मन्त्री उद्योग खोल्नुपर्छ भन्छन्, तर कर्मचारी बन्द गराउन खोज्छन्- कृष्णप्रसाद दुलाल

  २०७४ भदौ ६ गते १५:१२     विकासन्युज

कृष्णप्रसाद दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) प्रालिका निर्देशक हुन् । विराटनगरबाट लूब्रिकेन्टस व्यवसाय सुरु गरेर सफल उद्योगीका रुपमा स्थापित भइसकेका छन् उनी । उनको कम्पनीले स्टार लूब्रिकेन्ट, स्टार ग्रीज, पिएलओ लूब्रिकेन्ट र हाइड्रोलिक आयल लगायतका वस्तु उत्पादन गरिरहेको छ ।  नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका (नाडा) का महासचिव समेत रहेका दुलालसँग लुब्रिकेन्ट व्यवसायको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको कुराकानी :

कृष्णप्रसाद दुलाल, महासचिव नाडा

विराटनगरबाट सुरु भएको पिएलओ लूब्रिकेन्ट अहिले ब्राण्डका रुपमा स्थापित भइसकेको छ । समग्र लूब्रिकेन्ट बजारमा तपाईंको उत्पादनले कसरी व्यवसाय बढाइरहेको छ ?

मैले २०५८ सालमा यो उद्योग स्थापना गरेको हो । अहिलेसम्मको ट्रेन्ड हेर्दा प्रत्येक वर्ष औषत २५ प्रतिशतले लूब्रिकेन्टको व्यवसाय बढीरहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हाम्रो उत्पादनको बिक्री करिब ३५ प्रतिशतले बढेको छ । नेपालको उत्पादनले क्रमश विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै गएको छ । आयल निगमले जति पेट्रोलियम आयात गर्छ त्यसको दुई प्रतिशत लूब्रिकेन्टमा प्रयोग हुने अन्तराष्ट्रिय मापदण्ड छ ।

समग्र लूब्रिकेन्टको व्यवसाय पनि २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । नेपाली उत्पादनको सवालमा लूब्रिकेन्टको बजार हिस्सा पाँच प्रतिशत बढेको छ । नेपाली उत्पादनको ३० प्रतिशत बजार हिस्सा रहेकोमा अहिले बढेर ३५ प्रतिशत पुगेको छ ।

अटोमोबाइल क्षेत्रमा आएको वृद्धिसँगै लूब्रिकेन्टको बिक्री बढ्नु स्वभाविक हो । जलविद्युत आयोजा निर्माणमा प्रयोग हुने हेबी ईक्विपमेन्ट तथा ठुला साधनमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । लूब्रिकेन्टमा वृद्धि भएको प्रस्ट हुने आधार हुन् । उदाहरणका लागि गत आवमा सर्भोले २ हजार ८०० केएल लूब्रिकेन्टको व्यापार गरेको छ । म्याक लूब्रिकेन्टले २ हजार केएल कारोबार गरेको थियो । २ हजार केएल भनेको झन्डै १ सय करोडको व्यापार हुनुपर्छ । हामी पनि झन्डै १ करोडको हाराहारीमा पुग्दै छौं ।

समग्र लूब्रिकेन्ट बजारमा पिएलओको बजार हिस्सा कति छ ?

मलाई लाग्छ पिएलओले बजारको १० प्रतिशत हिस्सा छ । नेपालमा समग्र लूब्रिकेन्ट कारोबारमा वार्षिक रुपमा करिब २५ देखि २६ हजार केएल लूब्रिकेन्ट बिक्री भइरहेको छ । त्यसमध्ये २ हजार ८०० केएल हाम्रो बिक्री भइरहेको छ । स्वदेशी उत्पादनकै कुरा गर्दा हाम्रो उत्पादनको बजार हिस्सा करिब ३० प्रतिशत छ ।

बिक्रीको तथ्यांक हेर्ने हो भने उपभोक्ताले स्वदेशी भन्दा विदेशी लूब्रिकेन्ट नै रुचाएको देखिन्छ । नेपाली कम गुणस्तरका भएर हो ?

