घर घरमा पुस्तकालय कर थप्ने प्रस्ताव, राष्ट्रिय पुस्तकालय तीन वर्षदेखि बोरामा

  २०७४ भदौ १३ गते २१:२३     विकासन्युज

काठमाडौं । ‘जापानको विकासमा पुस्तकालयको धेरै योगदान छ । १० मिनेट पैदल यात्रा गर्दा पुस्तकालय भेट्न सकिने नीति लिएर जापान सरकारले हरेक बस्तीमा पुस्ताकालय स्थापना गरेको रहेछ’ लाईब्रेरियन इन्दिरा दली भन्छिन्–त्यो देखेर मैले आफ्नो सम्पूर्ण जीवन लाईब्रेरी क्षेत्रमा बिताउने निधो गरे ।’

उमेरले सात दशक बिताउँदै गरिकी दली भन्छिन्–‘सभ्य र भव्य समाज निर्माणको आधार पुस्तकालय हो । पुस्तकालयको पनि जग भनेको बाल पुस्तकालय हो । जहाँ बालबालिकाको बढ्ने बानी विकास हुन्छ ।’

इन्दिरा जस्तै पुस्तकालयको महत्वको वर्णन गर्नेहरु धेरै पाईन्छन् । तर नेपालको पुस्तकालय क्षेत्रको विकासमा सन्तोष गर्ने ठाउँ नभएको अनुभवीहरु बताउँछन् ।

पृथ्वीनारयण शाहले नेपाल एकिकरणको लडाई युद्ध जितेपछि जम्मा भएका हस्तलिखित ग्रन्थ व्यवस्थित गर्न राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको पालमामा विसं. १८६९ मा ‘पुस्तक चिताइ तहबिल’ स्थापना भएको इतिहासमा उल्लेख छ ।

यसैलाई नेपालको पहिलो पुस्तकालय मानिएको छ । सो पुस्तकालय स्थापना भएको २०५ वर्ष भयो । तर २०५ वर्ष लामो नेपालको पुस्तकालय इतिहास त्यति धेरै गर्विलो छैन ।

नेपालमा सामूदाहिक पुस्तकालय निर्माणमा अग्रणी भूमिका खेल्दै आएको रिड नेपालको अध्यक्ष भोलाकुुमार श्रेष्ठ भन्छन्–‘अझै पुस्तकालय सम्बन्धि कानुन छैन, नीति–नियम छैन । सरकारको वार्षिक बजेटमा पुस्तकालय पर्दैन ।’

राष्ट्रिय पुस्तकालय बोरामा थन्किएर बस्नु पुस्तकालय क्षेत्रको अगतिलो उदाहरण हो । ‘राष्ट्रिय पुस्तकालयको भवन भूकम्पनले भत्किएको तीन वर्ष भयो । नयाँ भवन बनाउनेतर्फ केही काम भएको छैन । पुस्तकहरु सबै बोरामा हालेर राखिएको छ’ शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले भने ।

राष्ट्रिय पुस्तकालयको जस्तै देशभरका पुस्तकालयहरुको हालत नाजुक भएको यस क्षेत्रका अगुवाहरु बताउँछन् । नेपाल सामूदाकिय पुस्तकालय संघका अध्यक्ष गणेशप्रसाद न्योपानेका अनुसार देशभर करिव ८ हजार सामूदाहिक तथा सार्वजनिक पुस्तकालय छन् भन्ने अनुमान छ । तर यकिन तथ्याङ्क छैन । नीतिगत व्यवस्था, बजेट, दक्ष जनशक्तिको अभावमा पुस्तकालय क्षेत्रको विकास सन्तोषजनक रुपमा नभएको उनी बताउँछन् ।

१८६९ सालमा पुस्तक चिताइ तहबिल स्थापना भएपछि त्यसमा कर्मचारीका रुपमा भाद्र १५ गते केदारनाथ पण्डित झा नियुक्त भएका थिए । सोही दिनलाई आधार मानेर सरकारले विगत १० वर्षदेखि हरेक वर्ष भदौं १५ गते पुस्तकालय दिवस मनाईदै आएको छ ।

यसै सन्दर्भमा नेपाल सामूदाहिक पुस्तकाल संघले सोमबार राजधानीमा ‘समुन्नत समाजको लागि पुस्तकालय’ विषयक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा सहभागी सभासद् तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले भदौ १५ गतेसम्ममा पुस्तकालय क्षेत्रको विकासका लागि आफूले संसद्मा सार्वजनिक महत्वको विशेष प्रस्ताव पेश गर्ने बताए ।

राज्यको नीति निर्माण गर्ने र राज्य सञ्चालन गर्नेहरुमा नै अध्ययन संस्कृति नभएको, ज्ञानमा आधारित हुनु पर्ने राजनीति धन हुँदै डनमा आधारित हुन पुगेको उनले बताए । ‘राजनीति ज्ञानमा आधारित हुनुपर्ने हो । तर राजनीति धन हुँदै डन (गैरकानुनी आर्जन र दादागिरी)मा आधारित हुन पुगको छ’ पाण्डेले भने ।

१० औ पुस्तकालय दिवसको नारा ‘जीवन पर्यन्त शिक्षाको लागि एक स्थानीय तह, एक नमूना पुस्ताकालय’ तय गरिएको छ । उक्त नारालाई सार्थक गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउनु पर्ने यस क्षेत्रका अभियान्तहरुको ठम्याई छ ।

सो कार्यक्रममा बोल्दै बुढानिलकण्ड नगरपालिका वडा नम्बर १०का अध्यक्ष नवराज भट्टराईले आफ्नो वडा क्षेत्रमा सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्ने निर्णय गरिसकिएको र त्यसको लागि बजेट समेत विनियोजन गरिएको बताए । स्थानीय तहमा पुस्तकालय निर्माण र सञ्चालनको लागि स्रोत जुटाउन घर करसँगै पुस्तकालय कर लगाउने सकिने उनले बताए ।

घर करमा थोरै पुस्तकालय कर लगाउने हो भने त्यसबाट देशका ६ हजार ६०० भन्दा बढी वडामा पुस्तकालय निर्माण गर्न सकिने र दीगो रुपमा सञ्चालन गर्न सकिने उनको तर्क छ । भट्टराईको प्रस्तावलाई पुस्तकालय क्षेत्रका अगुवाहरुले स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.