एनआईसी बैंकले बचतकर्तालाई ९ वर्षमा दोब्बर भुक्तानी दिने, लगानीकर्तालाई वार्षिक २१ प्रतिशत लाभांश

  २०७४ भदौ १ गते २०:४८     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले दीर्घकालिन प्रकृतिको बचत योजना ल्याएको छ । बैंकले दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिने जनाएको छ । न्यूनतम एक लाख रुपैयाँ निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा बचत गरेको रकमको दोब्बार भुक्तानी दिने बैंकले जनाएको छ ।

साथै निक्षेपको व्याजमा लाग्ने कर बैंकले नै तिर्ने जनाएको छ । नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले व्याज आम्दानी कर लाग्छ ।

उक्त कर बैंकले नै भुक्तानी गरि निक्षेपकर्तालाई बैंकले दोब्बर भुक्तानी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गरिएको उनले जानकारी दिए ।

आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको यस बैंकले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २०प्रतिशत वोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस प्रदान गर्ने निर्णय समेत गरेको छ । ‘हामी निक्षेपकर्तालाई उचित प्रतिफल दिन्छौं र लगानीकर्तालाई पनि उचित प्रतिफल दिन्छौं’ प्रमुख कार्यकारी अधिकृत रिसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.