उद्योग व्यवसायमा सुधार ल्याउन सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । विदेशमा सरकारी कर्मचारीमा आफ्नो देशको उत्पादन प्रयोग गर्नुपर्छ भन्ने नै ट्रेन्ड छ । जस्तै भारतीय पर्यटक नेपाल आयो भने ईण्डियन प्रडक्ट नै खोज्छन। विदेशीले नि आफ्नै देशको उत्पादन खोज्छन । तर हाम्रोमा आफनै उत्पादनमा त्यति विश्वास भएको देखिदैन, यो मात्रै हाम्रो समस्या हो । नत्र खासै परिवर्तन गर्नुपर्ने देखिदैन । सरकारले आफ्नो देशको उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने नीति लियो भने पुग्छ ।

हाम्रो संस्कार नै अरु देशको राम्रो भन्ने बसिसक्यो । बनाउदै जाने हो भने हाम्रो उत्पादन पनि राम्रो हुन्छ । अहिले होटल रेस्टुरेन्टहरुमा स्वदेशी ब्राण्ड बनाउने गरेको पाइन्छ । हामीले लूब्रिकेन्टमा पिएलओ एउटा छाप बसाउने प्रयास गरिरहेका छौं । एउटा साधारण उद्योगले १० प्रतिशत बजार ओगट्नु भनेको सानो कुरा होइन । बिडम्बना के छ भने हामीलाई सरकारी तवरबाट असहयोग भइरहेको छ । राजश्वले विभिन्न बाहनामा दुःख दिइरहेको हुन्छ ।

उद्योगलाई बन्द गराउनुपर्छ भन्ने कर्मचारीको मानसिकता छ । मन्त्रीले उद्योग खोल्नुपर्छ भनेर भाषण गर्ने तर कर्मचारीले त्यसलाई बन्द गराउन अनेक षडयन्त्र गर्ने प्रवृत्ती छ । उनिहरुको भारतीय उत्पादन नेपालमा ल्याएर बेच्नुपर्छ भन्ने मानसिकता छ ।

गूणस्तरको सवालमा विदेशी र नेपाली उत्पादनका लूब्रिकेन्टलाई कसरी तुलना गर्न सकिन्छ ?

विदेशबाट आयात हुने ग्रीज भन्दा नेपालको ग्रीज सस्तो र गूणस्तरीय पनि छ । नेपाली बजारमा स्वदेशी उत्पादनकै ग्रीजको एकलौटी छ । ९० प्रतिशत हिस्सा ग्रीजको छ भने बाकी १० प्रतिशत आयात गरिन्छ ।

मोबिलको कुरा गर्ने हो भने पुराना गाडी तथा ट्याक्टरमा स्वदेशी उत्पादन नै प्रयोग हुन्छ । नयाँ गाडीहरुका लागि भने छ वर्षको ग्यारेन्टी दिएर आफ्नै मोबिल प्रयोग गर्नुपर्छ भनेर बिक्री गर्छन् ।

लूब्रिकेन्टको गुणस्तरको सन्दर्भमा अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट (एपिआई) ले मार्गनिर्देशन दिएको छ । गाडीको प्रकार अनुसार निश्चित फरक फरक सामग्री छुट्याइएको छ। जस्तो चिया बनाउन चियापत्ती, चिनी लगायतका कुराहरु छुट्याइएको हुन्छ त्यस्तै लूब्रिकेन्टका लागि पनि ट्रयाक्टरको लागि छुट्टै मापदण्ड छ भने बाइक तथा ठुला गाडीका लागि फरक फरक सामग्री राखिएको छ । चिप्लोपनालाई बाक्लो बनाइन्छ । जसका कारण बाह्रै महिनासम्म लूब्रिकेन्ट टिकाउ रहनसक्छ । त्यसमध्ये बढी मिहिनेत ग्रीज बनाउँदा लाग्छ । ग्रीज चाँही अन्तराष्ट्रिय मापदण्ड अनुसार कै छ ।

विदेशी उत्पादनका साथै स्वदेशी उद्योग पनि छन । यस्तो अवस्थामा पीएलओले कसरी प्रतिस्पर्धा गरिरहेको छ ?
यो व्यवसाय सर्भिस डेलिभरीमा आधारित छ । तपाईंकोमा जो पुग्छ त्यहि बिक्री हुन्छ । प्रतिस्पर्धाको कुरा गर्दा लूब्रिकेन्टमा धेरै ठुलो छैन । हुन त प्रतिस्पर्धा बिनाको बजार नै हुँदैन । लूब्रिकेन्टको मार्केट सिस्टमअनुसार चल्छ छ । यो बिल्कुलै स्लो मुबिङ आइटम हो । यो उपभोग्य वस्तु जस्तो तुरुन्तै बिक्री हुने वस्तु होइन ।

विदेशी उत्पादनसँगको प्रतिस्पर्धा कस्तो छ ?

