दसैंको मुखमा यातायात व्यवसायीको दादागिरी, भाडा बढाउन माग, अग्रीम टिकट बुकिङ अन्यौलमा

  २०७४ भदौ ११ गते १७:०३     विकासन्युज

काठमाडौं । दसैंको मुखमा यातायात व्यवसायीले भाडा बढाउनका लागि सरकारसँग बार्गेनिङ गरेका छन् । भाडादर वृद्धि लगायत माग राख्दै व्यवसायीले टिकट बुकिङ नखुलाउने सरकारलाई चेतावनी दिएका छन् ।

व्यवसायीको बार्गेनिङका कारण आउदो दसैंका लागि बसको टिकट बुकिङ खुल्ने विषय अन्यौलमा परेको छ । दसैंको मुखमा यातायात व्यवसायीले भाडादर बढाउनुपर्ने र छतमा सामान राख्न दिनुपर्ने सरकारसँग माग राखेका छन् ।

दसैं आउन करिब एक महिना मात्र बाकी रहँदा पनि अग्रीम बुकिङको कुनै टुंगो लागेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालका अनुसार सरकारले भाडादर बढाउन नदिएपछि टिकट बुकिङ खोल्ने टुंगो नलागेको हो । यातायात व्यवस्था विभागले व्यवसायीका माग पुरा नगरेकाले टिकट बुकिङको समय नतोकिएको उनले बताए ।

‘२०५७ सालदेखि भाडा समायोजन गरिएको छैन, जसले गर्दा व्यवसायीहरु मारमा छन् ,’ उनले भने, ‘गत असारमा विभागले एक महिनामा भाडादर समायोजन गर्ने बताएको थियो । तर दुई महिना बितिसक्दा पनि सरकारले चासो दिएको छैन ।’

सरकारले बसको छतमा सामान राख्न दिनुपर्ने व्यवसायीको माग छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुको चापका कारण सामान छतमा राख्न दिनुपर्ने माग रहेको खनालले बताए । उनले भने, ‘बसभित्र यात्रुको चाप बढी हुन्छ सामान छतमा नराखी कसरी लान सकिन्छ ?’

देशका सबै अञ्चलहरुबाट जाँचपासको सुविधा दिनुपर्ने उनीहरुको माग छ ।  हाल काठमाडौं छोएर जाने सम्पूर्ण सवारीसाधनलाई एकै ठाँउबाट मात्र जाँचपासको सुविधा दिइएको छ ।

अघिल्लो वर्ष घटस्थापनाको १५ दिन अगाडीदेखि राजधानीबाट बाहिरिनेका लागि बसको अग्रिम टिकट बुकिङ खुलेको थियो । दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने गरेको उनले बताए । तर फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुवाहक बस काठमाडौंबाट वाहिर जान्छन् ।

यातायात व्यवसायीले छतमा सामान राख्न पाउनुपर्ने, र देशभरी जाँचपासको सुविधा दिनुपर्ने लगायतका  एको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रीम टिकट बुकिङ खोल्ने विषय अन्यौलमा परेको छ ।

त्यसै गरी सरकारले कुनैपनि मागको सम्बोधन नगरेकाले दसैंका लागि नयाँ गाडी नथप्ने पनि खनालले बताए । उनले भने, ‘सरकारले हाम्रो माग पुरा नगरेसम्म दसैंका लागि हाम्रो कुनै पनि योजना अगाडी बढ्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.