विद्युत प्राधिकरणको नाफा घट्यो, ९८ करोड मात्र

  २०७४ भदौ १ गते ११:१७     विकासन्युज

काठमाडौं । व्यवस्थापकीय र संरचनागत सुधारले गर्दा नेपाल विद्युत प्राधिकरणले नाफा उल्लेख्य रुपमा घटाउन सफल भएको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष ०७३/०७४ मा नोक्सान घटाएर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित गरेको छ । अघिल्लो आवमा प्राधिकरणको नोक्सान ८ अर्ब ८९ करोड रुपैयाँ थियो । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरेपछि चालिएका सुधारका कार्यक्रम प्रभावकारी भई नोक्सान घटेको हो ।

यसबीचमा चुहावट नियन्त्रण, बिजुली महशुलमा समायोजन, आयातित बिजुलीको खरिद दरमा कमी, आयोजना पुर्ण क्षमतामा सञ्चालन, प्रमुख शहरमा नियमित रुपमा बिजुली आपूर्ति र वित्तीय र पुनरसंरचनालगायत संस्थागत सुधारले गत आवमा नोक्सान ७ अर्ब ९२ करोड रुपैयाँ घटेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

गत आवमा प्राधिरकरणको कुल आम्दानी ४३.२१ प्रतिशत बढेर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुगेको उनले बताए । अघिल्लो आवमा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा प्राधिकरणको बिजुली खरिदलगायत अन्य सञ्चालन खर्च २६.२८ प्रतिशत बढेर ४५ अर्ब ५७ करोड २० रुपैयाँ भएको छ । अघिल्लो आवमा यस्तो खर्च ३६ अर्ब ८ करोड ७५ लाख रुपैयाँ थियो ।

कर्मचारीको तलव भत्ता र विद्युत खरिद बढेका कारण सञ्चालन खर्च बढेको घिसिङको भनाई छ । पहिलो पटक गत आवमा विद्युत् प्राधिकरणले २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष प्राधिकरणले भारतबाट आयात र निजी उत्पादकबाट बिजुली खरिदमा २८ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

लोडसेडिङ हटाउन भारतबाट बिजुली आयात थप भएको र वार्षिक मूल्यवृद्धिका कारण खरिद लागत २७.४३ प्रतिशत बढेको प्राधिकरणले जनाएको छ । नियमित रुपमा बिजुली आपूर्ति भएपछि जेनेरेटर, इन्धन खपत घटन गई मुलुकले विदेशी मुद्रा वचत गर्न सकेको प्राधिकरणले जनाएको छ ।

माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी भएर निकासीको संभावना भएपनि सुख्खायामको ५ महिना भारतबाट केही परिमाण बिजुली आयात गर्नुपर्ने अवस्था देखिएको छ ।

भारतको बिहार र उत्तरप्रदेश सरकारसंग वर्षादमा बढी भएको बिजुली निर्यात र सुख्खामा आयात हुने गरी ऊर्जा बैंकिङ अवधारणमा दुबै राज्यका मुख्यमन्त्री सकरात्मक भएका छन ।

देशभरीको वितरण प्रणाली बढीमा २ हजार मेगावाटसम्म भएकाले १० हजार मेगावाट बिजुली आयात हुने गरी प्रणालीको क्षमता बढाउनु उनले बताए ।

गत वर्ष ३८० मेगावाट बिजुली भारतबाट आयात भएको थियो । यो वर्ष ५ सय मेगावाटसम्म आयात गरेर लोडसेडिङ हटाउने प्राधिकरणको योजना छ ।

कटैया–कुसाह, परवानीपुर–रक्सौल १३२ केभी लाइनबाट १ सय र ढल्केबरमा सवस्टेशन निर्माणपछि थप १ सय गरी कुल २ सय मेगावाट बिजुली भारतबाट आयात गर्ने संरचना तयार भएको छ । हाल चुहावट २२.९ प्रतिशत छ । प्रतिव्यक्ति बिजुली खपत १७० युनिट पुगेको छ ।