नेपाली लूब्रिकेन्टका लागि आयात हुने कच्चा पदार्थमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । तयारी वस्तुमा ३० प्रतिशतको कर लाग्छ । कच्चा पदार्थ र तयारी लूब्रिकेन्टान जम्मा १५ प्रतिशतको फरक छ । यसले सम्पूर्ण उद्योगलाई समेट्न सकेको छैन । भारतले त्यहाँका उद्योगलाई अनुदान दिने चलन छ । भारतबाट आयात हुने लूब्रिकेन्टको मूल्य निकै कम छ । नेपाली लूब्रिकेन्ट र भारतिय लूब्रिकेन्टमा मूल्यको अन्तर खासै छैन ।

सरकारबाट हामीलाई सहयोग नै छैन । त्यसले गर्दा भारतसँगको प्रतिस्पर्धा अलि कडा भइरहेको छ । ०६२/०६३ साल अगाडी उद्योगलाई पाँच प्रतिशत लाग्थ्यो भने तयारी वस्तुमा ३० प्रतिशत लाग्थ्यो । २५ प्रतिशतको फरक थियो । त्यतिबेला एउटा मात्र लूब्रिकेन्ट उद्योगका रुपमा नेपालमा गल्फ उद्योग थियो । गल्फ त्यतिबेलाको एक नम्बर ब्राण्ड थियो । सरकारले नेपालमा उद्योग खोल्नुपर्छ भनेपनि फस्टाएको देख्ननसक्ने प्रवृत्तिको छ । अहिले आठवटा उद्योग हुन् तर त्यसरी एकछत्र राज गर्न सकेका छैनन् ।

अहिले काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा सडकको अवस्था खराब छ । यसले लूब्रिकेन्ट उद्योगलाई प्रभाव पारेको छैन ?

लूब्रिकेन्ट चल्ने भनेको गाडीले यात्रा गर्ने किलोमिटरको हिसाबले हो । अहिले सडकको खराब अवस्थाका कारण लूब्रिकेन्ट उद्योगले खासै व्यापार गर्न सकेको छैन । आवश्यकता अनुसार सडकमा गाडी नचलेपछि लूब्रिकेन्टको जति हुनेपर्ने हो त्यसको आधा पनि बिक्री भएको छैन ।

अहिले विश्वबजारमा नै विद्युतिय सवारी साधनले राम्रो स्थान लिइरहेका छन । भोली पेट्रोलियमबाट चल्ने गाडी विस्थापित हुँदा लूब्रिकेन्ट उद्योगमा के प्रभाव पर्न देख्नुहुन्छ ?

विद्युतीय सवारी आउदाँ लूब्रिकेन्ट उद्योगलाई प्रभाव त पर्छ नै । तर यो एकैचोटीमा विस्थापित हुने विषय होइन । अन्तर्राष्ट्रिय बजारमा त विस्थापित हुनसकेको छैन भने नेपालमा विस्थापित हुने परिकल्पना समेत गर्न सक्ने अवस्था छैन । सधै भरी एउटै चिज चल्छ भन्ने पनि हुँदैन । हेबी इक्विपमेन्ट विद्युतबाट नचल्ने भएकाले लूब्रिकेन्ट विस्थापित हुन्छ भन्ने छैन ।

नेपालको सन्दर्भ हेर्ने हो भने हाम्रो लूब्रिकेन्ट बढी खपत हुने साधन भनेको ट्रयाक्टर हो । अब ट्रयाक्टर विद्युतबाट चल्ने कुरा त भएन । हाम्रो उत्पादनको सबैभन्दा बढी बिक्री ग्रीजको हुन्छ । ग्रीज त इलेक्ट्रिक सवारीसाधनमा पनि प्रयोग हुन्छ । त्यसपछि खेतमा प्रयोग हुने पम्पिङ सेटमा जाने हो । त्यसपछि वैकल्पिक उपकरणमा प्रयोग हुन्छ । हाम्रो उत्पादन कमर्शियल भेहिकल भन्दा बढी खपत प्राइभेट भेहिकलमा हुन्छ ।

देशभरी तराईका विभिन्न स्थानमा आएको बाढीले विभिन्न उद्योग समस्यामा छन् । तपाईंको उद्योग पनि तराईंमा भएकाले यसको प्रभाव कतिको छ ?

बाढीले सम्पूर्ण तराई क्षेत्रलाई ध्वस्त नै बनाएको छ । मेरो उद्योगमा प्रत्यक्षरुपमा असर नपरेपनि अप्रत्यक्षरुपमा परेको छ । तराईका अन्य उद्योगका गोदाममा पानी छिरेका छन्। यसको असर आर्थिक वर्षको अन्त्यमा थाहा हुन्छ । यो महिनामा त कारोबार सुरु भएकै छैन भन्दा हुन्छ ।

नाडा अटो शो २०१७ लाई लक्षित यहाँहरुको नयाँ प्रस्तुती के हुनेछ ?

यसपाली नाडा अटो शोमा हामी मेगा लूब्रिकेन्टलाई नै प्रचार गर्छौं । हाम्रो उत्पादन बजारमा ल्याइसकेका छौं (पिएलओ) स्टार र मेगा । हाम्रो उत्पादनलाई व्यापक प्रचार गरेर स्वदेशमा पनि हाम्रो उत्पादन छ है भन्ने चिनाउने हाम्रो उद्देश्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.