भारतसंग बढ्दो व्यापार घाटा : ४ अर्ब १२ करोड डलर बेचेर २ खर्ब ७३ अर्ब भारु खरिद

  २०७४ भदौ ९ गते ११:२३     विकासन्युज

काठमाडौं ।  भारतसंग व्यापार घाटा चुलिएपछि डलर बिक्री गरेर भारु खरिद बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नेपाल राष्ट्र बैंकले भारतबाट वस्तु तथा सेवा खरिद गर्न ४ अर्ब १२ करोड अमेरिकी डलर रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई बेचेर २ खर्ब ७३ अर्ब ५८ करोड भारु किनेको छ ।

यो अघिल्लो आवको तुलनमा ७२ करोड डलर बढी हो । अघिल्लो आवमा राष्ट्र बैंकले ३ अर्ब ४० करोड डलर बेचेर आरबीआईसंग २ खर्ब २५ अर्ब २४ करोड भारु किनेको थियो ।

निकासीको तुलनामा आयात भारी वृद्धि भएपछि वर्षेनी डलर बिक्री बढ्दै गएको छ । भारतसंग भारुमा मात्र कारोबार हुने भएकाले राष्ट्र बैंकले डलर बेचेर भारु खरिद गर्दे आएको छ । कुल वैदेशिक व्यापार मध्ये भारतसंग मात्र ६५ प्रतिशत बढी छ । बाँकी ३५ प्रतिशत चीन र तेस्रो मुलुकसंग छ ।

निकासीको तुलनमा आयातमा भारी वृद्धि भएपछि विदेशी मुद्राको खर्च बढ्दो छ । असार मसान्त १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा मात्र भारतसंग व्यापार घाटा ३५ प्रतिशत बढेर ५ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा भारतबाट ६ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात हुदा नेपालबाट ४१ अर्ब ४४ करोड रपैयाँ बराबरको वस्तु मात्र निकासी भएको छ ।

एक वर्षमा समग्र वैदेशिक व्यापार घाटा ३०.४ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयात धैरैले बढेका कारण व्यापार घाटा बढेको हो । आव ०७३÷०७४ मा व्यापार घाटा बढी ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा ७३ अर्ब पाँच करोड रुपैयाँको बस्तु निर्यात हुँदा ९ खर्ब ९० अर्बको आयात भएको छ ।

वैदेशिक व्यापारमा निर्यातको अंश करिब ७ प्रतिशत मात्रै देखिएको छ । आयातको अंश ९३ प्रतिशत पुगेको छ । यो दर बढ्दै गएको छ । एक वर्षमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ ।

गत आर्थिक वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पछल्लिो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । गत वर्ष भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ ।

अघिल्लो बर्ष १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँको उच्च बचतमा रहेको चालू खाता समीक्षा वर्ष वस्तु आयात उच्च दरले बढेको कारण १० अर्ब १३ करोड रुपैयाँले घाटामा गएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो ।

त्यसैगरी, अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा घटेर ८२ अर्ब १५ करोड रुपैयाँले बचतमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.