रेमिट्यान्स आप्रवाह ७ खर्ब ९५ अर्ब ४५ करोड

  २०७४ भदौ ५ गते १७:४०     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.६ प्रतिशत मात्र बढेको छ । गत आवमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ७.७ प्रतिशत वृद्धि भएको थियो । गत आवमा ६ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।

विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ रहेकोमा समीक्षा वर्षमा घटेर २६.८ प्रतिशतमा सीमित भएको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशत वृद्धि भई ८ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशत बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या पुनः श्रम स्वीकृति बाहेकमा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आवमा अघिल्लो आवको तुलनामा ४.७ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशत घटेको थियो ।

समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा कमी आएको छ ।

यस्तै विदेशबाट नेपालीले पाउने पेन्समा २ प्रतिशत घटेको छ । गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन प्राप्त भएको थियो । अघिल्लो आवमा ४६ अर्ब ५१ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.