धेरै नेपालीले २५ लाख पर्ने गाडी किन्छन्, ५ वर्षमा बेच्छन्-अन्जन श्रेष्ठ

  २०७४ भदौ १२ गते २१:४३     विकासन्युज

मंगलबारदेखि अटोमोबाइल क्षेत्रको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु हुँदैछ । यो मेलामा के के हुँदैछ ? मोटरका उपभोक्ताहरु किन मेलामा आउने ? सर्वसाधारण मान्छे मेलामा किन आउने ? मोटर व्यवसायीहरुले उपभोक्ताका लागि कस्ता स्किम ल्याएका छन् ? यो क्षेत्रमा के कस्तो परिवर्तन भएका छन् ? प्रस्तुत छ नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपालका अध्यक्ष तथा नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठसँग विकासन्यूजले गरेको कुराकानी ।

अन्जन श्रेष्ठ, अध्यक्ष, नाडा अटोमोबाइल डिलर्स एसोसिएसन नेपाल

सामान्य उपभोक्ताले यसपालीको अटो शो हेर्न आउँदा के कस्तो अपेक्षा गर्न सक्छन् ? अटो शोमा कुन कुन नयाँ प्रडक्ट र कस्ता स्किमको अपेक्षा गर्न सकिन्छ ?

कुन कम्पनीले कस्तो स्कीम ल्याउने छन् ? नयाँ प्रडक्ट के ल्याउछन् भनेर हामीले भन्न सक्दैनौ । तर पक्कै पनि सबै कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न आकर्षक योजना बनाएका हुन्छन् । नयाँ सावरीसाधान पनि सार्वजनिक गर्छन । नाडा अटो शोलाई सबै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्ने उपयुक्त अवसरको रुपमा ठान्दछन् । एक थलोमा ठूलो संख्यामा ग्राहकवर्ग आएर सवारीसाधन खरिद तथा अर्डर गर्ने भएकाले यो अवसरबाट कोही पनि चुक्न चाहदैन ।

उपभोक्ताको पक्षबाट हेर्दा नाडा अटो शोमा आयोजकले कस्तो किसिमको भूमिका खेलेको छ ?

नाडा अटो शोबाट उपभोक्तालाई फाइदा नै पुग्ने गरि सबै कम्पनीले स्कीम बनाएका हुन्छन् । साथै, नयाँ प्रडक्टको बारेमा जानकारी लिन पाउने यो ठूलो अवसर हो । त्यस्तै यसले बजारमा आएको नयाँ उत्पादनलाई सुपथ मूल्यमा किन्न र बुक गर्ने मौका दिन्छ । यो हिसाबले हेर्ने हो भने उपभोक्तालाई नाफा पुगेको देखिन्छ । आफ्नो खर्च गर्न सक्ने क्षमताका आधारमा उपभोक्ताले आफूलाई मनपरेको र सुलभ किसिमको सवारी किन्न सक्छन् ।

नाडा अटो शो दशैं अगाडी नै किन राखिन्छ ?

दशैंमा मिठो खाउ नयाँ लगाउ भन्ने सबैको ईच्छा हुन्छ । श्रमजीवि तथा कर्मचारीले दसैंमा बोनस पाउछन् । आम उपभोक्ताले दशैंमा केही नयाँ किन्छु भनेर योजना बनाएको हुन्छ । नाडामा नयाँ प्रडक्ट सार्वजनिक हुन्छ । एउटै थलोमा नेपालमा उपलब्ध हुने सबै सवारीसाधन हेरेर खरिद गर्न सक्छ । त्यसैले यो पब्लिकको बहुप्रतिक्षित अवसर पनि हो ।

तर अटोमोबाइल क्षेत्रले दशैंमा मात्र नभई अरु समयमा पनि प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेको छ । अटोमोबाइल व्यवसायीले वर्षमा मात्र करिब तीन पटक प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेका छन् । दशैंबाहेक नयाँ वर्ष र समर सिजनमा पनि ग्राहकलाई आकर्षित गर्ने स्कीमहरु आएका हुन्छन् । दशैं अगाडी चाँही धेरैले नयाँ गाडी किन्ने भएको हुनाले यो बेला चाँही विशेष कार्यक्रम आयोजना हुन्छ ।

विदेशतिर विभिन्न सेग्मेन्टका आधारमा गाडीहरुलाई मूल्य क्षमताका आधारमा विशिष्टकृत गरिएको पाइन्छ । नेपालमा त्यसरी छुट्याउने आधार के छ ?

