पर्यटकीय गन्तव्य बन्दै पत्तालेडाँडा

  २०७४ साउन २७ गते १६:१०     विकासन्युज

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने पत्तालेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमालको दृश्यावलोकन गर्न सकिने मनोरमस्थल पत्तालेडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । घुमफिर गर्न चाहने आन्तरिक पर्यटकका लागि पत्तालेडाँडा सुन्दर पर्यटकीय स्थलका रुपमा विकसित हुनथालेको छ ।

सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने पत्तालेडाँडा भारतीय पर्यटक, काठमाडौँ र तराईका क्षेत्रबाट समेत पर्यटक आउने गरेका स्थानीयवासी प्रकाश मगरले बताए । “सगरमाथा, मकालु, कञ्चनजंगा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायत हिमालको दृश्यावलोकन गर्न पर्यटक आउने गरेका छन्,” उनले भने ।

पछिल्लो समय यहाँ होटलको सुविधा भएपछि पर्यटक आउने क्रम बढ्दै गएको छ । समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा अवस्थित पत्तालेडाँडा क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पत्तालेडाँडाबाट सोलुखुम्बुको अधिकांश भू–भाग, खोटाङ, ओखलढुंगा, उदयुर, भोजपुर लगायतको दृश्यावलोकन गर्न सकिन्छ ।

“यतिधेरै मनोरम दृश्यको अवलोकन गर्न पाइला भन्ने सोचेकी थिइन, साँच्चिकै सुन्दर रहेछ,” ओखलढंगाबाट घुम्न आएकी पार्वती श्रेष्ठले भनिन् । यहाँ पूर्वाधार विकासको खाँचो छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिइन् ।

“पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्छ,” रोटरी क्लब अफ काठमाडौंका दिवाकर केसीले भने । यहाँ पर्यटन प्रवद्धनका लागि घरबास होम स्टे सञ्चालन गर्न सकिन्छ । यहाँ हवाई तथा सडक मार्गबाट पुग्न सकिन्छ । बिपी राजमार्ग भएर काभ्रेको धुलिखेल, सिन्धुलीको खुर्कोट, हर्कपुर, ओखलढुंगा बजार हुँदै तथा काठमाडौँबाट करिब ३० मिनेटमा सोलुखुम्बुको फाप्लु विमानस्थल हुँदै त्यहाँबाट एक घण्टाको सडक यात्रा तथा ४० मिनेट उकालो हिँडेपछि पत्तालेडाँडा पुगिन्छ ।

पत्तालेडाँडा भएर सोलुखुम्बुको पर्यटकीयस्थल नेले, काँगेल, मुक्लि, देउसा, पावै, सोताङ, बुङको मेरापिक हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई पर्यटकीय मार्गका रुपमा विकास गर्न सकिने स्थानीयवासी बताउँछन् । सडक मार्ग हुँदै आउन चाहनेले खोटाङको हलेसी महादेवको दर्शन गर्न सक्छन् ।

पत्तालेडाँडामा रहेको गौरीटापमा प्राकृतिक रुपमा गाईको पाइला तथा हात्तीको सुँड सहितको गणेशको स्वरुप देखिने धार्मिकस्थल र चाँगेस्थान मन्दिर भएकाले पनि त्यहाँको आकर्षण थपिएको हो । सो क्षेत्रमा जाने पर्यटकले नजिकै रहेका जुनबेँसी, पिकेडाँडा, थुप्तेन छोलिङ गुम्बा, चिवाङ गुम्बा, दूधकुण्ड पोखरीलगायत क्षेत्रको समेत अवलोकन गर्न सक्छन् । पछिल्लो समय यहाँ चलचित्रको छायांकन समेत गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.