बैंकको कर्जा लगानी १८ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब

  २०७४ भदौ ६ गते १२:०८     विकासन्युज

काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कर्जा प्रवाह १८.२ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.७ प्रतिशत बढेर १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ४ अर्ब ३७ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकको कर्जा प्रवाह २५ प्रतिशत बढेको छ । विकास बैंकको १३.७ र वित्त कम्पनीको १३.३ प्रतिशत घटेको छ ।
समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.४, निर्माण क्षेत्रतर्फ कर्जा १६, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१, सेवा क्षेत्रका उद्योगतर्फ २३.३ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशत बढेको छ ।

०७४ मा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ र १५.२ प्रतिशत थियो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.५ प्रतिशत अर्थात ४८ अर्ब ८८ करोड रुपैयाँ छ ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ११.२ प्रतिशतले घटी ६४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३१.८ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा हायर पर्चेज कर्जा ३५.६ र ओभरड्राफ्ट कर्जा २२.१ प्रतिशत बढेको छ ।
यसैगरी १ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १७.५ प्रतिशत र रियल स्टेट कर्जा १६.५ प्रतिशत बढेको छ ।

पुनरकर्जा उपयोग साढे १४ अर्ब

उत्पादनशील क्षेत्रतर्फ  लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा वर्षमा बढेको छ । गत आवमा साधारण पुनरकर्जा १३ अर्ब ७८ करोड र निर्यात कर्जा ८३ करोड गरी कुल १४ अर्ब ६१ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ ।

अघिल्लो वर्षमा साधारण पुनरकर्जा ७ अर्ब ६० करोड र निर्यात पुनरकर्जा. १ अर्ब ३० करोड गरी ८ अर्ब ९० करोड रुपैयाँ उपयोग भएको थियो ।
भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत आवमा ७९ करोड ९० लाख स्वीकृत भएको छ ।

वाणिज्य बैंकले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा गत आवमा बैंकको यस्तो कर्जा अनुपात १८.२ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.