यसमा चाँही कम्पनीहरु एक अर्का बीच नै भिन्नता देखिएको छ । तर अन्तराष्ट्रिय बजारमा एउटा स्ट्याण्डर्ड हुन्छ । त्यस्तो स्ट्याण्डर्ड नेपालमा तोकिएको छैन ।

सवारीमा लाग्ने करका आधारमा कुनै मापदण्ड छ कि ?

कमर्शियल सवारीमा चाँही केही फरक छ । नत्र अन्य गाडीमा त्यस्तो केहि छैन ।

नेपालमा अटोमोबाइल क्षेत्रमा उपभोक्ताको व्यवहारको ट्रेण्ड कस्तो छ ?

नेपालमा उपभोक्ताको बानी व्यवहार ख्याल गर्ने हो भने बचत गर्ने बानी एकदमै कम छ । हामीसँग खर्च गर्ने कतिको क्षमता छ त्यसको ख्याल छैन । उपभोक्ताको दृष्टिकोणबाट हेर्दा हामी हाई लेबल पोजिसनको व्यवहार गर्न खोज्छौं । हाम्रो आर्थिक क्षमता मध्य वर्गको भए पनि हामी उच्च वर्गको बानी व्यवहार फलो गर्छौं । हामी लाहुरे संस्कृतिबाट प्रभावित छौं ।

जमानामा हामीले जिन्सको पाइन्ट लगाएका हौं । साइको फाइभ घडी लगाएका हौं । हामी लाहुरेले जमानामा ल्याएको पानासोनिक रेडियो सुनेर रमाउने कल्चरबाट निर्देशित छौं । मनाङे समाजमा हङकङबाट सामान ल्याएर व्यापार गर्ने चलन बस्यो । तिर्नसक्ने क्षमता थियो वा थिएन, थाहा छैन तर धेरै वर्षअगाडी हामीलाई त्यहाँसम्मको पहुँच थियो । त्यो बेलादेखिको धेरै खर्च गर्ने बानी आजसम्म देखिन्छ ।

समग्र अटो सेक्टरमा उपभोक्ताको व्यवहार कस्तो छ ?

यो प्रश्नको जवाफका लागि एउटा रोचक प्रसंग जोड्न चाहन्छु । आजभोली नयाँ कारको एन्ट्री लेबलको मूल्य १४ देखि १५ लाख रुपैयाँ जति पर्न आउछ । सबैभन्दा बढी बिक्री मिड साइज सेग्मेन्टको हुनेगरेको छ । ती कारको मूल्य २०/२५ लाखको हाराहारी पर्न आउछ । एन्ट्री लेबलको भन्दा महंगो कार किन रुचाइरहेका छन् । यस्ता ग्राहकले ५ वर्षमा नयाँ गाडी लिन्छन् । पुरानो बेच्छन् ।

सेग्मेन्ट वाइज हेर्दा कुन रेन्जका गाडीको बजार हिस्सा कति छ ?

एन्ट्री लेबलका गाडीको बजार हिस्सा करिब २० प्रतिशतको छ । एसयुभी सेग्मेन्टको कार करिब ३० प्रतिशत छ । मिड साइजको कारको करिब ५० प्रतिशतकै हाराहारी पुग्न आउँछ । यसमा ट्याक्सीको कुरा जोड्न सकिदैन । किनकी ट्याक्सी नियमित बिक्री हुने होइन । एउटा निश्चित समयमा सरकारले नम्बर प्लेट दिने भएकाले यसलाई तुलना गर्न मिल्दैन ।

ट्याक्सी सेग्मेन्टमा हुण्डाईको बजार हिस्सा कति छ ?

