एनसिसिआई-वाणिज्य राज्यमन्त्रीबिच भेटवार्ता, लगानी भित्र्याएर व्यापारघाटा कम गर्न आग्रह

  २०७४ भदौ ९ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) ले भारतसँग नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न सहयोगको आग्रह गरेको छ । व्यापार घाटा कम गर्नका नेपालमा पर्याप्त भारतीय लगानी तथा प्रविधि भित्र्याई उत्पादकत्व क्षमता तथा प्रतिस्पर्धी क्षमता विस्तारमा सहयोग गर्न महासंघले भारतीय वाणिज्य राज्यमन्त्री निर्मला सितारमणसँग आग्रह गरेको हो ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा भारत भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले आज भारतीय वाणिज्य राज्यमन्त्री सितारमणसमक्ष वाणिज्य मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सन् १९९६ मा सम्पन्न व्यापार सन्धी दुई देश बीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तारमा महत्वपूर्ण औजारको रुपमा रहेको बताउँदै अध्यक्ष राणाले निरन्तर रूपमा बढ्दै गएको व्यापार घाटा नेपालका लागि अत्यन्त चिन्ताको विषय भएको बताए ।

पछिल्लो तथ्यांक अनुसार आयात निर्यातको अंश १५:१ रहेको छ । राणाले खाद्यन्न प्रशोधन, ऊर्जा उत्पादन तथा विकास, सेवा क्षेत्रमा भारतीय लगानीको आवश्यकता रहेको बताए । उनले भनिन्, ‘जसले भारतीय बजारमा नेपाली निर्यात बढाउन प्रत्यक्ष सहयोग पुर्‍याउछ ।’

वाणिज्य राज्यमन्त्रीसंगको भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतीय सरकारले लागू गरेको क्वारेन्टाइन, सेनिटरी फाइटो सेनिटरी (एसपिएस), टेक्नीकल ब्यारियर टु ट्रेड (टिबिटि), रुल्स अफ ओरिजिन (आरओओ) जस्ता गैर भंसार अवरोधका कारण नेपाली उत्पादनहरूको भारत निर्यातमा समस्या रहेको स्पष्ट रूपमा राख्यो । यस्ता अवरोधहरूलाई संबोधन गर्न आग्रह गर्दै नेपाली उत्पादनको गुणस्तर एवं ल्याव परीक्षण सुधार लगायतमा भारतीय प्राविधिक सहयोगको लागि अनुरोध समेत ग¥यो ।

नेपाली ग्यास बुलेटलाई अनुमति दिन आग्रह

महासंघले राज्यमन्त्रीलाई अनुमति नपाएर भारतमा अलपत्र नेपाली ग्यास बुलेटको विषय ध्यानाकर्षण गराएको छ ।

भेटमा भारतीय पेट्रोलियम तथा एक्सप्लोसिभ सेफ्टी अर्गनाइजेशन ले भारतीय मापदण्ड अनुसार भारतमा निर्माण भएका ग्याँस बोक्ने नेपाली बुलेटलाई अनुमतिपत्र जारी नगर्दा निकै ठूलो समस्या परेको कुरा महासंघले उल्लेख गर्‍यो । प्रतिनिधिमण्डलले आत्मनिर्भर उन्मुख नेपाली अर्थतन्त्र र औद्योगिक विकासमा यसले निकै ठूलो घाटा पुगेकाले समस्या समाधानमा भारतीय वाणिज्य राज्यमन्त्रीको ध्यानाकर्षण गरायो ।

जिएसटीको प्रभाव सकारात्मक पर्ने

भारत सरकारले हालै लागू गरेको जीएसटीबाट नेपालको औद्योगिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रकट गर्दै अध्यक्ष राणाले भारतबाट नेपाल निर्यात हुने व्यापारिक वस्तुहरूमा जीएसटी छुट सुविधा रहेपनि सेवामा जीएसटी लाग्ने वा नलाग्ने यद्यपी स्पष्ट नभएपनि जीएसटी छुट हुनुपर्ने सुझाव सो अवसरमा राखे।

महासंघको प्रतिनिधिमण्डलले भेटघाटका क्रममा अन्तराष्ट्रिय कम्पनीहरू भारतमा आकर्षित भैरहेको सन्दर्भमा त्यसले भारत तथा नेपाल दुवै देशमा औद्योगिक विकासमा सहयोग गर्ने स्पष्ट पार्दै कोलकत्ता तथा विशाखापटनमबाट नेपालको भैरहवाको नौतनवा, विराटनगरको जोगवनी, सीमासम्म ठूला कार्गो बोक्ने रेल आवात जावतको सुविधा दिन वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.