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी चितवनमा पछिल्लो समयमा दूध उत्पादनमा ह्रास आउन थालेको बताउँछन् ।

आत्मनिर्भर घोषणाका लागि प्रक्रिया शुरु

चितवनलाई दूधमा आत्मनिर्भर घोषणाका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । केन्द्रबाटै कार्यविधिसमेत आइसकेकाले त्यही कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया शुरु भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सेढार्इंले जानकारी दिए ।

जिल्लाका हरेक सेवा कार्यालयलाई ताजा तथ्यांक अध्यावधि गर्न निर्देशन दिइसकेको उनले बताए । सरकारले वार्षिक प्रतिव्यक्ति ९० लिटर दूध आवश्यक हुने जनाएको छ । जिल्लाको तथ्यांक हेर्दा प्रतिव्यक्ति १३७ लिटर दूध पुग्ने देखिन्छ । नब्बे लिटरभन्दा माथिको प्रतिव्यक्ति ४७ लिटर दूध बढी देखिएकाले जिल्लालाई आत्मनिर्भर घोषणाका लागि कार्यालयले काम थालेको उनको भनाइ छ ।

“सरकारी योजनाअनुसार मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन लागि परेका छौँ,” उनले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.