मूलुकको समग्र व्यवसाय हेर्ने हो भने हुण्डाईको उपस्थिति ४० प्रतिशत छ ।

हुण्डाईको बिक्री वितरण कस्तो छ ?


गत वर्षको तथ्यांक हेर्दा हुन्डाईको बजार हिस्सा ३० प्रतिशत थियो । तपाईले बाटोमा हेर्नुभयो भने नै हुन्डाईको राम्रो उपस्थिती पाउनु हुन्छ । तर गत आर्थिक वर्षमा मौद्रिक नीतिमा भएको अटो लोन सम्बन्धि सुविधामा आएको परिवर्तनले प्यासेन्जर सेग्मेन्टका सबै गाडी प्रभावित भए । २० देखि २५ प्रतिशतले हाम्रो बिक्री घट्यो । हामी व्यवसायी अहात भएर सरकारसँग पहल गर्यौंम । अटो लोनको सुविधा ३५ प्रतिशतमा पुगेपछि राहत पुगेको छ ।

गाडी प्रयोगकर्ताहरुमा युनिक विशेषता के छ ?

सबैले गाडीमा स्टायल, टिकाउपन र पर्फर्मेन्स खोज्छन् । अहिले चाँही विशेष रुपमा नयाँ फिचर खोज्ने गरेको पाइएको छ । ग्राहकहरु आकर्षित हुने प्रमुख कारण नै यी चारवटा कुरा हुन् ।

नेपाली उपभोक्तामा गाडी गिफ्ट दिने चलन कतिको पाइन्छ ?

गिफ्टको कुरामा यकिनका साथ भन्न सकिदैन । आफन्त एकले अर्कोलाई गिफ्ट त दिइरहेकै पाइन्छ । तर कुन गाडी गिफ्टमा गयो वा गएन छुट्याउने आधार बनाइएको भने छैन ।

तर विश्व बजारमा त यो चर्चाको वषय बन्ने गरेको छ नि ?

पक्कै पनि छ । जस्तो बलिवुडका नायक शाहरुख खानले आफ्नी श्रीमतीलाई गाडी गिफ्ट दिए भनेर समाचार आउने गरेका छन् । विश्वमा त्यो ट्रेण्ड धेरै ठाँउमा छ । तर नेपालका लागि गाडी सस्तो चिज भएन । नेपालमा सक्नेले दिएका छन् ।

विद्युतीय सवारीले ईन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्न सक्छ ?

विद्युतीय सवारी हाम्रो भविष्य हो । केहि ठूला मुलुकले सन् २०३० सम्ममा ईलेक्ट्रिक गाडीहरुले ईन्धनबाट सञ्चालिन गाडीलाई विस्थापित गर्ने लक्ष्य लिइसकेका छन् । मेरो विचारमा २०२२ सम्ममा विद्युतीय सवारीले विश्व बजारमा नै निकै ठूलो उपस्थिती देखाउन सक्छ ।
नेपालमा यसको सम्भावना के छ ? जस्तो पूर्वाधारका यसको प्रमुख चुनौति बनिरहेको छ ।

भौतिक पूर्वाधार एउटा चुनौति कै विषय हो । तर अहिले विभिन्न कम्पनीहरुले आफ्नै घरमा नै चार्ज गर्न मिल्ने प्रविधि विकास गरिरहेका छन् । यसले गर्दा केहीहदसम्म उपभोक्तालाई सहज बन्ने स्थिती छ । पेट्रोल पम्प जस्तै यसका लागि पनि चार्जिङ स्टेसनको व्यवस्था गर्न सकिन्छ ।

विद्युतीय सवारीको प्रयोग असाध्यै न्यून भएको अवस्थामा चार्जिङ स्टेसनमा लगानी होला ? कि राज्यबाट केही अपेक्षा छ ?

हामीले खुला अर्थनीति अवलम्बन गरेको २५ वर्ष भइसक्यो । अब सरकारले लगानी गर्ने होइन । यसमा निजी क्षेत्रले नै लगानी गर्ने हो । तर लगानी गर्नका लागि केहि समय लाग्छ । राज्यले लगानीको वातावरण निर्माण गर्दिनुपर्छ । यसलाई प्रत्साहन गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.