कृषिमा अनुकरणीय बन्दै कोइराला दाजुभाइ

  २०७४ साउन २७ गते १५:२२     विकासन्युज

पोखरा । नेपाली युवामा कृषिप्रतिको अनिच्छा बढिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका– १२ शीतलादेवीका कोइराला दाजुभाइ भने व्यावसायिक कृषिका क्षेत्रमा अनुकरणीय बनेका छन् ।

विगत दुई दशकयता कृषि क्षेत्रमा क्रियाशील शिवप्रसाद कोइराला र वसन्त कोइरालाले उत्पादन गर्दै आएको प्रांगारिक तरकारीका साथै तरकारी र फलफूलका बिरुवा पोखरामात्र नभएर विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

उनीहरुले सत्र रोपनी जग्गामा बाह्रै महिना तरकारी र बिरुवा उत्पादन गर्दै आएका छन् । कोइराला दाजुभाइले २० वटा भैँसी समेत पालेका छन् । “दैनिक २५ लिटर दूध बिक्री गर्ने गरेका छौँ”, वसन्तले भने, “खाद्यान्न तथा तरकारी बिक्री केन्द्र पनि सञ्चालन गरेका छौंँ ।” उनीहरुले पशुपालनका लागि करिब ४० रोपनी जग्गा भाडामा लिई घाँस उत्पादन गर्दै आएका छन् ।

कोइराला दाजुभाइले सञ्चालन गरेको नर्सरी एवं तरकारी तथा खाद्यान्न बिक्री केन्द्रमा १५ जनाले रोजगारी पाएका छन् । “प्रांगारिक तरकारीको पोखरामा अत्याधिक माग छ,” शिवप्रसादले भने– “पोखराका २० ठाउँबाट यहाँ उत्पादित तरकारी बिक्री हुने गर्छ ।” बढ्दो मागका कारण पेशामा क्रियाशील बन्न प्रेरित गरेको उनी बताउँछन् ।

राज्यले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा कोइराला दाजुभाइको भनाइ छ । वास्तविक कृषक राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहँदै आएको उनीहरु बताउँछन् । रोजगारीको खोजीमा विदेशिनु भन्दा स्वदेशमा नै व्यावसायिक कृषिमा लाग्न सके प्रत्येक युवा स्वरोजगार बन्न सक्ने उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.